१६ चैत्र २०८० शुक्रबार
समाज

कहिल्यै हटेन बुटवल-नारायणगढ सडकखण्डको सास्ती, जोखिमपूर्ण यात्रा गर्न विवश यात्रुहरू

दाङका जीतबहादुर कुँवरले दाङदेखि काठमाडाैं रुटमा चल्ने माइक्रोबस चलाउँछन्। १५ बर्ष अघिदेखि यो पेशा अंगालेका कुँवरलाई सडकको दुरावस्थाले कहिलेकाँही दिक्क बनाउँछ। बर्खा लगिसकेपछि ठाउँठाउँमा बाढी पहिरो त छँदैछ। त्यसमाथि निर्माणधिन सडक समयमै नबन्दा सास्ती खेप्नुपरेको छ।  

‘महिनामा २५दिन यो सडक हिड्नुपर्छ। खाल्टाखुल्टीले  एकदम गाह्रो छ।’ दाङदेखि काठमाडाैंका यात्रु लिएर आउँदा गैँडाकोटमा भेटिएका कुँवरले भने, ‘बुटवल–नारायणगढ सडकखण्डमा साढे दुई घण्टमा पार गरिन्थ्यो। अहिले ६ घण्टामा पार गर्न पनि मुस्किल छ।’

बुटवल नारायणगढ सडकखण्ड अहिले निर्माणधिन अवस्थामा छ। यो सडकमा सवारी गुड्न त्यति सहज छैन। उनीजस्तै भैरहवादेखि काठमाडौँ गाडी चलाउँदै आएका नारायण खनालले पनि सडकको अवस्थाले गर्दा हैरानी खेप्नुपरेको छ। ‘ठाउँठाउँमा खाल्टा-खुल्टी छ। प्यासेन्जरहरुले झाक्यो भनेर रिसाउनुहुन्छ,’ उनले भने, ‘सडक साँघुरो छ। त्यहीमाथि धुलो र हिलो  हैरानी छ नि हजुर। नयाँ गाडी बिग्रिसक्यो।’ उनले गाडी मर्मत खर्चसमेत उठ्न कठिन भएको बताए।  

नारायणघाट–बुटवल सडकबाट दिनमा हजारौँ सवारी साधन गुड्ने गर्दछन्। यही राजमार्ग हुँदै राजधानी तथा पूर्व पश्चिम क्षेत्रमा यात्रुहरु हिड्नुपर्ने बाध्यतामा छन्। बुटवल–नारायणगढ सडक खण्ड र नारायणढ–मुग्लिन सडकको अवस्थाका कारण यात्रुहरुले जोखिम नै मोलेर हिँडिरहेका छन्। काठमाडौँबाट दाङ हिडेका टेकबहादुर केसी ज्यान धरापमा राखेर हिड्नुपरेको बाध्यता रहेको बताउँछन्। यात्रा जोखिम छ। भर्खर मुग्लिन पार गरेर आइयो। अब फेरि बुटवल–नारायणगढ सडकको अवस्था पनि उस्तै छ, मंगलबार दिउँसो १ बजे गैडाकोटमा निस्किएका केसीले भने, ‘यतिखेर बुटवल पुग्नुपर्ने हो यहाँ नै छौँ। गाडीमा चढेपछि कतिबेला दुर्घटना हुने हो त्रास मात्र छ।’

बाँकेकी तारा रानामगर हतास मुद्रामा थिईन्। दाईको छोरीको बिहेमा काठमाण्डौँ हिडेकी रानामगरलाई बिबाहमा सामेल हुन नपाईने हो कि भन्ने चिन्ता थियो। ‘पहिले बेलुकी ५ बजे घरबाट हिडेपछि बिहान ६ बजे काठमाण्डौँ पुगिन्थ्यो। सोही अनुसार, योजना बनाएर हिँडे। भोलि बिवाह छ,’ उनले भनिन्,  ‘१ बजिसक्यो गैँडाकोटमै छौँ। काठमाडाैं पुगेर काभ्रेपलान्चोक पुग्नु छ। बिवाह गरेर लैसकेपछि पुग्नि भएँ।’

अहिले यस्सै त बर्खाको समय ठाउँठाउँमा पहिरोको अवरोध त छदैछ त्यसमाथि निर्माणधिन सडकका कारण सहज रुपले यात्रा गर्न नसकिएको यात्रुहरुको गूनासो छ। यात्रा गर्न गाह्रो छ। अहिले पनि आउँदा जाममा परियो। खाल्टाखुल्टी उस्तै छ।’काठमाण्डौँदेखि दाङ हिडेकी गिता गीरिले भनिन्, ‘यात्रा गर्दा समय मात्रै धेरै खर्च भैरहेको छ।’

देशका मुख्य राजमार्ग विस्तारका क्रममा छन्। नारायणघाट–बुटवल सडक खण्डमा पनि विस्तार कार्य भैरहेको छ। समयमा काम हुन नसक्दा सर्वसाधरण तथा व्यवसायीले समस्या खेप्दै आएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको क्रममा शिलान्यास भएको तीन वर्ष पूरा भैसकेको छ। तर, कामको प्रगतिभने सन्तोस जनक अवस्थामा छैन। नारायणघाट – बुटवल सडक योजनाको पूर्वी खण्डको करिव ६५ किलोमिटरमा १८ प्रतिशत मात्र काम भएको छ।

‘यसमा भएको व्यवधानहरुको करिव करिबसकिएको छ। हामीले ९९ प्रतिशत रुख काटिसेका छौँ। विद्युत, खानेपानी, र सार्वजनिक संरचाना हटाउने काम भैरहेको छ,’ योजना प्रमुख रमेश कुमार दिस्टीले भने, ‘अहिलेको प्रगतिलाई हेर्दा १८ प्रतिशत छ।’ अव मेसिनबाट गर्ने काम भएकाले छिटो काम हुने उनको भनाई छ। उनका अनुसार, ठुला पुल १२वटामा ११ वटामा काम भइरहेको छ। २२ वटा मझौला पुल रहेको यस सडक खण्डमा १४ वटा समपन्न भएका छन्।  

बुटवल–नारायणगढ खण्डको एक सय १४ किलोमिटर सडक सहरी क्षेत्रमा ६ लेन तथा जंगल एवं ग्रामीण क्षेत्रमा चार लेन र दाउन्ने खण्डमा भौगोलिक कठिनाइका कारण तीन लेनमा विस्तार हुँदैछ। एक सय १४ किमीमध्ये २८ किमीमा ‘सिक्स लेन’ अर्थात् सर्भिस लेन पनि सँगै हुनेछ। तीन जिल्लामा पर्ने नारायणगढ–बुटवल खण्डलाई गैंडाकोट–दाउन्ने र दाउन्ने–बुटवल गरी दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो। गैंडाकोट–दाउन्ने ६५ किमी सडकलाई खण्ड १ (पूर्वी खण्ड) र दाउन्ने-बुटवल ४९ किमी सडकलाई खण्ड २ (पश्चिम खण्ड)मा छुट्याएर सँगसँगै दुवैतर्फ काम भइरहेको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले दुवै खण्डको ठेक्का पाएको हो।

पूर्वि खण्डको ६४ दशमलव ४३५ किलोमिटरमा सहरी खण्ड १६दशमलव ६, ग्रामिण खण्ड ४२ दशमलव ७ र दाउन्ने खण्ड ४दशमलव  १ किलोमिटर रहेको छ। २०१८मा चिनिया कम्पनी चाइना स्ट्रेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशनले २०२२ अगस्टमा सक्ने गरि सडक निर्माणको ठेक्का पाएको थियो। तर, कोभिड १९, अन्तरमन्त्रालय समन्वयको अभावका कारण समस्या भएको निमार्ण कम्पनीले बताएको छ।  यद्यपि अव नियमित काम भएमा दुई वर्षभित्र सकिने दिस्टी बताउँछन्। ‘सुरुमा कानुनी प्रकृयामा समस्या थियो। ती समस्या छैनन्। मेसिनबाट हुने काम बढी छन्,’उनले भने, ‘ठेकेदार पक्षले पनि दुई वर्षमा सक्छौँ भनेको छ। अव केही समस्या आएन भने सो अवधिमा निमार्ण सम्पन्न हुन्छ।’ सडक विस्तारको काम सम्झौता भएको मितिले ४२ महिनाभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको थियो।  

यो सडक ५७ वर्षपछि फराकिलो हुने क्रमको सुरूआत गरिएको हो। २०२२को अगष्टमा सक्ने गरि ९ अर्व १३ करोड १८ लाख ९५ हजार ६सय ३५ रुपैयाँमा ठेक्का लगाईएको थियो। तर, निर्माण कार्य हेर्दा सडक प्रयोगकर्ताहरुले जोखिम र अनेक प्रकारका सास्ती अझै केही वर्ष खेप्नुपर्ने  निश्चित छ।

प्रकाशित: ९ असार २०७९ १५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App