८ वैशाख २०८१ शनिबार
समाज

अभिभावकविहीन बालबालिकालाई सहयोग

म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट स्थित सरस्वती आधारभूत विद्यालयमा अध्ययनरत भोकभोकै विद्यालय जान बाध्य आमाबाबु विहीन ३ जना विद्यार्थीलाई खाद्यान्न लगाएत स्टेशनरी र विद्यालय पोसाक,झोला लगाएतका लागि सामाग्रीहरु वितरण गरिएको छ।

नागरिक दैनिकका म्याग्दी संवाददाता हरिकृष्ण गौतममार्फते सहयोग दाताहरुले पठाएको ३१ हजार रकमबाट खाद्यान्न,कपडा,जुत्ता,झोला लगाएतका सामाग्री खरिद गरी असहाय बालबालिकाहरुलाई वितरण गरिएको हो।  

सिराहा नगरपालिका सिराहा स्थायी ठेगाना  हाल कतारको औद्योगिक क्षेत्रमा रहेको अल जाइम पोलिक्लिनिकमा कार्यरत डा मोदस्सिर आलमले पठाएको २० हजार र काठमाण्डौंबाट नानीकिरण सुनुवारले पठाएकोर ११ हजार सहयोग गरेका हुन्। बालबालिकाको अवस्थाका बारेमा नागरिक दैनिकमा समाचार प्रकाशित भएपछि अन्य सहयोग दाताहरुले पनि विद्यार्थीहरुलाई खाद्यान्न,स्टेशनरी लगाएतका सामाग्रीहरु सहयोग गरेका छन्।

कार्यक्रममा स्थानीयवासी समेत रहेका म्याग्दी क्याम्पसका  भुतपूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर रिजाल लगाएत शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो। अभिभावकले छोडेपछि विद्यालयले दिने दिवा खाजाको भरमा दिन विताउन बाध्य कक्षा ३ मा अध्ययनरत बाबुआमा विहीन ११ वर्षिया अञ्जु परियार, साथीहरुको घरमा आश्रय लिएका कक्षा ६ मा अध्ययनरत पुजन फगामी र बुबा आमा दुवैले अर्को बिबाह गरेपछि एक्लो बनेकी कक्षा ४ मा अध्ययनरत सृष्टि विकको अवस्थाका बारेमा समाचार प्रकाशित भएको थियो।  

बगरफाँटको कोटखोलास्थित पर्ती जग्गामा सानो छाप्रो बनाएर बसेका अञ्जु परियारका बुबा कलिराम परियारको मृत्यु भएको र आमा विष्णु नेपालीले अर्कैसंग बिबाह गरी मञ्जुलाई छोडेर गएपछि मञ्जुको विचल्ली भएको थियो। उनलाई  एक महिनाका लागि स्थानीय बुद्धबीर चर्मकारले घरमा राख्ने र सहयोग दाताले दिएको खाद्यान्न पकाएर खुवाउने गरेका छन्।

त्यसैगरी म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ वाइन्दाफाँटका पुजन फगामी र सृष्टि विकलाई पनि खाद्यान्न,स्टेशनरी लगाएतका सामाग्री प्रदान गरिएको छ। पुजनका बुबा रिम फगामीको २०७८ साल कार्तिकमा मृत्यु भएपछि आमा कृष्ण फगामीले अर्कैसंग विहे गरेकी र पुजन अहिले साथीहरुको घरमा आश्रय लिइरहेका विद्यालयकी शिक्षिका घनदेवी घर्तीले जानकारी दिइन्।

कक्षा ७ सम्म पढाइहुने सो विद्यालयमा अधिकांश विपन्न र दलित समुदायका विद्यार्थीहरु अध्ययनरत छन्। अधिकाँश अभिभावकहरु दैनिक ज्याला मजदुरीमा जाने र छोराछोरीको हेरचाह र आवश्यकतालाई ध्यान दिन नसक्ने अवस्थामा रहेकाले विद्यालयलाई शैक्षिक क्रियाकलापका अतिरिक्त ती विद्यार्थीहरुको सुरक्षा र संरक्षणको जिम्मेवारी पनि थपिदा शिक्षक शिक्षिकाहरु थप समस्यामा परेका हुन्।

आर्थिक सहयोग जुट्न सक्यो भने विद्यालयमा छात्रवास बनाएर असहाय र अतिविपन्न परिवारका बालबालिकाहरुलाई आश्रय दिने विद्यालयको योजना रहेको छ। त्यसका लागि विद्यालयले मनकारी व्यक्तिहरुसंग सहयोगको आग्रह समेत गरेको छ।

प्रकाशित: ९ असार २०७९ १४:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App