१३ असार २०७९ सोमबार
समाज

साउदी गएका ४४ नेपाली अलपत्र

बाँकेका चार जनासहित ४४ जना नेपाली श्रमिक साउदी अरबमा अलपत्र पारिएका छन्। तीन महिनाअघि काठमाडौंको सिनामंगलस्थित अल हरमन एचआर कम्पनीबाट साउदी पुगेका उनीहरूलाई साउदीमा काम दिने भनिएको कम्पनी नै नभएको फेला परेको छ। विदेशमा पुगेर कम्पनी नै नभएको फेला परेपछि उनीहरू अलपत्र परेका हुन्।

तीन महिना भइसक्दा पनि उनीहरूले काम पाएका छैनन् भने खानेबस्ने उपयुक्त व्यवस्था पनि नभएको बाँकेको जानकी गाउँपालिका–१ का अलमिन तेलीले बताए। जानकी–१ का समी रजा राई, जानकी–१ कै अलमिन तेली, जानकी–३ का अल्ताब अली र नेपालगन्ज २१ का रामनिवास पासीसहित विभिन्न जिल्लाका ४४ जना अहिले साउदीको जुबैल सहरको तामिमी क्याम्पमा अलपत्र अवस्थामा छन्। बाँकेका चारजनालाई जानकी–३ का रामसमझ पासी र डुडुवा गाउँपालिका–२ का सरिफ बेहनाले ठाइदिन्छौं भनी प्रतिव्यक्ति १ लाख ७० हजार रूपैयाँ लगेको पाइएको छ। उनीहरूले रकम बुझेर सिनामंगलस्थित अल हरमन एचआर कम्पनीबाट बाँकी प्रक्रिया पूरा गरेको पाइएको छ। अलमिनसँग २०७८ साल वैशाखमा गरिएको कामदार सम्झौतामा एचबिएआई नाजो कम्पनीमा काम गर्ने भनिएको छ। तर, गर्नुपर्ने काम प्रस्ट उल्लेख गरिएको छैन।

पैसा बुझ्ने पासी र बेहनाले उनीहरूलाई बिस्कुट कम्पनीमा काम गर्ने भनेको अलमिन बताउँछन्। तर, साउदी पुगेपछि उनीहरूले काम गर्ने भनिएको कम्पनी नै नभएको खुल्यो। त्यसपछि उनीहरूले सडकमा मागेर खानुपर्ने अवस्था सिर्जना भयो। उनीहरूलाई विमानस्थलबाट लगेर १० दिनसम्म बाहिर खाली ठाउँमै राखेको पाइएको छ। आफूहरूले रुखमुनि रात बिताएको अलमिन बताउँछन्। त्यसपछि उनीहरूले पठाउने कम्पनीमा निरन्तर गुनासो गरेपछि ४४ जनालाई मात्र चार कोठामा बस्ने व्यवस्था मिलाइयो। खाना र पानीको ठेगान थिएन।  

त्यसपछि उनीहरूलाई रियादबाट जुबेल पठाइयो। जुबेलमा पुगेपछि उनीहरूले थाहा पाए काम गर्ने भनेर आएको कम्पनी नै छैन। त्यति मात्रै होइन, उनीहरूलाई खानेबस्ने कुनै व्यवस्था नगरी फेरि सडकमै छाडियो। उनीहरूले केही दिन रमजानको बेला पाइएको दानबाट पेट पाले। सकडछेउको रुखमुनि रात काटे। त्यसबिच साउदी प्रहरीले उनीहरूलाई गाडीमा हालेर कम्पनी खोज्न सहयोग पनि गर्‍यो। तर, कम्पनी नभेटिएपछि पुनः सडकमै ल्याएर छोडिदियो।

त्यसको दुई दिनपछि त्यहाँस्थित नेपाली दूतावासका कर्मचारी आएर कोठामा छोडिदिए। ती कर्मचारीसँग घर फिर्ता गरिदिनभन्दा उल्टै उनीहरूले ‘काम गर्न आएको कि घर फर्किन?’ भनेर थर्काएको अलमिन बताउँछन्। त्यसपछि उनीहरू बाध्य भएर काम पाइने दिनको पर्खाइमा कष्टपूर्ण दिन बिताइरहेका छन्। अलमिनले भने, ‘अहिलेसम्म खाना खान पनि पाएका छैनौं। एक/दुईजना आएर खाना लिएर आउँछौं भनेर गएका हुन्, आएका छैनन्।’ उनीहरू ६ वटा कोठामा ४४ जना कोचिएर बसिरहेका छन्।

यता उनीहरूबाट पैसा असुल गर्नेहरूविरुद्ध परिवारले जिल्ला प्रशासन कार्यालय र श्रम कार्यालयमा उजुरी दिएका छन्। जिल्ला प्रशासन कार्यालयले दुई पक्षबीच १५ दिनभित्र काम लगाइदिने र त्यतिन्जेल कामको टुंगो नलागे उनीहरूलाई स्वदेश फिर्ता ल्याइदिने सहमति गराएको छ।  

पैसा बुझ्नेहरूले बिस्कुट कम्पनीमा काम लगाइदिने भने पनि अहिलेसम्म कम्पनीको टुंगो लागेको छैन। पठाउने म्यानपावर कम्पनीको फोनमा सम्पर्क स्थापित गर्ने प्रयास सफल भएन। वैदेशिक रोजगार विभागको वेबसाइटमा उक्त कम्पनीको सञ्चालकमा मो. मुमताज रजा र सन्दिभा कार्की गरी दुई जनाको नाम उल्लेख छ। तर, त्यहाँ दिएको फोन नम्बरमा सम्पर्क स्थापित हुँदैन। उता अलमिनलगायत ४४ जना नेपाली युवा परदेशी भूमिमा अनिश्चतताको समय झेलिरहेका छन्।

प्रकाशित: ९ असार २०७९ १०:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App