coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लागुऔषध हिँड्ने बाटोः ‘ट्रान्जिट प्वाइन्ट’ काठमाडौं

गत जेठ २९ गते साँझ ५ बजेर ५५ मिनेटमा फ्लाइट दुबईको जहाज दुबईबाट आएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भयो। जहाजमा आएकी एक अफ्रिकन महिलातिर नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीको ध्यान तानियो। ती थिइन्, दक्षिण अफ्रिकी नागरिक ४६ वर्षीया मुरियल क्वेडुकबाजी थेम्बेनी साम्बा ! उनी आफ्नो मुलुक दक्षिण अफ्रिकाबाट दुबई हुँदै नेपाल आएकी थिइन्।

उनमा ब्युरोको टोलीको ध्यान तानिनुको एउटा मात्रै कारण थियो– उनी एक महिनाको समयभित्रै तेस्रोपटक नेपाल आएकी थिइन्। यसमा प्रयोग भएको रुट पनि एउटै थियो।

‘२०७८ भदौ र गत वैशाख ३ गते दक्षिण अफ्रिकाबाट दुबई हुँदै काठमाडौं हिरोइन भित्रिएको थियो। त्यसमा यस्तै प्रकृतिका महिला प्रयोग भएका थिए’, लागुऔषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख प्रहरी उपरीक्षक (एसपी) जीवन श्रेष्ठ भन्छन्, ‘फेरि यी महिला एक महिनाभित्रै तेस्रोपटक आएको पासपोर्ट रिपोर्टले देखायो। अनि हामीलाई शंका लाग्यो।’

उनी एक्लै आएकी थिइनन्; उनीसँग अर्की दक्षिण अफ्रिकाकै २९ सिब्सी थान्डेकिले आएकी थिइन्। उनी भने पहिलोपटक नेपाल आएकी थिइन्। दुवैजनालाई प्रहरीले शंका त गर्‍यो, तर तत्काल पक्राउ गरेन। उनीहरूलाई आफ्नै गन्तव्यमा जान दियो, मात्र पछ्याइरह्यो। उनीहरू ठमेल पुगेर एउटा होटलमा बास बसे, जहाँ प्रहरीले सूक्ष्मरूपमा निगरानी राख्दा उनीहरूसँग हेरोइन रहेको थाहा भयो। यही कुरा पत्ता लागेपछि दोस्रो दिन जेठ ३० गते दिउँसो ४ः३० बजे पक्राउ गर्‍यो; जसमा उनीहरूसँग १६ किलो हेरोइन पनि प्रहरीले बरामद भयो।

दुवैजना पक्राउ परेपछि प्रहरीले थप सतर्कता बढाउँदै चनाखो भएर खोजी गर्न थाल्यो। त्यस क्रममा जेठ ३० गते साँझ ६ः३० मा फ्लाई दुबईकै उडानद्वारा ३९ वर्षकी साम्बाल्लाकानाइसिल भ्योन ८ केजी हेरोइनसहित काठमाडौं झरिन्। उनलाई राति ११ बजे ठमेलबाटै ब्युरोको टोलीले पक्राउ गर्‍यो। सोही जहाजमा अलग्गै आएर ठमेल गएकी रोसिना नन्क्युल जान्ट्जी पनि सोही दिन राति ११ः३० बजे ८ केजी हेरोइनसहित पक्राउ परिन्।

उनीहरूलाई पक्राउ गर्दा जेठ २६ गते नै काठमाडौं झरेकी मह्लाको मरिन माथिबाबारे प्रहरीले थाहा पायो। उनी पार्सल लिन आउने मानिस कुर्दै ठमेलमा बसिरहेकी थिइन्। उनी राति ११ः४५ मा पक्राउ परिन्। उनीसँग ७ केजी हेरोइन फेला परेको थियो।

यस्तै जेठ ३१ गते थप दुईजना दक्षिण अफ्रिकी नागरिक दुबई र कतारको दोहा हुँदै काठमाडौं झरे। पहिलो मोरेसी सुजन कोफु कतार एयरलाइन्सको जहाजमार्फत दोहा हुँदै बिहान १०ः१५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेकी थिइन्। दिउँसो १ बजे उनलाई पनि ठमेलस्थित एक होटलबाट प्रहरीले पक्राउ गरेको थियो। उनीबाट ६ किलो हेरोइन बरामद भएको थियो।

दोस्रो ३० वर्षीया मार्लेस बान्डेन्होस्र्ट थिइन्। उनी दुबईबाट साँझ ६ बजे झरेर ठमेल गएकी थिइन्; जहाँ राति ८ः१५ मा उनलाई ६ किलो हेरोइनसहित प्रहरीले पक्राउ गर्‍यो।

यसरी लागुऔषध ब्युरोको एक ‘शंका’ र त्यो शंकासँग ‘पूर्वघटना’ दाँजेर सूक्ष्म निगरानी राख्दै अनुसन्धान गर्दा ६ दिनमै नेपाल भित्रिएको ५१ केजी हेरोइन लगालग पक्राउ पर्‍यो; जसमा ७ दक्षिण अफ्रिकी महिला नागरिक पक्राउ परिन्।

नेपालमा ६ दिनको छोटो अवधिमा यति ठूलो मात्रामा हेरोइन बरामद भएको यो पहिलोपटक हो। बरामद भएको लागुऔषधको गैरकानुनी बजार मूल्य एक अर्ब २ करोडभन्दा बढी हुन आउने लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

के थिए पूर्वघटना ?

लागुऔषध नियन्त्रण ब्युरोका निमित्त प्रमुख एसपी श्रेष्ठका अनुसार यति ठूलो मात्रामा नभए पनि एक वर्षको अवधिभित्रै दुईवटा अन्य घटना यस्तै प्रकृतिका थिए। यसैगरी दक्षिण अफ्रिका हुँदै दुबई र दुबई हुँदै काठमाडौं हेरोइनसहित आएका दक्षिण अफ्रिकी महिला पक्राउ परेका थिए।

२०७८ भदौ ३ गते २ किलो ९६६ ग्राम कोकिनसहित तीनजना पक्राउ परेका थिए। तीमध्येका एक दक्षिण अफ्रिकी महिला सिरिली गामा, तान्जेनियन नागरिक गट्रेट लियोनार्दाे किमारो र एक भारतबाट पार्सन बुझ्न आएका भारतीय नागरिक विजय सिंह थिए। अफ्रिकी मुलुकका दुई महिला दक्षिण अफ्रिकाको केपटाउनबाट कतारको दोहा हुँदै काठमाडौं झरेका थिए भने भारतीय नागरिक सिंह कोकिनको पार्सल बुझ्न नेपाल आएका थिए।

यस्तै गएको वैशाखको ३ गते साउथ अफ्रिकाको जोहानेसबर्गबाट कतारको दोहा हुँदै काठमाडौं झरेकी अफ्रिकी देश जाम्बियाकी कपुतुला असिमबर्ग ७ केजी हेरोइनसहित काठमाडौं झरेकी थिइन्। उनले ल्याएको हेरोइन लैजान भारतबाट आएकी लालनुपुईसहित दुवैलाई ब्युरोले पक्राउ गरेको थियो।

यी दुई घटनाबाट पूर्वशिक्षा लिएकाले यसपटक यति ठूलै मात्रामा हेरोइन पक्राउ गर्न सम्भव भएको ब्युरोका निमित्त प्रमुख श्रेष्ठले बताए। उनले भने, ‘पुराना घटनाले लागुऔषध आउने रुट, त्यो ओसारपसारमा प्रयोग हुने महिला र उनीहरूको व्यवहारको अध्ययन भएकाले यसपटक सहज भयो।’

ट्रान्जिट प्वाइन्ट बन्दै नेपाल

यी घटनाले विश्वव्यापी हुने अवैध लागुऔषध कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ का रूपमा नेपालको बाटो प्रयोग हुँदै गएकोतर्फ संकेत गरेको छ।

विगतका दुई घटनाले त्यतिबेला नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बाटो प्रयोग भएको कोकिन र हेरोइन भारततर्फ जान लागेको प्रस्ट देखाएको थियो। लागुऔषध नियन्त्रण ब्युरोका अनुसार यसपटक भित्रिएको ५१ केजी हेरोइन नेपालका लागि भने हुँदै होइन। त्यो भारतकै बाटो भएर तेस्रो मुलुकतर्फ जानका लागि भित्रिएको हो।

‘अघिल्ला घटनाले भारत नै जान लागेको देखाएको थियो। यसपटकको पनि नेपालकै लागि आएको हुँदै होइन। नेपालमा यति ठूलो मात्रामा हेरोइनका प्रयोगकर्ता नै छैनन्’, ब्युरोका निमित्त प्रमुख एसपी श्रेष्ठले भने, ‘त्यो निश्चय पनि भारततर्फ नै जानका लागि आएको हो।’

सीमापार अवैध लागुऔषध कारोबारका लागि अन्तर्राष्ट्रिय स्तरमा उत्पादक र बजारका प्रचलित क्षेत्र छन्। उत्पादन क्षेत्रबाट बजार क्षेत्रमा पुग्न अवैध रूपमा बाटो प्रयोग गर्ने गरिन्छ; जसका बीचमा नेपाल र भारत पर्छन्।

लागुऔषधमा अफिमबाट हेरोइन बन्छ। विश्वमा अफिमको खेती सबैभन्दा बढी पाकिस्तान, अफगानिस्तान र इरानमा हुन्छ। यी तीन देशलाई ‘गोल्डेन क्रिसेन्ट’ भनेर लागुऔषधको दुनियाँमा चिनिन्छ। यस्तै कोकिन दक्षिण अफ्रिका, बोलिभिया, पेरू, मेक्सिको र ब्राजिलमा बढी उत्पादन हुन्छ। यो कोका वनस्पतिबाट बन्छ। यी देशमा उत्पादन भएका लागुऔषध पूर्वीएसियाका बर्मा, लाओस र भियतनाममा बढी प्रयोग हुन्छ। यसलाई लागुऔषध प्रयोगकर्ताहरूको ‘गोल्डेन ट्रेंगल’ भनेर चिनिन्छ। उसो त लागुऔषधका प्रयोगकर्ता विश्वभर नै छन्, तर सबैभन्दा बढी प्रयोग यी तीन देशमा हुने भएकाले गोल्डेन ट्रेंगल नाम दिइएको हो।

लागुऔषध कारोबार विश्वभर अवैध छ, तर अवैध कारोबार भए पनि उत्पादकबाट उपभोक्तासम्म पुर्‍याउन ठूलै जोखिम उठाउने जमात छ। त्यही जमातले अहिले नेपालको बाटो रोजेको देखिन्छ; जसमा नेपालको एयरपोर्ट जाँचमा पनि समस्या देखिएको छ। ‘नेपालको बाटो भएर लागुऔषध हिँड्न खोजेको देखिन्छ। हुन त यो विश्व बजारको तुलनामा ठूलो मात्रा त होइन’, ब्युरोका निमित्त प्रमुख एसपी श्रेष्ठले भने, ‘जेसुकै भए पनि अवैध लागुऔषध बाटो हुनु राम्रो संकेत होइन। यसमा नेपाली एयरपोर्टले सावधानी अपनाउनुपर्ने देखिन्छ।’

प्रकाशित: ९ असार २०७९ ०३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App