coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मानसिक समस्या बढ्दो आत्महत्या भयावह

रोल्पा अस्पतालमा रहेको पोस्टमार्टम घर। तस्बिरः दिनेश/नागरिक<br>

रोल्पा माडी गाउँपालिका–५ भावाङको वाङ्मा गाउँमा १३ वर्षीय जयराम वली झुन्डिएको अवस्थामा फेला परे। हराइरहेका बालकको शव घरदेखि करिब पाँच सय मिटर टाढा राँकुको रूखमा झुन्डिएको अवस्थामा फेला परेको हो। बालकले आत्महत्या गर्नुको कारण भने पत्ता लागेको छैन।

रोल्पामा पछिल्लो समय आत्महत्याको दर उच्च रहेको एक तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार यो वर्ष ६१ जनाले आत्महत्या गरेका छन्। मानसिक समस्या बढ्दै गएपछि आत्महत्या दर पनि बढेको हो। मानसिक तनाव, अभाव, अज्ञानता, डिप्रेसन, लैंगिक हिंसालगायत कारणले हुने आत्महत्या बढिरहँँदा तिनै तहका सरकारका अंगहरू भने मौन छन्।

रोल्पामा अधिकारसहितको बजेट सक्ने स्थानीय सरकारहरू मानसिक स्वास्थ्यका विषयमा कहिल्यै छलफल गर्दैनन्। विकास भनेको सडक हो भन्ने बुझेका जनप्रतिनिधि स्वास्थ्यका विषयमा चासो राख्ने गर्दैनन्। आत्महत्या रोकथामका लागि सरकारी स्तरबाट सचेतना कार्यक्रमलाई तीव्रता दिनुपर्ने, हरेक वडामा एकजना मनोविमर्शकर्ता राख्नुपर्ने चिकित्सकहरू बताउँछन्।

रोल्पा अस्पतालका डा. आधार वली आत्महत्याको मुख्य कारण मानसिक समस्या नै भएको बताउँछन्। ‘पछिल्लो समय बच्चाले समेत आत्महत्या गर्न थालेका छन्,’ डा. वलीले भने। उनका अनुसार मानसिक समस्या वा देखासिखीले पनि आत्महत्यामा प्रोत्साहन गरेको छ। अभिभावक र परिवारले पनि ध्यान दिँदैनन्। ‘जिल्लामा मानसिक राषज्ञ नभएकाले समस्या भएको हो। कहिलेकाहीँ शिविर सञ्चालन गरेमा राम्रो हुने थियो। मनोविमर्श प्रदान गर्नेतर्फ पनि ध्यान दिनुपर्छ।’

मानसिक स्वास्थ्य पनि समस्या हो भन्ने बुझाई नभएकाले पनि समाधान हुने गरेको छैन। राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ ले मानसिक स्वास्थ्यलाई सबैको सहज, सुलभ र समान पहुँचका लागि पाँच वर्षको कार्ययोजना बनाएको छ। जसमा आत्महत्या रोकथामका लागि पनि कार्ययोजना समावेश गरिएको छ। नेपालमा कुल नसर्ने रोगहरूको समस्यामध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको छ।

राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल २०७७ को नतिजाअनुसार नेपालमा १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोरकिशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ। नेपालमा प्रजनन उमेर समूहका महिलाहरूको मृत्यु हुने प्रमुख कारण पनि आत्महत्या नै रहेको छ। यसले नेपालमा महिलाको मानसिक स्वास्थ्यको अवस्था अत्यन्तै भयावह रहेको देखाउँछ।

डा. वलीले गएको ५ दिनमा १० वटा पोस्टमार्टम गरेको बताए। ‘धेरै पोस्टमार्टम आत्महत्या र भवितव्य मृत्युको आउँछ। झुन्डिएर मरेका १३ वर्षका बालकको समेत पोस्टमार्टम गर्नुपरेको छ। आत्महत्या दर बढ्न थालेको छ,’ उनी भन्छन्, ‘समयमै यसलाई न्यूनीकरण गर्न मानसिक स्वास्थ्यमा र स्कुल शिक्षामा ध्यान दिँदा राम्रो हुन्छ। काउन्सिलिङको तालिम धेरैलाई दिएर परिचालन गर्नुपर्छ। त्यस्तै मदिरा र लागु औषध नियन्त्रणमा ध्यान दिनुपर्ने देखिन्छ।’

गत वर्ष रोल्पामा मनोविमर्शकर्ताका रूपमा काम गरेकी ओरेक रुकुमकी जिल्ला संयोजक दीपा धिताल तत्कालीन माओवादी द्वन्द्वको असरले पनि स्थानीयमा मानसिक समस्या रहेको बताउँछिन्। ‘द्वन्द्वको असर अहिले पनि बाँकी छ। उतिबेला हिंसामा परेका, आँखैअगाडि आफन्त मारिएका अनि बेपत्ताका कतिपय परिवारमा आज पनि मानसिक समस्या छ,’ धिताल भन्छिन्, ‘स्थानीय सरकारले मानसिक स्वास्थ्यलाई समस्याका रूपमा बुझ्दै मनोविमर्शकर्तामार्फत सेवा सुरु गर्नुपर्छ।’

प्रकाशित: ९ असार २०७९ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App