८ वैशाख २०८१ शनिबार
समाज

ट्यांकर सेवा एक सातादेखि ठप्प, उपत्यकावासी मर्कामा

फाइल तस्बिर

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) व्यवस्थापनले इन्धनको रकम चुक्ता गर्न नसक्दा खानेपानी वितरण सेवा प्रभावित बनेको छ। असार १ गतेदेखि केयुकेएलका ट्यांकर चालकहरूले इन्धन नभएकोकारण सेवा दिन नसक्ने सूचना समेत निकालेका छन्। केयुकेएलको ट्यांकरको पानीमै निर्भर हुने अधिकांश उपत्यकाबासीहरू एक सातादेखि पानी वितरण नहुँदा जनजीवन नै कठिन हुने अवस्था आउन सक्ने बताउँछन्।  

केयुकेएलकै पानी ट्यांकरमा निर्भर भएको र हाल एक सातादेखि पटकपटक फोन गर्दा पनि इन्धन नभएकाले पानी नल्याउने जवाफ केयु पाएको कालिमाटिकी गिता शाक्यले सुनाइन्। ‘हाम्रो घरको धारामा पानी नआएको कयौं दिन भइसक्यो,’ उनले गुनासो गरिन्, ‘केयुकेएलको पानीकै भरमा हामी छाैं। सस्तो र गुणस्तरीय पानी भएकोले हामी केयुकेएलकै पानी किनेर खाने गरेका छौं। तर एक सातादेखि ट्यांकरले पानी ल्याइदिएको छैन। यसले हाम्रो दैनिक जनजिवनै प्रभावित बनेको छ।’  

ट्यांकर शाखा प्रमुख शंकर थापाले १३ वटा ट्यांकरबाट दैनिक ८०–९० ट्रिप पानी उपत्यकावासीलाई वितरण गरिँदै आएको र असार १ देखि इन्धन नभएको कारण सेवा प्रभावित बनेको जनाए। उनले शाखाले समस्याबारे लिखित जानकारी केयुकेलको केन्द्रीय कार्यालयमा गराइसकेको समेत बताए। उनले साझाले इन्धन दिन नमानेपछि सेवा प्रभावित बनेको जनाए। केयुकेएलले साझाको तिर्नुपर्ने पहिल्यैको बाँकी २० लाख रकम तिर्न सकेको छैन भने हाल बढेको इन्धनको मूल्यको रकमसमेत तिरेको छैन। एउटा ट्यांकरमा ७ देखि ९ हजार लिटर पानी हुन्छ। केयुकेएलका उपत्यकाका तिनै जिल्लाहरूमा पानी वितरण गर्छ।  

‘गत आर्थिक वर्षमा ९५ रूपैयाँ प्रतिलिटरको दरले चालु आर्थिक वर्षका लागि रकम निकासा थियो,’ प्रमुख थापाले भने, ‘तर एक्कासि डिजेल महँगिएर १ सय ९२ पुग्यो। विगतकै २० लाख बाँकी रहेछ। साझाले हामीलाई तेल दिन मानेन। जसका कारण ट्यांकर सेवा प्रधावित बन्यो।’ उनले सेवा प्रभावित हुनुको कारणसहित लिखित जानकारी केयुकेएलका पदाधिकारीलाई गराइसकेको बताए। ‘हामी संवेदनशील भएरै कम्तीमा जसोतसो व्यवस्था गरी अस्पतालहरूमा ट्यांकरबाट पानी वितरण गरिरहेका छौं,’ उनले भने, ‘इन्धनै नभएपछि उपत्यकावासीलाई पानी वितरण गर्न सकिएको छैन।’

अर्को तर्फ केयुकेएलमा एक सातादेखि कर्मचारीहरूको आन्दोलनका कारण प्रमुख कार्यकारी अधिकृत मिलन कुमार शाक्य कार्यालय प्रवेश गर्न पाएका छैनन्। सो कारण कार्यालयले गर्नुपर्ने दैनिक प्रशासनिक तथा आर्थिक काम ठप्प बन्दै गएको छ। केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले साझालाई असार महिनाको समेत करिब ४० लाख रकम तिर्न बाँकी रहेको जनाए। उनले समस्या समाधानका लागि छलफल भइरहेको समेत जनाए।

‘प्रमुख कार्यकारी अधिकृतज्यूले रकम उपलब्ध गराउने पत्रमा तोक त लगाइसक्नु भएकैछ,’ प्रवक्ता राईले नागरिकसँग भने, ‘इन्धनमा बढेको मूल्यअनुसार असारकै मात्र ४० लाख थप तिर्नुपर्ने छ। विगतका बाँकी २० लाख त छँदैछ। सञ्चालक समितिले पनि छलफल गरी छिटो निकाश दिनुपर्ने देखियो। हाम्रो केन्द्रीय कार्यालयमा समेत पानी नभएर दुर्गन्धित बन्दै गएको छ।’ सरकारले खानेपानीलाई अति आवश्यक सेवामा राखेर बन्दहडताल निधेष गरेको भए पनि सरकारकै कर्मचारीहरू केयुकेएलमा आन्दोलनमा उत्रनुको चौतर्फी आलोचना भइरहेको छ।  

खानेपानी मन्त्रालयका सचिव मणिराम मेलाल कर्मचारी आन्दोलनको मागको विकल्प मन्त्रालयले खोजिरहेको जनाए। ‘कर्मचारीको मागको सम्बन्धनमा मन्त्रालयले वार्ता टोली बनाएर अघि बढ्छ,’ सचिव मेलालले भने, ‘इन्धनको मूल्य साझालाई चुक्ता गर्न मन्त्रालयले केयुकेएलका कार्यकारी प्रमुखलाई निर्देशन दिइसकेको छ। ट्यांकर पानी बितरणको समस्या छिटै समाधान गर्न मन्त्रालय पनि लागिपरेको छ।’ केयुकेएलका कर्मचारीहरू सातादेखि कार्यालयको संस्थागत र नीतिगत सुधारको माग राख्दै केन्द्रीय कार्यालय त्रिपुरेश्वरमा आन्दोलनमा छन्।

प्रकाशित: ९ असार २०७९ ०२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App