coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुढीगंगाको निर्वाचन असार २३ मा हुने, दलहरुले अदालतको आदेश नकुर्ने

बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचन असार २३ गते गर्न दलहरु सहमत बनेका छन्। पुन: मतदान र मतगणनाको अडानमा रहेका काँग्रेस एमालेका नेताहरु अन्तिममा आएर निर्वाचन गर्न सहमत बनेपछि मिति घोषणा गरिएको हो। पाँचै दिनको बैठकपछि चुनावको मिति तोक्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सफल भएको छ।  

७५३ वटा स्थानीय तह मध्ये बाजुराको बुढीगंगा नगरपालिकामा मात्र पुन: मतदान हुन लागेको हो। वैशाख ३० को निर्वाचन धाँधली पूर्ण वातावरणमा भएको र लोकतन्त्रलाई नै कमजोर पार्ने गरि मतदान गरिएको निष्कर्षसहित निर्वाचन आयोगले पुन: मतदानको निर्णय गरेको थियो।  

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराको संयोजनमा बसेको राजनीतिक दल र अन्य सरोकारवाला उपस्थित बैठकले असार २३ गते निर्वाचन गर्ने निर्णय नै गरेको छ। निर्वाचन आयोगले पुन: मतदानका लागि मिति घोषणा गर्न यस अघि नै निर्णयसहित ताकेता गरेको थियो।

दलहरुको सहमति र मुख्य निर्वाचन कार्यालयसहितका सम्बन्धीत कार्यालयबीचको बैठकले असार २३ गते बुढीगंगा नगरपालिकाको निर्वाचन गर्ने मिति घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन्।

बुढीगंगा नगरपालिकाको चुनवाले देशव्यापी चर्चा पाएको छ। काँग्रेस एमालेले आफूले सक्ने मतदान केन्द्रमा बुथ कब्जा गरेपछि निर्वाचन नै रद्द गरिएको निर्वाचन आयोगले बताएको छ। नेकपा एमालेले विधी प्रक्रिया पूरा गरेर सम्पन्न चुनावलाई सत्ता र शक्तिको आडमा आफू अनुकुल पार्न निर्वाचन रद्द गरिएको आरोप लगाउँदै आएको छ।

नेपाली काँग्रेसले पालिकाको २, ३ ५ र ९ मा एकलौटी बुथ कब्जा गरेर मतदान गरेकोले ती वडाको पुन: मतदानको माग राखेको थियो। नेकपा एमालेले ४ र ७ नम्बर वडामा काँग्रेसले बुथ कब्जा गरेको आरोप लगाएको थियो। ४ नम्बर वडा काँग्रेका उम्मेदवार रंग खातीको गृह वडा हो। जहाँ ९९.९४ प्रतिशत मत खसेका थिए।  

दुबै दलका उम्मेदवारले पुन: मतदान र मत गणनाका लागि उच्च र सर्वोच्च अदालतमा मुद्दा समेत दायर गरेका छन्। सर्वोच्च अदालतमा मुद्दा अझै प्रक्रियामै रहेको छ। निर्वाचन आयोगले पाँच आयुक्त मध्ये ३–२ को बहुमत देखाएर निर्णय गरेको थियो। सरकार र सरकारका महान्यायधिबक्ताको दबाबमा उक्त निर्णय गरिएको आरोप एमालेको छ।  

चुनावको स्थलगत अध्ययनमा आएका निर्वाचन आयुक्त सगुन समशेर जबराको प्रतिवेदनमा पनि खम्म खातीको अनावश्यक चलखेल र दबाबले सुरक्षा निकाय प्रभावित भएको र स्पष्टीकरण लिनु पर्ने सिफारिस समेत गरिएको छ। स्थलगत प्रतिवेदनको समेत बेवास्ता गरेपछि सत्ताको शक्तिको आडमा चुनाव रद्द गरिएकोमा एमाले नेता कार्यकर्ता आक्रोशित बनेका थिए।

सर्वोच्चले निर्णय दिन ढिलाई गरेको र पालिकालाई अनिर्णयको बन्दी बनाउन नहुने आपसी समझदारीमा चुनावको मिति घोषणा गरिएको नेताहरुले बताएका छन्। स्वस्थ प्रतिस्पर्धामा भाग लिने वातावरणसहितको शान्त रुपमा निर्वाचन गराउने सहमतिका साथ मिति घोषणा गरिएको दुबै दलका नेताहरुले बताएका छन्।  

असार २३ गते नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित दलका प्रतिनिधीले सहमति जनाएका छन्। मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसहितको उपस्थिति र सहमतिमा मिति घोषणा गरिएको हो।

चुनावको मिति घोषणा लगत्तै नेकपा एमालेबाट नगर प्रमुखका उम्मेदवार रामबहादुर बाँनीयाले न्यायका लागि फेरि जनताको अदालतमा जान भएको प्रतिक्रिया दिएका छन्। बुढीगंगा नगरपालिका भित्रका दुबै दलका नेता कार्यकर्ताहरुले पनि चुनावी प्रचार सामाजिक सञ्जालमा थालेका छन्।

बुढीगंगा बेला बेला चर्चामा आइरहने पालिका हो। अघिल्लो कार्यकाल नगर सभा देखि विकासका काम काज नभएको ढिलाइ गरिएको र आपसी विवाद हुने गरेको विषयले चर्चामा रहने गरेको थियो।  

हालको बुढीगंगा नगरपालिका ४, ५ र ६ साविक कुल्देवमाडौं गाविसमा २०५४ को चुनावमा पनि यस्तै विवाद भएको थियो। पछि २ जनाको ज्यान समेत गएको थियो। त्यो बेला वर्तमान सरकारका महान्यायधिबक्ता खम्म खाती गाविस अध्यक्षको उम्मेदवार थिए। हाल खातीकै सहोदर दाइ रंग खाती काँग्रेसबाटै उम्मेदवार छन्।  

 नवनिर्वाचित जनप्रतिनिधि नहुदा पालिका विकास निर्माणका गतिबिधि ठप्प छन्। नागरिकताको सिफारिस देखि अन्य काम कारवाही हुन सकेका छैनन्। असार १० मा स्थानीय तहहरुले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नुपर्ने प्रावधान छ। तर बुढीगंगा नगरपालिकामा असार २३ गते चुनावको मिति तोकिएको छ। नगरपालिकामा एमालेबाट रामबहाँदुर बाँनीया र माया कुँवर काँग्रेसबाट रंगबहादुर खाती र रिता शाही उम्मेदवार छन्।

प्रकाशित: २ असार २०७९ १४:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App