coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पाण्डेविरुद्ध जिल्ला अदालतमा मुद्दा

बलात्कारको अभियोग लागेका ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’ का सञ्चालक मनोज पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बुधबार ‘मानव बेचविखन तथा ओसारपसार’ र ‘बालयौन दुरूपयोग’ सम्बन्धी दुईवटा अभियोगमा पाण्डेविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो।

मानव बेचविखन तथा ओसारपसार मुद्दाअन्तर्गत १५ वर्ष र बालयौन दुरूपयोग मुद्दाअन्तर्गत ३ वर्षगरी १८ वर्षको कैद सजाय मागदाबी गरिएको जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले बताए।

पौडेलका अनुसार पहिलो युवतीले लगाएको आरोपअनुसारको कसूरमा ‘मानव बेचविखन तथा ओसारपसार ऐन, २०६४’ को दफा ३ (१) र (२) बमोजिम र दोस्रो नाबालिकाले लगाएको आरोअनुसारको कसूरमा ‘मुलूकी अपराध संहिता–२०७४’ को दफा २२५ (बालयौन दुरूपयोग गर्न नहुने) उपदफा (१) र (२) बमोजिम मुद्दा दायर गरिएको छ।

पाण्डेमाथि जेठ पहिलो साता एक युवतीले आठ वर्षअघि आफूलाई ‘ब्ल्याकमेल’ गरेर ६ महिनासम्म बलात्कार गरेको आरोप लगाएकी थिइन्। सामाजिक सञ्जालमार्फत उनले सो आरोप सार्वजनिक गरेकी थिइन्। ती युवतीले सन् २०१४ मा ‘मिस ग्लोबल इन्टरनेसनल’ नामक सौन्दर्य प्रतियोगिता आयोजना भएको र जसमा आफू पनि सहभागी भएको बताएकी छन्।

कार्यक्रमपछि पाण्डेले ‘सक्सेस पार्टी’ छ भन्दै आफूलाई बानेश्वरमा रहेको एभरेस्ट होटेलमा बोलाएर बेहोस हुने पदार्थ खुवाएर बलात्कार गरेको र त्यसक्रममा नग्न तस्बिर लिएको ती युवतीको दाबी छ। नग्न तस्बिरमार्फत ‘ब्ल्याकमेल’ गरेर ६ महिनासम्म पाण्डेले यौनशोषण गरेको उनले बताएकी छन्।

यही घटनाले देशभर तरंग सिर्जना गरेको थियो। ‘मि–टु’ अभियानले यो मुद्दालाई बलियो ढंगले उठाउन थाल्यो। यस विषयमा प्रतिनिधिसभामा पनि कुरा उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले रूलिङ गर्दै छानबिन गरी कारबाही गर्न निर्देशन दिएका थिए। सरकारले समेत यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको थियो।

प्रहरीले जेठ ७ गते पाण्डेलाई स्वयम्भूबाट पक्राउ गरेको थियो। पाण्डेल आफूमाथि पनि यौन दुर्व्यवहार गरेको भन्दै जेठ ८ गते एक नाबालिका प्रहरीकहाँ पुगेकी थिइन्। पाण्डेविरुद्ध दुवैले जेठ ९ गते किटानी जाहेरी दिएका थिए। जाहेरीमा प्रारम्भिक अनुसन्धान नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र थप अनुसन्धान काठमाडाैँ जिल्ला प्रहरी परिसरले गरेको थियो।

अनुसन्धानका क्रममा युवतीले लगाएको आरोपअनुसारको मुद्दा ‘जबरजस्ती करणी’ मा आकर्षित हुने भए पनि ऐनको ‘हदम्याद’ का कारण मानव बेचविखन तथा ओसारपसारमा अनुसन्धान गरिएको थियो। प्रहरीले गरेको सोही अनुसन्धानबाट प्राप्त नतिजाको प्रतिवेदन शुक्रबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको थियो। सोही प्रतिवेदनका आधारमा वकिल कार्यालयले बुधबार जिल्ला अदालतमा पाण्डेविरुद्ध मुद्दा दायर गरेको हो।

‘हामीले मुद्दा दायर गरिसकेपछि अब यो विषय अदालतको विषय बनेको छ,’ जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता पौडेलले भने, ‘पीडितले न्याय पाउनेगरी हामीले अभियोजन गर्ने, मिसिल तयार गर्ने र यथेष्ट प्रमाण अदालतमा पुर्‍याउनेगरी काम गरेका छौं।’

कानुनमा के छ ?

युवतीमाथि गरेको कसूरमा पाण्डेलाई मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ अनुसार मुद्दा चलाइएको छ। यो ऐनको दफा (३) मा मानव बेचबिखन र ओसारपसार गर्न नहुने भनेको छ। सोही दफाको उपदफा (१) मा कसैले पनि मानव बेचविखन तथा ओसारपसार गर्नु गराउनु हुँदैन भनेको छ। उपदफा (२) मा ‘कसैले उपदफा (१) बमोजिमको कार्य गरेमा ऐनबमोजिम कसूर मानिने भनिएको छ।

यही ऐनको दफा (४) मा ‘मानव बेचविखन र ओसारपसार गरेको मानिने’ अवस्थाबारे उल्लेख गरिएको छ। जसको उपदफा (१) को बुँदा (क) मा कुनै पनि उद्देश्यले मानिस बेच्ने वा किन्ने, (ख) मा कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउने (ग) मा प्रचलित कानुनबमोजिमबाहेक मानिसको अंग झिक्ने (घ) वेश्यागमन गर्ने कुरालाई ‘मानव बेचबिखन’ भनिएको छ। ऐनको दफा (४) कै उपदफा (२) मा ‘मानव ओसारपसार’ मानिने क्रियाकलापबारे उल्लेख छ।

उपदफा २ को (क) मा किन्ने वा बेच्ने उद्देश्यले मानिसलाई विदेशमा लैजाने, (ख) मा ‘वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाइ, प्रलोभनमा पारी, झुक्याइ, जालसाज गरी, प्रपञ्च मिलाइ, जबर्जस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिइ, बेहोस पारी, पद वा शक्तिको दुरूपयोग गरी, अभिभावक वा संरक्षकलाई प्रलोभनमा पारी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाइ लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा वा विदेशमा लैजाने वा अरू कसैलाई दिने’ विषयलाई मानव ओसारपसार भनिएको छ। यो कसूरअनुसार ऐनको दफ (१५) मा ‘दण्डसजाय’ को व्यवस्था छ।

जसमा एक महिनादेखि २० वर्षसम्म कैद सजायसम्मका छुट्टछुट्टै व्यवस्था छन्। त्यस्तै दुई हजारदेखि २ लाखसम्म जरिवाना हुने उल्लेख छ। यस्तै नाबालिकामाथिको कसूरमा ‘मुलूकी अपराध संहिता–२०७४’ मा मुद्दा दायर भएको छ। जसको दफा २२५ मा ‘बालयौन दुरूपयोग गर्न नहुने’ व्यवस्था छ। जसको उपदफा (१) मा ‘कसैले बालयौन दुरूपयोग गर्न वा गराउन हुँदैन’ भनिएको छ।

उपदफा (२) मा ‘कसैले करणीका आसयले बालबालिकालाई अस्वाभाविक रूपमा एकान्तमा लगेमा, यौनसम्बन्धी निजको अंग छोएमा वा समातेमा, यौनसम्बन्धी आफ्नो अंग निजलाई छुन वा समाउन लगाएमा वा निजसँग अन्य कुनै किसिमको यौनजन्य अस्वाभाविक व्यवहार गरेमा बालयौन दुरूपयोग गरेको मानिनेछ,’ भन्ने उल्लेख छ। यी कसूर गरेमा उपदफा (३) मा ‘उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था गरिएको छ।

प्रकाशित: २ असार २०७९ ०३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App