७ वैशाख २०८१ शुक्रबार
समाज

सधैंको सास्ती साँफे मार्तडी सडक, वैकल्पिक मार्ग निर्माणमा बेवास्ता

साँफे मार्तडी सडकको बल्दे क्षेत्रको पहिरोले भासिएको सडक। फाइल तस्बिर: नागरिक

साँफे मार्तडी सडकमा निर्माणको काम सकिएपनि सर्वसाधारणले भोग्नु पर्ने समस्या र सास्ती सकिएको छैन्। जुन समस्या यहाँका स्थानीयले बिगत अढाइ दशकदेखि भोग्दै आएका छन्। सडक कालोपत्रे छ। तर हरेक वर्षातका चार महिना अवरोध हुन्छ। जुन कारण यहाँका स्थानीयले सास्ती भोग्नु परेको छ।

५७ किलोमिटर दुरीको साँफे मार्तडी सडक निर्माण सकिन मात्र २२ वर्ष लाग्यो। सडकको शिलान्यास २०५२ सालमा गरिएको हो। २०६० भित्र अछामदेखि बाजुराको सदरमुकाम मार्तडी पुर्याउने राखिएको थियो। तत्कालिन अल्पमतको सरकारका प्रधानमन्त्री मनमोहन अधिकारीले नै सडकको शिलान्यास गरेका हुन्।

जुन लक्ष्य र उदेश्य राखेर सडक निर्माण सुरु गरियो, तर कामले गति लिन सकेन। १० वर्षे जनयुद्धकै कारण सडक निर्माण कार्य रोकियो र प्रतिवद्धता जारी गरिएको मितिमा केही किलोमिटर कच्ची बाटो निर्माण गर्नु बाहेक काम हुन सकेन्। द्वन्द्वकालीन समय सकिएपछि सडक निर्माण सुरु भयो, तर कामले लिनु पर्ने जति गति लिएन्। जुन समस्याकै कारण बाजुरा गाडी पुग्न २२ वर्ष कुर्न पर्यो।

सडक निर्माण सकिएर गाडी गुडेपनि बाजुरा बासीलाई सास्ती कायमै रह्यो। कालोपत्रे निर्माण कार्य सकिएकै ५ वर्ष पुग्यो, तर सास्ती र समस्या अझै सकिएको छैन्। असार पहिलो साता देखि असोस दोस्रोसाता सम्म साँफे मार्तडी सडक अवरुद्ध हुनेक्रम रोकिएको छैन्।

भू बनोट र कच्ची माटोले सडक पहिरो भासिन गर्दा समस्या आउने गरेको छ। तर त्यो समस्या समाधानको निर्णायक पहल सरकार स्तरबाट भएकै छैन्। समस्या सुरु हँुदा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउने र केही समीक्षा छलफल गर्ने बाहेक अन्य कुनै निर्णायक पहल प्रक्रिया नहुनु नै सडक समस्याको पहिलो कारण भन्छन्, यहाँका नागरिक अगुवा।

साँफे मार्तडी सडक खण्डको बल्दे क्षेत्रमा हिउँद बर्खा नै पहिलो खस्ने गरेको छ। बार्जुगाड, ताँप्रीसेरा, ओलेना क्षेत्रमा पनि बाढी पहिरोको समस्या नै छ। तर साँफे मार्तडी सडक अवरोधको प्रमुख समस्या बल्दे पहिलो नै हो। करिब ४ किलोमिटर वैकल्पिक सडक निर्माण नगरिए दीगो नहुने इन्जिनियर सर्भेले नै भन्छ।  

२०७७ सालको बाढी पहिरोले बाजुरा तहस नहस नै भयो। सडक बाटा बस्ती सबै बाढी पहिरोमा भासिए, १ जनाको मृत्यु भयो। बेलिब्रीज नदीले बगायो। करोडौंको खेती योग्य जमिन र सम्पत्ती गुमाउन पर्यो। तत्कालिन केपी ओली नेतृत्वको सरकारका रक्षा मन्त्री सहीतको टोलीले हेलिकप्टर मार्फत स्थलगत अवलोकल गर्यो। सडकको वैकल्पिक मार्ग निर्माणको पहल गर्ने निर्णय गर्यो, निर्माणका लागि योजना पेश गर्न ताकेता गरियो तर निर्माणको कामको कार्यान्वयन अझै भएको छैन्।

यहाँका स्थानीयलाई सडक अवरोध हुँदा आवतजावतमा मात्र समस्या छैन्। सर्वसाधारणको दैनिकमा समेत असर परेको छ। दैनिक जनजीवनले भोग्नु परेको सास्ती र सहनु परेको संकट, बेहोर्नु परेको क्षति बारे दलका नेता, देखि उपल्लो तहमा पुगेका सबैलाई जानकारी छ, तर त्यसको समाधान कतैबाट देखिदैन्। २ अर्व बढी बजेट सकिसकेको छ। अझै वर्षेनी खर्चहुनेक्रम रोकिएको छैन्। तर सडक बन्दैन्।  

वैकल्पिक मार्ग बनाउने फाइल मन्त्रालयमा अलपत्र  

साँफे मार्तडी सडक नियमित सुचारुको वैकल्पि उपाय खोजिएको छ। राजनीतिक दलको सहमति र प्रयासबाट सडकको रुच पुरानै कायम गर्ने र पहिरो आएको क्षेत्रभन्दा दाँयाबाँया गर्ने सर्वपक्षिय सहमति सहीत डिपीआर समेत भइसकेको छ।

सडकको बल्दे क्षेत्रमा सडक मार्ग नै बदल्न पर्ने निष्कर्ष इन्जिनियरको छ। सोही प्रतिवेदनका आधारमा सडक डिभिजन कार्यालय साँफे बगरले लागत स्टमेट समेत बनाएर सडक समेत सर्भे गरिसकेको छ। हालको दुरामा थप ४ किलोमिटर थप बाटो निर्माण गर्ने गरि मन्त्रालयलाई बजेट माग गरिएको सडक डिभिजन कार्यालय अछामका डिभिजन प्रमुख राजशे यादवले बताएका छन्।

अघिल्लो वर्ष नै निर्माण गर्ने गरि फाइल मन्त्रालय पुगेको छ। संघिय मन्त्रालयले निर्णय नगर्दा काम हुन नसकेको डिभिजन प्रमुख राजेश यादवको भनाई छ। बल्देबाट माथि लिएर, डुंग्री, अम्कोट हुदै तिपाडा झार्ने तयारी सडक डिभिजन कार्यालयको छ। तर सिफारिस सहीतको फाइल मन्त्रालयमै अलपत्र अवस्थामा छ।

राजमार्ग सडकमा थप ४ किलोमिटर बाटो निर्माणको अनुमतिका लागि मन्त्रालय स्तरमा निर्णय हुनु पर्छ, बजेट पनि विनियोजन हुनु पर्छ, त्यस पछि निर्माण सुरु गर्ने हो, हालसम्म पनि मन्त्रालयबाट कुनै जानकारी नआउँदा वैकल्पिक मार्ग निर्माण सुरु नभएको डिभिजन प्रमुख यादवको भनाई छ।

डिभिजन कार्यालय अछामले गएको वर्ष पुसमै फाइल मन्त्रालय बुझाएको छ। तर मन्त्रालयले कुनै प्रक्रिया नै अघि बढाएको छैन्। सिंगो बाजुरालाई सडक सञ्जालबाट बाहिर राख्ने अवस्था आउँदा पनि सरकारी संयन्त्र जिम्मेवार देखिएको छैन्। प्रतिनिधी सभा सदस्य देखि जिल्ला तहका नेताहरुले ताकेता गरिरहेकै अवस्था छ। तर मन्त्रालयले निर्माण प्रक्रियाका लागि निर्णय नै नगर्दा समस्या देखिएको छ।  

यता प्रमुख जिल्ला अधिकारी सहीत स्थानीय तहका प्रमुख पनि लागि परेका छन्। सडक डिभिजन कार्यालय देखि मन्त्रालय पुग्ने काम जनप्रतिनिधीको जारी छ। तर काम नै अघि बढेको छैन्।अब असार लागि सक्यो तत्काल निर्माण हुने अवस्था छैन्। मन्त्रालयले निर्णय गर्दा पनि काम हुदैन्, पुन अघिल्लो वर्षकै जस्तो सडक समस्या यो वर्ष पनि आउने निश्चित भएको भन्छन्, इन्जिनियर तर्फका विद्यार्थी दीपक भारती। तर बडीमालिका नगरपालिका प्रमुख अमर खड्काले सडक नियमित सुचारुका लागि सबैप्रकारको पहल जारी रहेको बताएका छन्।  

नियमित गर्न २ डोजर १० कामदार राख्ने सडक डिभिजनको तयारी  

बर्षादको समयमा पनि साँफे मार्तडी सडक नियमित सञ्चालन गर्न सडक डिभिजन कार्यालय साँफेबगरले पूर्व तयारी थालेको छ। बाढी पहिरोका कारण हुने सडक अवरोध हटाउने गरि पूर्व तयारी थालेको हो। बर्षादका चार महिना साँफे मार्तडी सडक हरेक वर्ष अवरुद्ध हुने गरेको छ।  

सडक निर्माणको अढाई दशकसम्म पनि साँफे मार्तडी सडक बाह्रै महिना नियमित हुन सकेको छैन्। बुढीगंगा नदीको तेजीलो बहाव र बल्दे, ताँप्रीसेरा, बार्जुगाड लगायत क्षेत्रको पहिरोले सडक अवरुद्ध हुने गरेको छ। बाढी पहिरोले अवरुद्ध हुने सडकलाई तत्काल सुचारु गर्न र अवरोध हटाउन पूर्व तयारी थालिएको सडक डिभिजन कार्यालय साँफे बगरका डिभिजन प्रमुख राजेश यादवले बताएका छन्।  

डिभिजन कार्यालयले पूर्व तयारीका लागि २ वटा डोजर, १ वटा लोडर र १० जना कामदार सहीतको पूर्व तयारी थालेको छ। बाटो अवरुद्ध हुने अवस्था आएमा जुन साधान श्रोतको प्रयोग गरेर सुचारु हुन्छ त्यही प्रयोग गर्ने गरि तयारी थालिएको हो। चार महिनाका लागि १० जना कामदारलाई पारिश्रमीक दिएर नै राख्ने डिभिजन कार्यालय प्रमुख राजेश यादवले बताएका छन्।

गएको वर्षको बाढी पहिरोले क्षति पुर्याएका क्षेत्रको काम सकिने अवस्थामा रहेको र बाँकी समस्या आउने क्षेत्रमा पनि पूर्व तयारीका सबै प्रयास जारी राख्ने डिभिजन कार्यालयको तयारी छ। ठूलो विपत आइपरेमा केही दिन अवरुद्ध भएपनि सानो समस्या देखिएमा अवरोध नै नहुने गरि श्रोत साधानको तयारी गरिएको कार्यालय प्रमुख राजेश यादवको भनाई छ।  

बैकल्पिक मार्ग निर्माणको प्रयास जारी छ। गएको पौषमा मन्त्रालयलाई स्टमेट र बजेट सहीतको पत्र पठाएपनि निर्णयमा ढिलाई हुँदा काम हुन नसकेको यावदले बताएका छन्। यो बर्षादको समयमा सडक अवरुद्ध हुने अवस्था आउन नदिने गरि काम र तयारी डिभिजन कार्यालयले थालेको बताएको छ।

बढी समस्या बल्दे र बार्जुगाडमा हो, त्यो क्षेत्रमा पनि हामीले सबै प्रकारको तयारी गरिरहेकोले असहज नहुने गरि काम गरिने डिभिजन कार्यालयले बताएको छ। साँफे मार्तडी सडक बाजुराका बासीका लागि हरेक वर्षको सास्ती दिने सडक बनेको छ।  

सडक अवरोधले अस्तव्यस्त जनजीवन  

सडक समस्या सुनाउँदा पनि यहाँका स्थानीय थाकिसके। २ दशक सडक निर्माणको माग गर्दा थाले। सडक निर्माण पछि नियमित सूचारुको माग गर्दा हैरान बनेका छन्। बाजुरा बासीलाई आम नागरिक सरह राज्यले नमानेकै जस्तो व्यवाहार हुने गरेको आक्रोश यहाँका स्थानीयको छ।  

सरकारको नीति तथा कार्यक्रममा प्रत्येक निर्वाचन क्षेत्रमा कालोपत्र सडक, प्रत्येक वडाका केन्द्र जोड्ने सडक निर्माणको योजना छ। तर बाजुरा बासीका लागि सदरमुकाम जोड्ने सडक पनि सहज छैन्। सडक समस्याले विरामीलाई जिल्ला बाहिर लैजान समस्या छ। विमान सुविधासम्म पुग्न पनि मार्तडी कोल्टी सडक निर्माण अधुरै छ। साँफे बगर पुग्न पनि सडक समस्या हुन्छ, यो अति समस्या भयो, स्थानीय खडक पाध्यायले गुनासो गरे।

सडक समस्या देखाएर व्यापारीले कृत्रिम अभाव र समानको मूल्य वृद्धि गर्छन्। विरामीले सहज उपचारका लागि सडक सुविधाबाट वञ्चित हुनु परेको अवस्था छ। संघिय सरकारसँग गुनासो सुनाउँदा आफूहरु नै हैरान बनेको भन्छन्, बडीमालिका नगरपालिकाका पूर्व नगर प्रमुख पदम बडुवाल।

जनताका समस्यासँग सजिलै जोडिने सरकारको आँचो भयो। मन्त्रालयमा एक काम हुन पनि बर्षदिन लाग्ने अवस्था छ। कर्मचारी देखि अन्य संयन्त्र आफू खुसी चल्छ। जनताको समस्या र दुखसँग सहकार्य गर्ने नेतृत्व नभएको गुनासो स्थानीयको छ। महँगी सास्ती र असुविधामा मात्रै बाँच्नु पर्ने बाध्यता बाजुरा बासीले कहिलेसम्म भोग्ने सर्वसाधारणको आक्रोश समेत छ। उसो त निर्माण अवधि सकिएको पाँच वर्षसम्म पनि बुढीगंगा नदीको पुल निर्माण सकिएको छैन्। 

प्रकाशित: १ असार २०७९ १०:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App