coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कार र मोटरसाइकल त्रिसुलीमा खस्दा २ जनाको ज्यान गयो

यात्रुदेखि बिरामीलाई सास्ती

पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन–आँबुखैरेनी सडक खण्डको डम्पिङमा सडक भासिँदा एउटा कार र दुईवटा मोटरसाईकल मस्र्याङ्दी नदीमा खसेको छ। दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने दुई जना घाइते छन्।

१० च ४६७९ नम्बर कार चालक हेटौँडा उपमहानगरपालिका ६ का ३३ वर्षीय हेमबहादुर भुजेल र ग १५ प २९५३ नम्बरको मोटरसाइकल चालक गोरखा सिरानचोक गाउँपालिका घर भइ आँबुखरैनी गाउँपालिका २ बस्ने ३६ वर्षका केशव घिमिरेको घटनास्थलमै मृत्यु भएको हो।

सोही ठाउँबाट बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पनि खसेको थियो। चालक सन्दिप घिमिरे र दुर्गामाया घिमिरे समान्य घाइते भएको तनहुँका प्रहरी प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीले बताए। घाइते दुवै जनाको अवस्था समान्य छ।

दुर्घटनाग्रस्त गाडीको नम्बर प्लेटको आधारमा खोजी गर्दा शसस्त्र प्रहरीको गोताखोर टोलीले नदीभित्रबाट शव निकालेको हो। दुवै शव पानी भित्रबाट निकालिएको एसपी रेग्मीले बताए। शव पोष्र्टमार्टम भइसकेको प्रहरीले जनाएको छ।

पोखरामा यात्रु छाडेर फर्किएको कार र चितनबाट फर्कदैँ गरेकी श्रीमतीलाई लिन आएका घिमिरे दुर्घटनामा परेका हुन्। सवारी जाममा परेकी श्रीमतीलाई लिन आएका उनी श्रीमती भेट्न नपाउँदै चार किलोमिटर पर सडकबाट नदीमा खसे। शुक्रबार बिहान करिब ४ बजेतिर सडक भासिएको र दुर्घटनापनि लगत्तै भएको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ।

सडक भासिएको सुचना समयमै नपाउँदा सवारी साधन त्यहाँबाट खसेको अनुमान प्रहरीको छ। ‘सडक भासिएकाले १० घण्टासम्म सडक चलेन’ तनहुँका एसपी रेग्मीले भने ‘दिउँसो २ बजेबाट एकतर्फी साना गाडी चल्यो, ठूला सवारी साधन तत्काल चल्ने अवस्था छैन।’ भित्तोतर्फ पहरो फुटाएर साना सवारी साधन चल्ने गरी वैकल्पिक बाटो बनाइएको उनले बताए। कमजोर भुगोल रहेकाले त्यहाँबाट तत्काल ठूला लोड गाडी चल्ने अवस्था छैन।

शुक्रबार १० घण्टा उक्त सडक खण्डमा यातायात अवरुद्ध हुँदा राजमार्ग क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्यो। यात्रुहरु दिनभर राजमार्ग क्षेत्रमा अलपत्र परे। पोखरातर्फ हिँडेका सवारी साधन मुग्लिन र पोखराबाट आएकाहरु आँबुखरैनीमा रोकिएका छन्।

‘सडक मर्मत चलिरहेको छ, केही बेर साना गाडी संचालन गर्दै काम गर्दै गरिएको छ’ आँबुखैरेनी गाउँपालिका ३ का वडा अध्यक्ष दिनेश केसीले भने। दोहोरो आउजाउ गर्न मिल्ने गरी सडक सुचारु हुन अझै केही दिन लाग्न सक्ने उनले बताए।

यात्रुदेखि बिरामीलाई सास्ती

मुग्लिन-आँबुखैरेनी सडक खण्ड भासिँदा शुक्रबार दिनभर राजमार्गमा यात्रुले सास्ती खेप्नुपर्‍यो। बिहीबार रातीको वर्षातले पृथ्वीराजमार्गको कुरिनटार, फिस्लिङ लगायत ठाउँमा सवारी आउजाउ बन्द भयो। मुग्लिन-नारायणगढ सडक खण्डको पहिरोले पनि यात्रु शुक्रबारसम्म जाममा परे। शुक्रबार दिउँसो मुग्लिन, नारायणगढ र काठमाडौँ तर्फको सडक खुल्यो। तर पोखरा तर्फ भासिएकाले खुलेन।

शुक्रबार बिहान ७ बजे काठमाण्डौँबाट स्याङ्जा हिँडेका केशब भण्डारी साँझ ६ बजे सडक भासिएको ठाउँमा भेटिए। ‘घर पुग्ने समयमा मुग्लिन आउन मुस्किल भयो, अब कसरी जाने भन्ने ठेगान छैन, मुग्लिनबाट चार किलोमिटर हिँडिसकेँ’ उनले भने। वृद्धवृद्धा, बिरामीदेखि बालवालिका बोकेर यात्रुहरु मुग्लिन खैरेनी पैदल हिँड्न बाध्य भए।

पहिरोका दायाँ बायाँ केही सवारी साधनले बिहान यात्रु ओसारेका थिए। दिउँसो सवारी चाप बढेपछि सडक दुवैतर्फ थप अस्तव्यस्त बन्यो। बिहीबार ११ बजे काठमाडौँबाट रात्रीबसमा मुस्ताङ हिँडेका युनिस थकाली भन्छन्, ‘बस त अझै जाँदैन रे, हिँडेर जान पनि संभव छैन, शनिबार बिहानसम्म पर्खने बिचारमा छु।’ काठमाडौँबाट निस्कँदा उनीसँग बसभरी यात्रु थिए। बस जाममा परेपछि धेरैजसो अरु गाडी खोज्दै, सडक भासिएको ठाउँमा पैदल हिँडैदै गएको उनले बताए।

तनहुँको रिसिङबाट चितवन उपचारका लागि हिँडेका लिलाराम पुरी घण्टौँ सवारी जाममा परे। नेपाल रेडक्रस सोसाईटीको एम्बुलेन्समा चितवन हिँडेका उनले समयमै उपचार पाएनन्। गर्मीको समयमा उनी एम्बुलेन्स भित्र छटपटाइरहेका थिए। एम्बुलेन्स चालक तुलाराम थापा कयौँ पटक बिरामी लिएर जाममा बस्नुपरेको दुःखद अनुभव सुनाउँदै भन्छन्, ‘एम्बुलेन्सका लागि छुट्टै सडक हुनुपर्ने हो तर छैन, के गर्नु बिरामी छटपटिरहेका हुन्छन्, हामीले गर्न सक्ने केही हुँदैन।’

सवारी साधनको अव्यवस्थित लाइनले चितवनको मुग्लिन सम्म सडक अवरुद्ध भएको छ। चालकहरुले ट्राफिक नियम नमान्दा अस्तव्यस्त भएको चितवनका ट्राफिक प्रहरी प्रमुख धर्मबहादुर अधिकारीले बताए। ‘सवारी साधनले लेन अनुशासन पालना गरेको भए, एम्बुलेन्सहरु, साना सवारी, मोटरसाईकल सहजै आउजाउ हुन्थ्यो’ उनले भने। यात्रुबाहक र मालबहाक ठूला सवारी साधन सडक छाडेर पार्किङ गराउने र साना सवारी मात्रै चलाउने गरी व्यवस्थापन गरिएको उनले बताए।

प्रकाशित: २८ जेष्ठ २०७९ ०१:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App