coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सुदूरमा अत्यधिक गर्मी: जनजीवन प्रभावित, विद्यालय बन्द गरिँदै

पश्चिम तराईमा दैनिक गर्मीको पारो चढ्दैछ। अत्यधिक गर्मी बढ्दा सुदूर तराईको जनजीवन प्रभावित बनेको छ। अत्यधिक गर्मी हुँदा कैलाली, कञ्चनपुरका साथै डोटीको दिपायल र अछामको साँफेबगर क्षेत्रको जनजीवन कष्टकर बन्दै गइरहेको छ।

मनसुनको सुरुवात भइसक्दा पनि पानी नपर्दा यहाँको जनजीवन कष्टकर भएको हो। अत्यधिक गर्मीका कारण बालबालिका र ज्येष्ठ नागरिक सबैभन्दा बढी समस्यामा परेका छन्। समयमा पानी नपर्दा र अत्यधिक गर्मीले गर्दा कक्षा कोठामा विद्यार्थीलाई पठनपाठनमा समस्या हुने गरेको जेसिज एभरेस्ट माध्यमिक विद्यालयका तीर्थराज जोशी बताउँछन्।

अत्यधिक गर्मीले विद्यार्थी पढाउने बेलामा कापी किताब समातेर हम्कने गर्दा उनीहरूको ध्यान पढाइमा केन्द्रित गर्न समस्या पर्ने गरेको उनले बताए। ‘अत्यधिक गर्मीले कक्षाकोठामा पढाउनै समस्या पर्ने गरेको छ,’ उनले भने, ‘गर्मीकै कारण विद्यार्थीको ध्यान केन्द्रित गर्नै समस्या पर्ने गर्छ।’ अत्यधिक गर्मी, त्यसमाथि विद्युत् आउनेजाने समस्याले विद्यार्थीहरू समस्यामा परेको उनी बताउँछन्।

अत्यधिक गर्मीले विद्यार्थीको छालामा समस्या पनि देखिएको उनी बताउँछन्। ‘अत्यधिक गर्मीले विद्यार्थीको शरीरमा घमौरा, बिमिरा देखिन थालेका छन्,’ उनले भने, ‘घमौराले गर्दा शरीर चिलाउने गर्दा उनीहरूलाई पढाइमा ध्यान केन्द्रित गर्न समस्या पर्ने गरेको छ।’ समयसमयमा विद्युत् सेवा अवरुद्ध हुँदा पनि विद्यार्थीहरूमा झनै समस्या देखिएको उनले बताए।

गर्मीका कारण नानीबाबुलाई विद्यालय पुर्‍याउन र ल्याउनै समस्या पर्ने गरेको अभिभावक विनोद बोहरा बताउँछन्। ‘विद्यालयमा पंखा भए पनि गर्मीले साना नानीबाबुलाई घरबाट विद्यालय लैजान र घर ल्याउनै समस्या पर्ने गरेको छ,’ उनले भने, ‘बिहान विद्यालय लैजान त सजिलै हुन्छ तर दिउँसो बिदा भएपछि घर ल्याउँदा बच्चाहरू गर्मीले रातोपिरो भइसक्छन्।’

गर्मीका कारण नानीबाबु सुत्न नसक्ने र घरीघरी पानी पिउन खोज्ने गरेको पनि उनले बताए। ‘समय समयमा विद्युत् लाइन काटिँदा घरभित्रै बस्न सकिँदैन,’ उनले भने, ‘अझ नानीबाबुहरू त गर्मीले झर्कने, रुने गर्छन्।’ विद्युत् लाइन काटिँदा नानीबाबुलाई घरबाहिर डुलाउनुपर्ने, कापीकिताबले हावा हम्कनुपर्ने बाध्यता रहेको उनी सुनाउँछन्।

गर्मीले स्कुले नानीबाबु कक्षा कोठामा शान्त भएर बस्नै नसक्ने गरेको शिक्षक दानबहादुर चौधरीले बताए। उनले भने, ‘विद्यार्थीलाई कक्षाकोठामा पढाउँदै गर्दा गर्मीले चिडचिडाहट भएर पढ्नै नमान्ने गरेका छन्।’ अत्यधिक गर्मी बढेपछि जेठ २६ देखि ३१ सम्मका लागि कैलालीको गोदावरी नगरपालिकाले पालिकाभित्रका सबै विद्यालयलाई गर्मी बिदा दिएको छ।

अत्यधिक गर्मीले विद्यार्थीलाई समस्या हुन थालेपछि नगरपालिकाभित्रका सबै विद्यालयलाई बिदा दिने निर्णय गरिएको गोदावरी नगरका मेयर वीरेन्द्र भट्टले बताए। उनले भने, ‘हाम्रो नगरपालिकाभित्रका अधिकांश विद्यालयका छाना कर्कटपाताले छाएका छन्, गर्मीको समयमा अत्यधिक गर्मी हुने हुँदा हामीले केही दिनका लागि विद्यालय बिदा दिएका छौं।’ यस्तै अत्यधिक गर्मीका कारण विद्यार्थी विद्यालयमा बेहोस हुन थालेको भन्दै कञ्चनपुरका स्थानीय तहले विद्यालय बन्द गराएका छन्।

अत्यधिक गर्मी बढ्न थालेको भन्दै भीमदत्त नगरपालिकाले जेठ २३ देखि २७ सम्म विद्यालय बन्द गराउने निर्णय गरेको थियो। यस्तै बेदकोट र बेलडाँडी गाउँपालिकाले पनि विद्यालय बन्द गराएका छन्। यस्तै अत्यधिक गर्मीका कारण भन्दै कञ्चनपुरको कृष्णपुर नगरपालिकाले पनि दुई दिन बिदा दिने निर्णय गरेको छ। हावापानी कार्यालय अत्तरियाको रेकर्डअनुसार गत वैशाख १३ का दिन अहिलेसम्मकै बढी ४० दशमलव ८ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो।

पछिल्ला दिनमा ४० डिग्री सेल्सियस आसपास तापक्रम पुगेको देखिएको छ। मंगलबार धनगढीको ३९ दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन भएको रेकर्ड छ भने बुधबार (आज) ३९ दशमलव ५ डिग्री सेल्सियस तापक्रम रहेको तथ्यांकले देखाएको छ। हावापानी कार्यालयको यो तथ्यांक हेर्दा सुदूर तराईमा गर्मीको मात्रा अत्यधिक रहेको मौसमविद्हरू बताउँछन् ।

प्रकाशित: २६ जेष्ठ २०७९ ०५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App