६ वैशाख २०८१ बिहीबार
समाज

दैनिक आठजनामाथि यौनजन्य दुर्व्यवहार

पछिल्लो केही समययता सामाजिक सञ्जाल तथा सामाजिक अभियन्ता वृत्तमा ‘मि–टु अभियान’ उत्कर्षमा छ। आठ वर्षअघि सौन्दर्य प्रतियोगिता आयोजकले पेयसँगै नसालु पदार्थ मिसाएर खुवाई आफूलाई बलात्कार गरेको घटना पीडित युवती स्वयंले करिब दुई साताअघि सार्वजनिक गरेकी थिइन्।

आफूलाई बलात्कार गर्ने व्यक्तिले नग्न तस्बिर खिचेको र त्यसै आधारमा ‘ब्ल्याकमेल’ गरेर ६ महिनासम्म बलात्कार गरेको आरोप पीडित युवतीले लगाएकी थिइन्। यही घटनासँगै पछिल्लो समय ‘मि–टु अभियान’ उत्कर्षमा पुगेको हो।

यो अभियान यस्तै सनसनीपूर्ण यौन हिंसा तथा दुव्र्यवहारका घटना सार्वजनिक हुँदा मात्रै चर्चामा आउँछ, देशव्यापी माहोल तात्छ, फेरि उसैगरी सेलाउँछ। तर अभियान जस्तोसुकै ढंगले चलिरहे पनि यौनजन्य हिंसा र दुव्र्यवहारका घटनामा भने कुनै कमी आएको छैन। बरु निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।

नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुव्र्यवहारका घटना भएको देखिन्छ। यो तथ्यांकलाई औसत दरमा हेर्दा महिनामा झन्डै देशभरमा २ सय ४० र दैनिक ८ वटा यस्ता घटना प्रहरीकहाँ दर्ता भएको देखिन्छ। यो तथ्यांकमा यौनजन्य हिंसा र दुव्र्यवहारमा पनि बलात्कारको हिस्सा अत्यधिक छ। तथ्यांकअनुसार यो संख्याको झन्डै ७० प्रतिशत हिस्सा बलात्कारले लिन्छ।

यौनजन्य हिंसाको बढ्दो ग्राफ  

प्रहरीकहाँ दर्ता भएका जाहेरीको तथ्यांक हेर्दा यौन हिंसा तथा दुव्र्यवहारका घटनाको ग्राफ बर्सेनि उकालो लागेको देखिन्छ। प्रहरीले नेपालका प्रचलित कानुनअनुसारका विभिन्न आठ प्रकारले ती घटनाको विवरण राखेको छ। जसमा जबर्जस्ती करणी, जबर्जस्ती करणी र हत्या, मानव बेचबिखन तथा जबर्जस्ती करणी, अपहरण तथा जबर्जस्ती करणी, बालविवाह गरी जबर्जस्ती करणी पर्छन्। यसबाहेक जबर्जस्ती करणी उद्योग, बालयौन दुराचार/दुव्र्यवहार र अप्राकृतिक मैथुन यौन हिंसा तथा दुव्र्यवहारजन्य भनी प्रहरीले वर्गीकरण गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा बलात्कारका १ हजार १ सय ३१ र बलात्कार प्रयासका ५ सय ३६ घटना दर्ता भएका थिए। यस्तै आव २०७४/७५ मा बलात्कारका १ हजार ५ सय १४ वटा घटना दर्ता भएकोमा जबर्जस्ती करणीका १ हजार ४ सय ८०, मानव बेचबिखन तथा जबर्जस्ती करणीका १०, अपहरण तथा जबर्जस्ती करणीका २४ वटा थिए।

सोही आर्थिक वर्षमा जबर्जस्ती करणी उद्योग (बलात्कार प्रयास) का ७ सय २७ घटना दर्ता भएको तथ्यांकले देखाउँछ भने अप्राकृतिक मैथुनका २३ वटा जाहेरी दर्ता भएको देखिन्छ। कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि हत्या भएको आर्थिक वर्ष २०७५/७६ मा भने यौनजन्य हिंसाका घटना दर्ता हुने दर ह्वात्तै बढेको तथ्यांकले देखाएको छ। सो वर्षमा निर्मलाजस्तै ११ जनाको बलात्कारपछि हत्या भएको तथ्यांकले देखाउँछ।

सोही आर्थिक वर्षमा बलात्कारका २ हजार ३ सय ६ वटा घटना प्रहरीमा दर्ता हुन आएका छन्। ती घटनालाई मुद्दाको वर्गीकरणअनुसार हेर्दा जबर्जस्ती करणीका २ हजार २ सय ३०, जबर्जस्ती करणीपछि हत्याका ११, मानव बेचबिखन तथा जबर्जस्ती करणीका १५, अपहरण तथा जबर्जस्ती करणीका ४७ र बालविवाह गरी जबर्जस्ती करणीका तीनवटा घटना छन्। यस्तै यौन हिंसाका अन्य घटनामा जबर्जस्ती करणी उद्योगका ७ सय ८६, बालयौन दुराचार/दुव्र्यवहारका २ सय ११ र अप्राकृतिक मैथुनका २४ घटना प्रहरीमा दर्ता हुन आएको तथ्यांकले देखाएको छ।

सोही वर्षजस्तै अर्को आर्थिक वर्ष २०७६/७७ मा पनि घटनाको ग्राफ झन्डै दोहोरियो। सो आर्थिक वर्षमा जबर्जस्ती करणीका २ हजार १ सय ४४, जबर्जस्ती करणी गरी हत्याका दुई, मानव बेचबिखन तथा जबर्जस्ती करणीको एक र अपहरण तथा जबर्जस्ती करणीका ३४ मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्ष २०७७/७८ मा भने यो ग्राफ झनै उकालो लागेको छ। जसमा २ हजार ६ सय १३ जना बलात्कृत भएको जाहेरी पर्दा थप १ हजार ५३ अन्य यौन हिंसाका सिकार भएका घटनाका जाहेरी परेका छन्।

बलात्कारका घटनामा जबर्जस्ती करणीका २ हजार ५ सय ३२, जबर्जस्ती करणीपछि हत्याका चार, मानव बेचबिखन तथा जबर्जस्ती करणीका १० र अपहरण तथा जबर्जस्ती करणीका ६७ वटा जाहेरी दर्ता भएका छन्। यस्तै सोही आर्थिक वर्षमा जबर्जस्ती करणी उद्योगका ७ सय ३६, बालयौन दुराचार/दुव्र्यवहारका २ सय ८१ र अप्राकृतिक मैथुनका ३६ वटा जाहेरी प्रहरीमा दर्ता भएका छन्।

चालु आर्थिक वर्ष २०७८/७९ का नौ महिनाको तथ्यांक हेर्दा पनि यौनजन्य अपराधका घटनाको ग्राफमा कुनै कमी आएको देखिँदैन। चैत मसान्तसम्मको तथ्यांकअनुसार जबर्जस्ती करणीका १ हजार ६ सय ७७, जबर्जस्ती करणीपछि हत्याका आठ, मानव बेचबिखन तथा जबर्जस्ती करणीका १६, अपहरण गरी जबर्जस्ती करणीका ४५ र बालविवाह गरी जबर्जस्ती करणीको एकवटा जाहेरी प्रहरीमा दर्ता भएका छन्।

पीडितमा ६४ प्रतिशत बालिका!

प्रहरीमा दर्ता हुन आउने यौनजन्य हिंसा र दुव्र्यवहारका घटनामा झन्डै ६४ प्रतिशत हिस्सा १८ वर्षमुनिका बालिकाको हुने तथ्यांकले देखाएको छ। उमेरगत हिसाबमा प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तीन आर्थिक वर्षको तथ्यांक हेर्दा यस्तो तथ्यांक फेला परेको छ। उपलब्ध तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ को तथ्यांक हेर्दा प्रहरीकहाँ पुगेका १० हजार ८० यौनजन्य हिंसाका पीडितहरूमा ६ हजार ३ सय ४१ जना १८ वर्षमुनिका छन् भने ३ हजार ६ सय ६० त्योभन्दा माथि उमेर समूहका छन्।

यो तथ्यांकमा पनि बलात्कृत नै हुनेको संख्या बढी छ। १० हजार ८० जना पीडितमध्ये झन्डै ७० प्रतिशत अर्थात ६ हजार ९ सय ७४ जना बलाकृत भएकाहरू छन्। जसमा ४ हजार ४ सय ८० बालिका र २ हजार ४ सय ९४ जना १८ वर्षमाथिका छन्।

पीडक ८० प्रतिशत चिनजानकै

प्रहरीको चार आर्थिक वर्षको तथ्यांक हेर्दा झन्डै ८० प्रतिशत अभियुक्त चिनजानकै व्यक्ति नै हुने देखिन्छ। प्रहरीको आँकडाअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७७÷७८ सम्म चार आर्थिक वर्षमा यौनजन्य हिंसाका घटनामा अभियुक्त देखिएका कुल १३ हजार ६ सय ८३ जनामध्ये १० हजार ९ सय १९ जना चिनजानकै व्यक्ति भएको तथ्यांकले देखाउँछ। बाँकी २० प्रतिशत अर्थात २ हजार ७६४ अपरिचित व्यक्ति रहेको देखिन्छ।

परिचित व्यक्तिहरूमा पनि ४९ प्रतिशत सामान्य चिनजानको व्यक्ति आपराधिक कर्ममा संलग्न रहेको देखिएको छ। जसको संख्या ५ हजार ३३१ छ। यस्तै चिनजानकै अभियुक्त मध्ये ३९ प्रतिशत छिमेकी छन्। जसको संख्या ४ हजार २ सय ९८ रहेको छ। यस्तै परिचितहरू अभियुक्तहरूको संख्यामध्ये २० प्रतिशत आफन्त तथा पारिवारिक नाताकैे व्यक्ति छन्। जसको संख्या २ हजार १ सय ८८ रहेको छ। यस्तै चार वर्षको कुल अभियुक्त संख्यामध्ये १ सय ३६ जना शिक्षक र ६० जना पारपाचुके भइसकेका पतिसमेत छन्।

प्रकाशित: २० जेष्ठ २०७९ ००:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App