८ वैशाख २०८१ शनिबार
समाज

‘ब्याड टच’ कि ‘ब्याड टाइमिङ’

पहिलो दिनदेखि नै नेपाली सिने इतिहासमा रेकर्ड कायम गरिरहेको ‘कबड्डी–४ द फाइनल म्याच’को चर्चाले आइतबारबाट अर्कै स्वरूप लियो। सो चलचित्रकी अभिनेत्री मिरुना मगरले आफूमाथि ‘ब्याड टच’(दुव्र्यवहार)को आरोप लगाउँदै एक युवालाई प्रहरीबाट पक्राउ गराइन्।

सोमबार ती युवकमाथि महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिइन्। प्रहरीले प्रारम्भिक अनुसन्धान गरेर ‘अभद्र व्यवहार’को मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा पेस गर्‍यो। आरोपित ती युवा मुगुम कार्मारोङ गाउँपालिका–२ घर भएका २४ वर्षीय फुर्पा तामाङ!  

घटना आइतबार दिउँसो २ बजेतिरहेको रहेको बताइएको छ। सुन्धारास्थित सिभिल मलमा रहेको फिल्म हलमा अभिनेत्री मगर पुगेकी थिइन्। चलचित्रको प्रर्दशनी सकिएपछि मगरसँगै दर्शकहरूको भीड सातौं तलामा रहेको कफी सपतर्फ केन्द्रित भएका थिए। जहाँ अभिनेत्री मगरसँगै सेल्फी खिच्नेहरूको लाम लागेको थियो।

त्यहीक्रममा आफूमाथि दुव्र्यवहार गरेको भन्दै अभिनेत्री मगरले तामाङलाई थप्पड लगाएकी थिइन्। त्यसपछि उनले माफी मगाएकी थिइन्। यो कुराको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ। त्यत्तिले चित्त नबुझेपछि उनले प्रहरीलाई बोलाएर पक्राउ गराएकी हुन्।

आरोपित युवा फुर्पा बौद्ध भिक्षु थिए। उनले भिक्षुकै पहिरन लगाएका थिए। सार्वजनिक भएको भिडियोमा ती युवाले दुव्र्यवहार गरेको तस्बिर भने देखिएको छैन।

मगर भन्छिन् ‘ब्याड टच’

घटनापछि अभिनेत्री मगरले फुर्पाले आफ्नो पिठ्युमा ‘ब्याड टच’(गलत तरिकाले छोएको) बताएकी छन्। पटक–पटक छुने र चिमोट्ने गरेपछि मात्रै प्रतिकार गरेको बताएकी छन्। उनले एक अन्तर्वार्तामा भनेकी छन्, ‘एकचोटि भयो, म अलिकति सरें। फेरि दोस्रोपटक अलि बढी भयो। त्यो पनि होइन होला नै सोचें। अनि फेरि तेस्रोपटकमा चाहिँ अलि साह्रै पक्रेर ‘पिन्च’ नै गरेर समात्यो ।’ त्यसपछि आफूले केही नसोची थप्पड हानेको उनले बताएकी छन्।

थप्पड हानेपछि देख्दा भिक्षुको भेषमा देखेको उनले बताएकी छन्। आफै बुद्धिष्ट भएकाले त्यसपछि झन् रिस उठेको उनले बताएकी छन्। त्यसपछि आफूले सबैअघि माफी मगाउँदा पनि हाँसिरहेको देखेपछि भने प्रहरीलाई बोलाएर पक्राएको उनले बताएकी छन्।

तर, फुर्पाले भने आफूले गलत सोचका साथ नछोएको दाबी गरेको बुद्धिष्ट संघसंस्थाका नेताहरूले बताएका छन्। नेपाल तामाङ घेदुङ संघका केन्द्रीय अध्यक्ष मोहन गोलेले घटना सुनेपछि आफू गएर फुर्पालाई भेटी जानकारी लिएको बताए। उनले भने, ‘सुरूमा मानसिक रूपमा कमजोर मान्छे हो कि भन्ने लागेको थियो। गएर भेट्दा त्यसो रहेनछ। घटना अञ्जानमा घटेको रहेछ ।’ उनका अनुसार फुर्पा मुगूबाट १२ वर्षअघि काठमाडौं आएका हुन्। उनी फर्पिङको एउटा गुम्बामा त्यति बेलादेखि नै बौद्ध शिक्षा लिइरहेका छन्। उनी त्यहाँका ‘श्रामणेर’(भिक्षुभन्दा तल्लो पद) मा आबद्ध छन्।

‘दयाहाङ राईको फ्यान रहेछन्। छुट्टीको दिन रहेकाले फिल्म हेर्न गएका रहेछन्,’ अध्यक्ष गोलेले भने, ‘फिल्म हेरिसकेपछि मिरुनासँग सबैले फोटो खिचिरहेका रहेछन्। त्यो देखेपछि उनले पनि फोटो खिच्न चाहेका रहेछन्। फोटो खिच्न चाहँदा नै घटना भएछ।’

त्यसक्रममा फुर्पाले सबैले आग्रह गरेजस्तै पिठ्यूमा हात लगाएर सेल्फीका लागि आग्रह गरेको आफूलाई बताएको अध्यक्ष गोलेले बताए। उनका अनुसार दुईपल्ट थप्थप्याउँदा एकपल्ट फुर्पासँग मिरुनाले फोटो खिच्न भ्याएकी थिइन्। ‘तर हल्लिएकाले त्यो राम्रो नआएपछि फेरि आग्रह गर्न गएको रहेछ,’ अध्यक्ष गोलेले भने, ‘त्यसैबीचमा पछाडिबाट हुलले धकेलेपछि हुत्तिएर संवेदनशील अंगमा हात गएको रहेछ ।’ त्यही दुर्घटना हुँदा ‘ब्याड टाइमिङ’ले संवेदनशील अंग समात्न पुग्दा घटना यत्रो भएको देखिएको अध्यक्ष गोलेले बताए।

त्यसपछि अभिनेत्री मगरले थप्पड हानेर माफी मगाइसकेर पनि पक्राउ गराइदिएका कारण समस्या आएको उनले बताए। ‘एक ढंगले नसियत गरिसकेको थियो। उजुर गर्नुहुँदैनथ्यो,’ उनले भने।

आन्दोलनले मोडियो मुद्दा

बौद्ध भिक्षु पक्राउ परेपछि बुद्धिष्ट संघसंस्थाहरूको ध्यानाकृष्ट भयो। उनीहरूले सोमबारदेखि घटनाको जानकारी लिन सुरू गरे। उनीहरूका अनुसार फुर्पा ‘सोझो’ र बौद्ध भिक्षु रहेकाले त्यस्तो अपराध कर्म गर्ने किसिमका होइनन्।

त्यसपछि उनीहरूले फुर्पा छुटाउने कोसिस गर्न थाले। यसैक्रममा सामाजिक सञ्जालमा पनि सोझो बौद्ध भिक्षुमाथि झूठो आरोप लगाएर फसाउन थालिएको भन्दै अभिनेत्री मगरमाथि नै टीकाटिप्पणी हुन थाल्यो। मंगलबार बिहानबाट चाबहिलस्थित केएल टावरमा रहेको एफक्युब सिनेमा हलबाहिर फुर्पाको रिहाइको माग गर्दै नाराबाजी नै हुन थाल्यो। आक्रोशित युवाहरूले चर्चा बटुलिरहेको फिल्म कबड्डी–४ को पोस्टर नै जलाएर प्रदर्शन गरेका थिए। त्यसपछि १२ बजेबाट सो हलमा फिल्मको प्रदर्शनी नै रोकियो।

यस्तै आन्दोलनरत समूहले फुर्पाको रिहाइ र अभिनेत्री मगरले माफी माग्नुपर्ने मागसहित सबै हलमा कबड्डी–४ को प्रदर्शन रोक्न चलचित्र बोर्डमा उजुरीसमेत दिएका थिए।

यसरी बौद्ध धर्मावलम्बीहरू नै चर्चामा रहेको फिल्मको विपक्षमा जानसक्ने खतरा देखिएपछि फिल्मको व्यवस्थापन समूह पनि हच्कियो। त्यसपछि दुवै समूह सहमतिका लागि बसेका थिए।

यसैबीचमा धार्मिक साम्प्रादायिकता भड्किने खतरा बढेपछि जिल्ला प्रशासनमा पेस भएको मुद्दामा प्रशासनले मंगलबार दिउँसो ३ हजार धरौटीमा फुर्पालाई रिहाइ गरेको थियो। त्यसअघि सोमबार भने प्रशासनले उनलाई चारदिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो। आन्दोलनको दबाबले रिहाइ भएपछि फुर्पासहित छलफल भएको थियो। जसमा दुवै पक्षले सहमति गरेका छन्। जसमा फुर्पाले गल्ती स्वीकारेर माफी मागेको र अभिनेत्री मगरले भाइ सम्झेर माफी दिएको कुरा उल्लेख छ।

साथै अभिनेत्री मगरले ‘घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना’ गरेकी छन्। यस्तै यो विषयमा अगाडि विवाद नगर्ने र अनावश्यक टीकाटिप्पणी नगर्ने पनि सहमति गरेका छन्। सहमति गर्दा कबड्डी–४ को निर्माता/निर्देशक समूह र बौद्धिष्ट संघसंस्था प्रतिनिधिहरू साक्षी बसेका छन्।

उता जिल्ला प्रशासनमा जारी रहेको मुद्दा भने यथावत रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज निरौलाले बताए। उनले भने, ‘कहाँ के सहमति भयो, थाहा छैन। हाम्रो अनुसन्धान र मुद्दा चलिरहेकै छ। प्रशासनले तत्काल आरोपितलाई धरौटीमा रिहा गरेको छ।’

प्रकाशित: १८ जेष्ठ २०७९ ०१:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App