गएको बिहीबार धरान ५ स्थित सेउती खोला बगरमा हत्या गरिएको अवस्थामा भेटिएका धरान ११ का सन्दिप लम्जेलको हत्याको आरोपमा दुई नाबालक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जेठ १२ गते (बिहीबार) करिब साढे ५ बजे सन्दिपको लाश बगरमा भेटिएको थियो। अनुसन्धानको क्रममा प्रहरीले उनको हत्या आरोपमा धनकुटाको साँगुरीगढी ८ घर भई बगरकोटस्थित भेटघाट सेकुवा कर्नरमा कार्यरत १७ वर्षीय नाबालकलाई पक्राउ गरेको छ। यस्तै, धरान १५ बगरबोटका १३ वर्षीय नाबालक पनि उक्त घटनामा संलग्न रहेको र उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।
भेटघाट सेकुवा कर्नरमा कार्यरत नाबालकलाई मृतकले फोन गरेर शारीरिक सम्बन्ध राख्ने केटी खोज्न निर्देशन दिँदै धम्की र गालीगलौज गरेका थिए। सोही विषयलाई रिसिइबी लिएर उनले होटलको २ थान छुरी बोकेर केटी भेटाउने भन्दै मृतकलाई सेउती खोला बगरतिर लगेर गएको अनुसन्धानबाट खुलेको छ। सेउती खोलाको पश्चिम भागसम्म पुगेपछि मोटरसाइकल रोक्न लगाएर अर्का नाबालकसमेत मिलेर दुवैले सन्दिपको हत्या गरेको ईलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले जानकारी दिए।
प्रहरीका अनुसार मृतकको पेट, ढाढ, कुम, घाँटीको अगाडि भागमा निरन्तर छुरा प्रहार गरिएको थियो भने घाँटीको पछाडि गर्धनको भागमा समेत छुराले रेटेर हत्या गरिएको पाइएको छ। उनको मृत्यु पश्चात अनुहार, टाउको पनि ढुंगाले किच्याएर शव घोप्टो पारेर छोडेको प्रहरीको भनाइ छ।
दुवै जना नाबालक भएकोले उनीहरुको परिचय प्रहरीले गोप्य राखेको छ भने सोमबार सुनसरी जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको पनि सुनसरी प्रहरीले जानकारी दिएको छ। धरान ११ विष्णुचोकका सन्दिप परिवारका एक्ला छोरा थिए। उनी बुबाको निर्माण व्यवसायलाई ट्याक्टर चलाएर सहयोग गर्ने गरेका थिए। बुधबार बेलुका करिब सवा ७ बजे हिँडेका सन्दिपको लाश भोलिपल्ट बिहान सेउती बगरमा भेटिएको थियो।
प्रकाशित: १७ जेष्ठ २०७९ ११:१७ मंगलबार