coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

महानगर कार्यालयमुनि ढल पोखरी, निकासका लागि बालेनको प्रतीक्षा

काठमाडौं महानगरपालिका कार्यालय रहेको जेडिए कम्प्लेक्सको जलमग्न पार्किङ।

काठमाडौं महानगरपालिकाको कार्यालय सुनधारास्थित ऐतिहासिक बागदरबारमा छ। बागदरबार २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि हाल जीर्णोद्धार कार्य चलिरहेको छ।

यसकारण महानगरपालिकाका दैनिक कार्यालय चलाउन समस्या भएपछि बागदरबारको बगलमै रहेको जेडिए कम्प्लेक्सका पाँचौं र छैटौं तला भाडामा लिएर केही शाखा सञ्चालन गरिएका छन्। त्यहीं मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष पनि छ।

बहुउद्देश्यीय निजी भवन रहेको जेडिए कम्प्लेक्समुनि (अन्डरग्राउन्ड) पार्किङको व्यवस्था पनि छ। तर त्यहाँ गाडी पार्किङ कम, ढल निकास नभएर डुबान बढी छ। केही दिनयता लगातार वर्षा हुन थालेपछि त्यहाँ न्युरोडदेखि सुनधारा आसपासको ढलको पानीले निकास नपाएर पोखरी बनेको छ। यसमा वर्षाको पानी मात्र छैन, सेफ्टी ट्यांकीको ढलसमेत मिसिएको छ।

यसले पुरै क्षेत्र डुङ्डुङ्ती गन्हाइरहेको छ। जेडिए कम्प्लेक्ससँगै चाइना टाउन सपिङ सेन्टर पनि छ, जसको पार्किङ क्षेत्रको हविगत पनि उस्तै छ। त्यहाँ सञ्चालित केही पसलसमेत डुबानमा छन्। स्थानीयका अनुसार यो समस्या यसपटकको मात्र होइन, तीन वर्षदेखि यसैगरी ढलको पानी निकास नपाएर पोखरी बन्दै आएको छ। यसले महानगरका कर्मचारीलाई नै गिज्याइरहेको छ।

महानगरको कार्यालयमुनिको यही ढलले निकासका लागि नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) पर्खिरहेको छ। यसअघिका मेयर विद्यासुन्दर शाक्यले आफ्नै कार्यालयको अन्डरग्राउन्डमा ढल पोखरी बन्ने समस्या समाधान नगरी कार्यकाल गुजारेको स्थानीयको आरोप छ। ‘पुराना मेयरलाई त पहिले भेट्नै मुस्किल भयो। पहिलोपल्ट भेट्दा समस्या समाधान गर्छु भन्नुभयो’, चाइना टाउन व्यापार संघकी कोषाध्यक्ष सीता भट्टराईले भनिन्, ‘चुनाव आसपास टिकट नपाएपछि भेट्न जाँदा मैले त्यो समस्या देखेकै छैन भनेर उहाँले भन्नुभयो।’

तीन वर्षसम्म मेयर, उपमेयर, वडाध्यक्ष, सहरी विकास मन्त्रालयका पदाधिकारीकहाँ धाउँदा पनि कुनै ठाउँबाट समस्या समाधान नभएको भट्टराईको गुनासो छ। समस्या समाधानको अन्तिम भरोसा नवनिर्वाचित मेयर साहमा रहेको उनले बताइन्। उनले भनिन्, ‘केही गर्नुहुन्छ कि भनेर सबैले उहाँलाई भोट हालेका छौं। हेरौं, उहाँले आफ्नै कार्यालयमुनिको समस्या कसरी बुझ्नुहुन्छ र समाधान गर्नुहुन्छ ?’

पार्किङ यसरी बन्यो ढल पोखरी

न्युरोडदेखि सुनधारा आसपास क्षेत्रको ढल बागदरबार क्षेत्र भएर बग्ने राणाकालीन १६ फिटे राजकुलो छ, जुन चाइना टाउन सपिङ सेन्टरको भवन र जेडिए कम्प्लेक्सको ‘अन्डरग्राउन्ड’ भएर केन्द्रीय कारागार हुँदै टेकुसम्म पुग्छ। यो राजकुलो परम्परागत शैलीमा इटाद्वारा निर्माण गरिएको संरचना हो।

यसैमाथि कारागारले प्रहरी क्यान्टिन, नुहाउने धारा, ट्यांकीलगायतका संरचना बनाएपछि ढल बग्ने कुलो भासिएर तीन वर्षदेखि अवरुद्ध हुन पुगेको छ। ढल पानी जेडिए कम्प्लेक्स र चाइना टाउनको अन्डरग्राउन्ड पार्किङ क्षेत्रमा जम्मा हुन्छ।

‘निकासको बाटो बन्द भएपछि सबैभन्दा गहिरो ठाउँ यहीं भएकाले ढल पानी जम्मा हुन्छ’, चाइना टाउन कबलधनी संघका अध्यक्ष निर्मल श्रेष्ठ भन्छन्, ‘बर्खामा त थामिनसक्नु ढल पानी जम्मा हुन्छ, जुन धेरै दिनसम्म तलाउका रूपमा रहिरहन्छ। अरू समय मोटर चलाएर सुख्खा पार्ने प्रयत्न गर्छौं।’ यसपटक प्रि-मनसुन सुरु भएको र दिनहुँ पानी पर्न थालेपछि ढल जम्मा हुन थालेको छ।

व्यवसायीका दुःख !

रसुवा धुन्चेकी चिवाङ्मा लामाले ४ वर्षअघि चाइना टाउन पार्किङ क्षेत्रमा बनेको टहरोमा ७ लाख रुपैयाँ लगानी गरेर चिया पसल किनिन्। उनले एक वर्ष ठीकठाक हिसाबले पसल चलाइन्। दोस्रो वर्ष भने उनलाई आपत् आइलाग्यो। बर्खामा उनको पसल ढलमय हुन थाल्यो।

‘वर्षमा ६ महिना पनि राम्ररी पसल चलाउन पाउन्नँ’, उनले दुखेसो गरिन्, ‘कमाएको सबै रकम यसै पसलमा हालें। अर्कालाई बेचेर असुल गरुँ डुबान हुने ठाउँमा कसले किन्ने ? भाडा तिर्नै हम्मेहम्मे छ।’ उनले ७ हजार मासिक भाडा तिर्दै आएकी छन्। आफ्नो लगानी बचाइराख्न पनि अन्यत्र ज्यालामजदुरी गरेर भाडा तिरिरहेको उनले बताइन्। ‘कुनै दिन समस्या समाधान होला र मेरो लगानी जोगिएला भन्ने आशा छ’, उनले भनिन्। चाइना टाउन विशेषगरी भारतीय पर्यटक बढी आउने बजार हो।

यहाँ २४५ वटा व्यापारिक फर्म छन्, जहाँ दैनिक हजारौं भारतीय पर्यटक बस रिजर्भ गरेर आउँछन्, सामान किनेर फर्कन्छन् तर पार्किङ स्थल नै ढलमय हुन थालेपछि उनीहरूले आफ्नो ट्र्याक बदल्न थालेको व्यवसायीको गुनासो छ। ‘अहिले पनि ८४ हजार भारतीय टुरिस्ट काठमाडौं आएका अरे। पहिले भए अधिकांश यहाँ आउँथे’, चाइना टाउन व्यापार संघकी कोषाध्यक्ष भट्टराईले भनिन्, ‘पार्किङ समस्याका कारण कमै मात्र यहाँ आए।’

वातावरण नै दुर्गन्धित

यसरी ढल पानी जम्मा हुन थालेपछि वातावरण नै दुर्गन्धित बनेको छ। ‘बागबजार, न्युरोड, सुनधाराबाट बगेर आउने ढल यहीं आएर पोखरीमा परिणत हुन्छ। सेफ्टी ट्यांकीसहितको ढल जम्मा भएपछि वातावरण त पुरै दुर्गन्धित हुने नै भयो’, चाइना टाउन कबलधनी संघका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘विभिन्न रोग फैलिने खतरा बढेको छ।’

स्थानीय व्यवसायी तीन वर्षदेखि यो समस्या समाधानका लागि महानगरपालिका कार्यालय, मेयर/उपमेयर, वडाध्यक्ष, संघीय विभाग तथा मन्त्रालयका पदाधिकारीकहाँ धाउँदाधाउँदा थाकेका छन्। अब उनीहरूको एकल आशाको त्यान्द्रो भनेको नवनिर्वाचित मेयर बालेन हुन पुगेका छन्। फोहोरमैला व्यवस्थापन विषयमा प्रखर आवाज उठाएर चुनाव जितेका उनले आफ्नै कार्यालयमुनिको समस्या समाधानमा विशेष चासो राख्ने अपेक्षा गरिएको छ।

दोहोरिएर निर्वाचन जितेका काठमाडौं महानगरपालिका ११ का अध्यक्ष हीरालाल तण्डुकारले यो समस्या समाधानका लागि पहिलेदेखि प्रयास गर्दागर्दै पनि नसकिएको बताए। ‘पुरानो रुटमा कारागारबाट अवरोध भयो, छेउमै नयाँ रुट बनाउन खोज्दा स्थानीयले काम गर्न दिएनन्’, वडाध्यक्ष तन्डुकारले भने, ‘यसरी समस्या जटिल बन्यो।’

ढल निकास हुने राजकुलोमाथि प्रहरीले संरचना बनाइदिँदा यो समस्या आइलागेको उनले बताए। उनले भने, ‘कारागारका जेलर र प्रहरीले सहजीकरण नगरिदिने, उनीहरूले बनाएका संरचना सजिलै हटाउन नमिल्ने जस्ता तमाम कारणले समस्या जटिल भयो।’ ती संरचनाबारे सुरक्षा परिषद्बाटै निर्णय गराउनुपर्ने अवस्था देखिएको उनले बताए। ‘यसका लागि गृह मन्त्रालयसँग पनि समन्वय गरिरहेका छौं’, उनले भने।

वडाध्यक्ष तन्डुकार अर्को कोणबाट पनि समस्याको दीर्घकालीन समाधानका लागि पहल गरिरहेको बताउँछन्। ‘राजधानीको ढलबारे अध्ययन गरिरहेका छौं। यसैमा पनि जहाँ पहिले ढल लगेर छाड्ने गरिएको थियो, त्यो जमिन नै प्लटिङ गरेर घर बनाउने काममा प्रयोग भइसकेको रहेछ’, उनले भने, ‘यस्तो समस्या जहींतहीं छ। दिगो समाधानका लागि महानगरपालिकाबाट काम गर्न मेरो प्रस्ताव रहन्छ।’ समस्या समाधानका लागि नवनिर्वाचित मेयर बालेनकै कदमको पर्खाइमा स्थानीय छन्।

प्रकाशित: १५ जेष्ठ २०७९ ०६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App