६ वैशाख २०८१ बिहीबार
समाज

हारमा पनि जनतासँग मेल राख्ने मेघा

वैसाख ३० गतेको स्थानीय निर्वाचनमा गठनबन्धनको तर्फबाट जितपुर सिमरा उपमहानगरपालिकाको उपमेयरकी उम्मेदवार मेघा शाही नेपाली काँग्रेसको तर्फबाट चुनावी प्रतिस्पर्धामा मैदानमा उत्रेकी थिइन्। यस क्षेत्रमा मेयर भने गठबन्धनले नै जित्यो तर उपमेयरमा भने एमाले तर्फका भोला अधिकारीले उनी भन्दा एक हजार ६ सय ५० मत ल्याएर विजयी भए।

तर मेघा हारपछि पनि जनताको घरघरमा पुगिन्। हारपछि पनि जनता माझ पुग्नुको उनको एउटै उद्देश्य छ, मतदानको कदर गर्दै धन्यवाद ज्ञापन गर्नु। धन्यवाद ज्ञापन गर्न दिनहुँ जनताको घरदैलोमा पुगिरहेको देखेर उनको कामको जोकोहीले पनि प्रशंसा गरिरहेको छ।  

३१ वर्षीया मेघाले जनताको मतको कदर गर्दै जितपुरमा रहेको २४ वटै वडामा पुगेर धन्यवाद ज्ञापन गर्ने निर्णय गरी आफू हालसम्म ७ वटा वडाका जनतालाई भेटेर धन्यवाद ज्ञापन गरिसकेकी छिन्। ‘अब बाँकी रहेका वडाहरुमा निरन्तर पुगेर धन्यवाद दिन्छु,’ मेघाले सोमबार नागरिकसँग कुरा गर्दै भनिन्, ‘जनताले मलाई मत त दिएकै हुन् नि। मतदाता शिक्षा नपुगेर पो गठबन्धनका उपमेयरको म एक्लो उम्मेदवार भए पनि १२ हजार ५ सय ३१ मत हसिया हथौडा र रुख दुबैमा हालेर बदर भयो। यी सबैले मलाई रुचाएर मत त दिएकै हुन्।’ उनले थपिन्, ‘पद पो पाइन मत त पाएकी हुँ। त्यही भएर जनताले मलाई विश्वास गरी दिएको मतको कदर गर्दै मैले हारे पनि जनतासँग मेल राख्नु पर्छ भनि बुझेर धन्यवाद दिन घरघरमा पुगीरहेको छु।’

उनी हारे पनि आफू जनताकै साथमा रहेको र उनीहरुलाई जति बेला आवश्यक परे आफू साथमै उभिने प्रतिबद्धता समेत गरेकी छिन्।

मेघाले पराजित भएपछि ठाउँकै ठाउँ आफ्नो प्रतिस्पर्धी विजेता उपमेयर भोला अधिकारीलाई समेत टिका, माला र खादा ओढाएर बधाई दिएर मतगणना स्थलबाट बाहिरएको दृश्यलाई समेत सबैले प्रशंसा गरेका छन्।

सामाजिक संजाल फेसबुकमा उनको कार्यको प्रशंसा गर्दै मोहन बासतोलाले हारमा पनि जनतासँग मेल खोज्ने मेघाहरु जस्ता युवाहरु आफूलाई मन पर्ने उल्लेख गरेका छन्।

‘मेघा नेपाली कांग्रेसकी नेतृ हुन्। गठनबन्धन तर्फकी उपमेयरको उम्मेदवार उनी एमालेको उम्मेदवारबाट पराजित भइन्। तर हार्दाहार्दै पनि अहिले मेघाले मतदाताहरुलाई टोलटोल र नगरनगरमा पुगेर आभार तथा धन्यवाद ज्ञापन गरिरहेकी छिन्,’ मोहनले सामाजिक संजालमा मेघाको कार्यको फोटो पोस्ट्याँदै थप लेख्छन्, ‘राजनीति जित्दाको भेल मात्र होइन हार्दाको मेल पनि हो।’

मेघाले सामाजिक संजालमा पोष्ट्याएको हारपछिको मतदातालाई धन्यवाद ज्ञापनको दृश्यमा पनि उनको यस्ता सकारात्मक सोचसहितको कार्य देखेर धेरैले महान कार्य, प्रशंसनीय कार्य, बधाईलगाएत थुप्रै सकारात्मक प्रतिक्रिया दिएका छन्।

‘हारेपछि म धन्यवाद ज्ञापन गर्न मतदाताको घरदैलोमा पुग्दा मतदातासमेत भावुक बन्नु भएको मैले महसुस गरेँ,’ मेघाले नागरिकसँग अनुभव साटिन्, ‘अब म प्रत्येक दिन दुई वटा वडामा पुग्छु। पाँच वर्षपछि म फेरि उम्मेदवार हौला वा नहौला तर आज मलाई विश्वास गरेर मतदान गर्ने मतदाताहरुको मतको कदर मैले गर्नुपर्छ लागेर जनतासमक्ष गएकी हुँ।’

उनी हारेपछि निर्णायक पदमा नपुगेपनि नगरभित्रको शिक्षा, स्वास्थ्य, विकासलगायतका कार्यमा जनतासाथ रहेर पदाधिकारीलाई काम गराउन पहल गर्ने दबाब दिने कार्यमा सधै सहभागी रहने जनाइन्।

प्रकाशित: १२ जेष्ठ २०७९ ०८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App