२० असार २०७९ सोमबार
समाज

दक्षिण एसियामा गर्मी झनै बढ्ने संकेत

भारत र पाकिस्तानमा पछिल्ला महिनामा भएको चर्को गर्मी जलवायु परिवर्तनले उत्प्रेरित गरेको र यसले भविष्यमा झनै गर्मी बढ्ने संकेत देखाएको वैज्ञानिकले बताएका छन्।

दुई दिनअघि सोमबार सार्वजनिक एक अन्तर्राष्ट्रिय अध्ययनले मानवजन्य कारणले भएको तापमान वृद्धि र जलवायु परिवर्तनले तातो हावा चल्ने सम्भावनालाई ३० प्रतिशतले बढाएको देखाएको छ।

‘वल्र्ड वेदर एट्रिब्युसन ग्रुप’ ले गरेको मौसमी तथ्यांकअनुसार ठुलो भौगोलिक क्षेत्रमा यसअघि उखरमाउलो स्तरमा तातो हावा शताब्दीको एकपटक आउने गरेको थियो भने अब यो उपक्रममा तीव्रता आउने देखिएको छ। ‘औेद्योगिक क्रान्ति हुनुअघिको तुलनामा विश्व तापमान २ डिग्री सेन्टिग्रेड बढेको थियो। यसप्रकारको तातोहावाको लहर शताब्दीमा दुईदेखि हरेक पाँच वर्षमा एकपटक आउन सक्ने देखिएको छ,’ अध्ययनमा सहभागी मुम्बईस्थित इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीका जलवायु वैज्ञानिक अर्पिता मण्डल भन्छिन्, ‘यो भविष्यमा हुन सक्ने थप गर्मीको  पूर्वसंकेत हो।’  

तर यो अध्ययनले देखाएको नतिजा हालै बेलायतको मौसम विभागले गरेको अध्ययनभन्दा कम चिन्ताजनक छ। बेलायतको मौसम विभागको अध्ययनले जलवायुजन्य कारणले तातो हावाको लहर आउने सम्भावना सय गुणाले बढेको र यो हरेक तीन वर्षमा आउन सक्ने देखाएको थियो।

‘वल्र्ड वेदर एट्रिब्युसन ग्रुप’ ले गरेको समीक्षाले जलवायु परिवर्तनले तातो हावाको लहर आउने अवधि र भौगोलिक क्षेत्रलाई बढी जोड दिएको छ। ‘जलवायु परिवर्तनले वास्तवमै कति प्रभाव पारेको छ भन्नेमा हाम्रो र बेलायती अध्ययन दुवैले गरेको आकलनबीचको नतिजा सही हुन सक्छ,’ अध्ययनमा सहभागी इम्पेरियल कलेज अफ लन्डनका जलवायु वैज्ञानिक फ्रेडरिक ओटोले भने।

तर यो प्रसंगमा निश्चित देखिएको तथ्य के हो भने तातो हावाका कारण भारत र पाकिस्तानका कैयन् सहरमा विगत केही सातामा तापक्रम लगातार ४५ डिग्री सेन्टिग्रेडभन्दा माथि उक्लेको छ। पाकिस्तानको जाकोवाबाद र दादुमा तापक्रम ५० डिग्री सेन्टिग्रेड पुगेको छ भने यो महिना भारतीय राजधानी नयाँ दिल्लीको तापक्रम ४९ डिग्री सेन्टिग्रेडसम्म पुगेको छ।

सन् १९०१ देखि तापक्रमको अभिलेख राख्न थालिएको भारतमा गत मार्चमा हालसम्मकै सर्वाधिक तापक्रम रेकर्ड भएको छ। पाकिस्तान र भारतका केही स्थानमा गत अप्रिल सबैभन्दा गर्मी महिना रह्यो। व्यापक गर्मीका कारण अन्य नकारात्मक प्रभाव पनि देखिएका छन्।

उदाहरणका लागि पाकिस्तानको एक हिमनदी विस्फोट हुँदा ठुलो बाढी आयो भने समयअगावै देखिएको उखरमाउलो गर्मीले भारतमा गहुँ उत्पादनमा नराम्ररी प्रभाव पारेको छ। भारतले गहुँको निर्यातमा बन्देज लगाएको छ, जसका कारण युक्रेन युद्धका कारण गहुँको अभाव बेहोरेका कतिपय देशमा समस्या झन् बल्झिएको छ। यसैगरी चर्काे गर्मीका कारण बिजुलीको माग बढ्दा भारतमा कोइलाको अभाव सिर्जना भएको छ।

यसैगरी उखरमाउलो गर्मीले मानवीय स्वास्थ्यमा पनि प्रतिकूल प्रभाव पारेको छ। भारत र पाकिस्तानमा यो वर्ष गर्मीले ९० जनाको ज्यान लिएको छ। तर दुवै देशमा मृत्युको तथ्यांक सही हिसाबले संकलन नहुने हुँदा मृतकको संख्या झन् बढी हुन सक्ने देखिएको छ। दक्षिण एसिया तातो हावाको सबैभन्दा बढी जोखिममा रहेको कोलम्बिया विश्वविद्यालयको अध्ययनले पनि देखाएको छ। अत्यधिक गर्मीमा बाँच्न बाध्य विश्वको कुल जनसंख्याको एक तिहाइ हिस्सा भारतमा छ।

बढ्दो तातो हावाको कहरलाई सम्बोधन गर्न यसले सिर्जना गर्ने हानिकारक प्रभावसँग अनुकूलन हुन तत्काल पहल गर्नुपर्ने विज्ञको सुझाव छ। बालबालिका र प्रौढलाई यसले अत्यधिक प्रभाव पार्छ भने निरपेक्ष गरिबीको रेखामुनि रहेका जनसंख्या पनि उत्तिकै प्रभावित हुने देखिएको छ।

फोहोरमैला टिप्ने काम गर्दै आएका नयाँ दिल्लीका ४२ वर्षीय रहमान अली एक दिनमा ३ अमेरिकी डलरभन्दा कम आय गर्छन्। सुकुमबासी बस्तीमा टिनको छानामुनि बस्दै आएका रहमानसँग गर्मीसँग जुध्ने उपाय सीमित छन्। ‘हामी के गर्न सक्छौं र? मैले काम गरिन भने मेरो परिवारले खाना खान पाउँदैन,’ दुई बच्चाका पिता रहमान भन्छन्।

त्यसो त केही भारतका केही सहरमा गर्मीबाट बच्न केही प्रयास पनि थालिएको छ। अहमदाबादमा त्यहाँ बस्ने ८४ लाख जनतालाई जोगाउन सन् २०१३ मा एक विशेष योजना ल्याइएको थियो। यो योजनाअन्तर्गत पूर्वसूचना प्रणाली स्थापना, सर्वसाधारणलाई तयार रहन जानकारी, छहारीमा बस्न पार्क खुला राख्ने र विद्यालय खुल्ने समय परिवर्तन गर्नेजस्ता प्रावधान छन्।

यसैगरी सूर्यको किरण परावर्तन गर्ने छाना राख्दा गर्मीबाट बच्न सकिन्छ भन्नेमा पनि विशेष ध्यान दिने गरिएको छ। घरभित्रका भित्तामा सेतो पेन्टिङ र सुकेको घाँस राख्दा तातोबाट बच्न सकिने अहमदाबादका जनताको अनुभव छ।  

उखरमाउलो गर्मीबाट बच्न अधिकांश भारतीय सहर तयार नभएको पृष्ठभूमिमा केन्द्र सरकारले विभिन्न १ सय ३० सहरसँग मिलेर यस प्रकारका योजना तर्जुमा र कार्यान्वयनमा सहयोग गरेको छ। यसैगरी संकट सम्बोधन गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण पनि दिन थालिएको छ। अनिरुद्ध घोसाल

प्रकाशित: १२ जेष्ठ २०७९ ०६:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App