coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पाण्डेविरुद्ध यौन शोषणको अर्को पनि आरोप

मोडल ग्लोब भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे दुईदिनदेखि प्रहरी थुनामा छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शनिबार उनलाई स्वयम्भुबाट पक्राउ गरेको थियो।

उनी पक्राउ परेको दुईदिन बित्दा पनि उनीमाथि कुन मुद्दा चलाएर अनुसन्धान गर्ने भन्ने विषयमा प्रहरी अन्योलमा छ। उनीमाथि आइतबारसम्म प्रहरीमा लिखित जाहेरी परेको छैन। जाहेरी नै नपरेकाले कुन मुद्दामा अनुसन्धान गर्ने भनेर अझै निर्णयमा पुगिनसकेको प्रहरीस्रोत बताउँछ।

‘अझै जाहेरी परेको छैन। सम्भवतः भोलि (सोमबार) महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी पर्ला,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयस्रोतले भन्यो, ‘त्यसपछि त्यहाँबाट हाम्रो कार्यालयमा आउँछ। त्यसमा आएको सूचनाका आधारमा मुद्दा प्रक्रिया र अनुसन्धान कार्य अगाडि बढाउँछौं।’

आरोप लगाउने युवतीले श्रव्य सामग्रीमा बोलिएका कुरालाई सूचनाको स्रोतका रूपमा प्रयोग गर्ने/नगर्ने विषयमा पनि परामर्श भइरहेको प्रहरीस्रोत बताउँछ। ‘मूल स्रोत जाहेरी नै हुन्छ। त्यसपछि त्यसमा कति सूचनाहरू आउँछन्, भिडियोमा आएका सूचनाहरू कति समेटिन्छन्? त्यो पनि हेर्छौ,’ स्रोतले भन्यो।

प्रहरी अझै पनि कुन मुद्दा चलाउने र अनुसन्धान गर्ने विषयमा अन्योलमै छ। त्यसका लागि आवश्यक परामर्शको काम पनि भइरहेको प्रहरीस्रोत बताउँछ। मानव बेचबिखन तथा ओसारपसार र बलात्कारमध्ये कुन मुद्दा चलाउने भन्ने निष्कर्षमा प्रहरी पुगिसकेको छैन। प्रहरीस्रोत भन्छ, ‘कानुनी हदम्यादलगायतका कारण जबरजस्ती करणीको मुद्दा कति सम्भव हुन्छ? त्यसमा छलफल गरिरहेका छौं। अहिलेसम्मको अवस्थामा मानव बेचबिखनमा अनुसन्धान गर्ने कि भन्ने अवस्थामा पुगेका छौं।’

अहिलेसम्मका विज्ञका परामर्शबाट मानव बेचबिखन तथा ओसारपसारअन्तर्गतको कसुरमा मुद्दा अगाडि बढाउने सुझावहरू बढी आएकाले प्रहरीले त्यतातर्फ सोच अगाडि बढाएको प्रहरी स्रोतले जनाएको छ।

यो मुद्दामा अगाडि बढे ‘मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४’ ऐनको दफा ४ (२) आकर्षित हुन्छ। जसमा ‘कसैको शोषण गर्ने उद्देश्यले कुनै प्रकारले ललाइफकाई गरी, प्रलोभनमा पारी, झुक्याई, जालसाज गरी, प्रपञ्च मिलाई, जबरजस्ती गरी, करकापमा पारी, अपहरण गरी, शरीर बन्धक राखी, नाजुक स्थितिको फाइदा लिई, बेहोस पारी, पद वा शक्तिको दुरूपयोग गरी, डर, त्रास, धाक, धम्की दिई वा करकापमा पारी कसैलाई बसिरहेको घर, स्थान वा व्यक्तिबाट छुटाई लग्ने वा आफूसँग राख्ने वा आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजाने’ कार्य मानव ओसारपसार गरेको मानिने उल्लेख छ।

यो कानुनमा कुनै हदम्याद कायम गरिएको छैन। उता बलात्कार कसुरको सन्दर्भमा ‘मुलुकी फौजदारी अपराध संहिता’ आकर्षित हुन्छ। बलात्कार कसुरको उजुरीको हदम्याद एक वर्षसम्म मात्रै रहेको तथा १८ वर्षभन्दा मुनिकाको केसमा १८ वर्ष पूरा भएको मितिले एक वर्षसम्म उजुरी गरिसक्नु पर्ने कानुनी प्रावधान छ। तर घटना ८ वर्षअघिको रहेको र हाल युवती १८ वर्ष उमेर पूरा भइसकेकाले उनलाई यो कसुरमा मुद्दा चल्न सक्ने आधार बन्द भएको जानकारहरू बताउँछन्।

ती युवतीले आरोपित पाण्डेसमेतको सहभागितामा सन् २०१४ मा आयोजित मिस ग्लोबल इन्टरनेसनल नामक सौन्दर्य प्रतियोगिता आफू सहभागी भएको जनाएकी छन्। जुन कार्यक्रम सकिएपछि ‘सक्सेस पार्टी’ गर्ने भन्दै पाण्डेले काठमाडौँको एभरेस्ट होटेलमा आफूलाई बोलाएर झुक्याएर बेहोस हुने पदार्थ खुवाई पहिलोपल्ट बलात्कार गरेको आरोप लगाएकी छन्। त्यसैक्रममा आफ्नो नग्न तस्बिर लिएर ब्ल्याकमेल गरेर ६ महिनासम्म यौनशोषण गरेको जनाएकी छन्।

सोही आरोपसहितको श्रव्य सामग्री बाहिरिएपछि ‘मिटू’को विषयमा चर्को आवाज उठिरहेको छ। जुन कुरा प्रतिनिधिसभामा पनि उठेपछि शनिबार प्रहरीले पाण्डेलाई पक्राउ गरेको थियो। त्यसअघि सरकारले शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरको संयोजकत्वमा कार्यालयकै प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का सदस्य रहेको छानविन समिति बनाएको छ।

अर्की नाबालिका पनि प्रहरीमा  

आरोपित पाण्डेबाट यौन दुव्र्यवहार भएको भन्दै अर्की नाबालिका पनि आइतबार प्रहरीकहाँ पुगेकी छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कोइरालाका अनुसार ती नाबालिकाको उमेर अहिले १८ वर्षभन्दा कम छ।

उनी आफ्नो साथीलाई लिएर दिउँसो काठमाडौं प्रहरी परिसर पुगेकी थिइन्। उनले त्यहाँ मौखिक रूपमा आफ्नो पीडा सुनाएपछि महिला सेल पठाइएको प्रहरीस्रोतले जनाएको छ।

उनले पनि सोमबारै लिखित जाहेरी दिनसक्ने प्रहरीले जनाएको छ। उनी हाल नाबालिका नै रहेकाले बलात्कार मुद्दामा भने कुनै हदम्याद नलाग्ने देखिएको छ।

प्रकाशित: ९ जेष्ठ २०७९ ०१:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App