६ वैशाख २०८१ बिहीबार
समाज

कैदीको मृत्युपछि खुल्यो कर्मचारीले गरेको गल्तीको पोल

विजय विक्रम शाहको नाममा सजाय काट्ने क्रममा कारागारमा मृत फेला परेका सुन्दर हरिजन (चमार)। मृत्यु भएपछि शोकमा डुबेका परिवार र आफन्त। तस्बिर: अर्जुन/नागरिक

नेपालगन्ज–२ स्थित दैलेखी बंगालाका सुन्दर हरिजन (चमार)को रोल्पा कारागारमा केही दिन अघि ‘शंकास्पद’ मृत्यु भयो। कारागारको रेकर्डमा भने उनको नाम विजय विक्रम शाह देखियो।  

कर्मचारीले मृत्युबारे खबर गरेपछि परिवारका सदस्यहरु अलमलमा परे। रोल्पा पुगेर परिवारले शवको पहिचान गरेपछि मात्र मृतक ब्यक्ति सुन्दर नै भएको पुष्टी भयो। विजय विक्रमको नाममा परिवारले सुन्दरको शव बुझेर नेपालगन्ज ल्याए। मृतकको शव अहिले नेपालगन्जमा छ, तर परिवारले दाहसंस्कार गर्न मानेका छैनन्। परिवारले कारागारभित्र सुन्दरको सट्टा विजय विक्रम कसरी लेखियो भनेर चासो राखेपछि घटना रहस्यमय बनेको छ।

चोरी र ‘नकदजनी’ चोरी मुद्दामा सुन्दरले जेल सजाय पाएका थिए। परिवारका अनुसार उनी १६ वर्षको छँदा प्रहरीले चोरीको अभियोगमा पक्राउ गरी नाबालकमाथी मुद्दा चलाएको थियो। त्यसपछि बाँके जिल्ला अदालतले सुन्दरमाथी एउटा मुद्दामा १ वर्ष कैद र १० हजार जरिवाना तथा अर्कोमा ३ महिना कैद र ५० हजार जरिवानाको फैसला गर्यो।  

अदालतको फैसला अनुसार उनी जरिवाना बुझाएमा २०७७ पुस २३ गते जेल मुक्तहुने थिए। कारागार प्रशासनका अनुसार जरिवाना बुझाउन नसकेपनि उनी २०७८ असार १० गते जेलमुक्त हुने निश्चित थियो। तर, उनी छुट्ने समय आउनु भन्दा करिव डेढ महिना अघि अर्थात् २०७७ मंसिर ८ गते उनको अचानक रोल्पा कारागार सरुवा गरियो।  

त्यतिबेला नेपालगन्ज कारागार प्रशासनले सुन्दर र विजय विक्रमसहित ५ जनालाई रोल्पा सरुवा गर्यो। तर, रोल्पा कारागार प्रशासनले सुन्दरलाई जेलमै राखेर उनको नाममा विजय विक्रमलाई छाडेको रहस्य बाहिर आएको छ। कारागारमा सजाय काट्न बाँकी रहेका विजय विक्रम सुन्दरको नाममा छुटे। विजय विक्रमको नाममा सजाय काटिरहेका सुन्दर पाँच दिनअघि रोल्पा कारागारको शौचालयभित्र झुण्डिएको अवस्थामा फेला परेपछि घटनाले नयाँ मोड लिएको हो।  

मृतकका परिवारले कर्मचारीको मिलेमतोमा सुन्दरलाई अर्काको नाममा जेलमा राख्ने काम गरेको र मृत्यु हुनुमा पनि कसैको संलग्नता रहेको आरोप लगाएका छन्। मृतकका दाई राजकुमारले भाईको मृत्यु भएको र कारागारका कर्मचारीले विजय विक्रमलाई कागजी रुपले जवरजस्ती आफ्नो भाई बनाउन खोजेको बताए। ‘मलाई कारागारका कर्मचारीले तिम्रो भाई विजय विक्रमशाहको मृत्यु भएको छ, शव लिन आउ भनेर फोन गरेपछि म छांगाबाट खसेझै भए,’ उनले नागरिकसँग भने, ‘मैले मेरो भाईको नाम विजयविक्रम होईन भनेपछि कर्मचारीले मृतकको फोटो देखाए र त्यसपछि मृतक मेरो भाई भएको पुष्टी भयो।’

कारागार प्रशासनका अनुसार विजय विक्रम अहिले कारागार बाहिर छन्। कर्मचारीले गरेको बद्मासी अहिले सुन्दरको मृत्यु भएपछि खुल्दा रोल्पा र नेपालगन्ज कारागारमा खैला बैला मच्चिएको छ।  

कारागार ब्यवस्थापन विभागले निर्देशक झरेन्द्र चापागाईको संयोजकत्व छानविन समिति बनाइसकेको छ। छानविनका लागि संयोजक चापागाई नेपालगन्ज आइपुगेका छन्। ‘हाम्रो सिस्टम भनेको कैदीलाई जेलमा राख्ने हो, तोकिएको सजाय बाहेक कसैलाई एक दिनपनि राख्न कानुनले दिँदैन,’ उनले भने, ‘तर यो घटनामा एउटाको सजाय अर्कोले पाएको देखियो, के कति कारणले यस्तो भयो, कहाँ निर कस्ले गल्ती गर्यो, त्यसको छानविन हुन्छ।’

सुन्दरको सरुवा गर्ने नेपालगन्ज कारागारका तत्कालिन जेलर देवेन्द्र श्रेष्ठ र सुन्दरको नाममा विजय विक्रमलाई जेलमुक्त गर्ने रोल्पा कारागारका कमला घिमिरेको अन्यत्र सरुवा भइसकेको छ। नेपालगन्ज कारागारका जेलर रामकुमार सोनकरले आफू जिम्मेवारीमा आउनुभन्दा अगाडीको घटनाक्रम भएकाले यसबारेमा सबै कुराको जानकारी आफूलाई नभएको बताए। कारागारमा रहेका कैदी सुन्दर हरिजन, विजय विक्रम शाहसहित ५ जनाको २०७७ मंसिर ८ गते नेपालन्जबाट रोल्पा सरुवा भएको देखिएको जानकारी दिए। ‘त्यतिबेला पाँच जना कैदीको सरुवा भएको अभिलेखमा देखिन्छ,’ उनले भने।  

रोल्पाका रागारका जेलर विशाल खनालले धेरै कैदी बसेको ठाउँमा यस्ता घटना हुनु सामान्य कुरा भएको प्रतिक्रिया दिए। ‘कैदी सुन्दर हरिजनलाई कारागारभित्रको शौचालयमा झुण्डिएको अवस्थामा फेला पारेका हौं,’ उनले टेलिफोनमा भने, ‘एउटाको नाममा अर्कोले सजाय पाउनुमा डाटा इन्ट्रीका क्रममा मिस्टेक भएको हुन सक्छ।’ कारागार भित्र यस्ता घटना भइरहने खनालले बताए। घटनाको सत्य तथ्य छानविन नहुँदासम्म र दोषीलाई कारबाही नहुँदासम्म शवको अन्त्येष्टी नगर्ने मृतकका परिवार तथा आफन्तले बताएका छन्।

मृतकको शव नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा राखिएको छ।

प्रकाशित: ८ जेष्ठ २०७९ १५:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App