६ वैशाख २०८१ बिहीबार
समाज

विजयी भोजमा गएका प्रेम दर्जि मृत भेटिए

कालिकोटकाे रास्कोट नगरपालिका वडा नम्बर ८ का ४४ वर्षीय प्रेम दर्जि शनिबार मृत अवस्थामा भेटिएका छन्। हालै स्थानीय तहको निर्वाचनमा नगरपालिकाको उपप्रमुखमा विजयी भएका मनिराज बरालको घर पाटेडीलमा शुक्रबार बिहान भोज खान गएका थिए। मृतक दर्जि दिनभर विजयी भोजमा रमाएको भएपनि साँझ आफ्नो घर फर्कन पाएनन्। दर्जिको लागि विजयी भोज नभएर मृत्यु भोज भएको छ।

शनिबार साँझ ६ बजे तिर पाटेडीलको पानिगौंडाको छेडा कुलामा दर्जिको शव भेटिएको छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। रास्कोट इलाका प्रहरी र सदरमुकाम मान्मबाट आएको प्रहरी टोलीले घटनाको अवलोकन गरि आइतबार बिहान घटनास्थलको मुचुल्का गर्दै रास्कोट सामुदायिक अस्पतालमा पोष्टमार्टम गरेको छ। शवको पोष्टमार्टम गरेपछि दाहसंस्कार गरिएको पारिवारिक श्रोतले जनाएको छ।

मृतक दर्जिकी श्रीमती बाटुल्लि दर्जिले आफ्नो श्रीमान जेठ ६ गते राति १० बजेसम्म मोबाइल सम्पर्कमा भएपनि राति १२ बजे मोबाइलमा फोन गर्दा बिरानो आवाज सुनिएको र त्यसपछि सम्पर्क हुन नसकेको बताईन्। पारिवारिक श्रोतका अनुसार घटना रहस्यमय भएको र अनुसन्धान गरिनुपर्ने माग छ। मृतक दर्जिसँग रातिसम्म सँगै भएका केशव दर्जिले भने,  ‘राति ८/९ बजे उपप्रमुखको घरमा विजयी भोजको खुसियाली मनाएर आ–आफ्नो घर जान हिँडेका थियौं, पानिगौंडाको जगदीश न्यौपानेको पसलमा रक्सी छकि भनेर सोध्न आएका थियौं, तर रक्सी नभेटिएपछि आ–आफ्नो घर जाने भनेर छुटियौं त्यसपछि के भयो थाहा भएन।’

मृतक दर्जिको साथमा रहेको ९७४२९६०९१९ नम्बरको मोबाइल समेत भेटिएको छैन। मृतकको निधारमा गहिरो घाउ परि रगत बगेको र बायाँ तिरको अनुहारको हड्डी भित्र दबेको छ। मृतकको शव कुलामा लडेर खसेको जस्तो पनि नदेखिएको स्थानीयको भनाइ छ। घटनास्थल नजिकै रहेको पसलका ब्यापारी जगदीश न्यौपानेका अनुसार मृत अवस्थामा भेटिएका प्रेम दर्जि सँगै केशव दर्जि र हर्क दर्जि राति १० बजे आफ्नो पसलमा रक्सी खोजेर आएको र छैन भनेपछि फर्किएका थिए।

न्यौपानेले भने, ‘७ गतेको बिहान र दिउँसोसम्म केही पनि थाहा भएन, आफ्नो पसलबाट साझ ६ बजेतिर बच्चाले लोहोटा खसालेर तल झरेपछि आफू लोहोटा लिन जादा शव देखे र आकाशबाट खसे जस्तै भए, अनि मदन बराललाई खबर गरे मृतक दर्जिको बसोवास वडा नम्बर ८ को लाउका भन्ने ठाउँमा रहेको छ। उनका ४ छोरा, २ छोरी, श्रीमती र आमा गरि ८ जनाको परिवार रहेको छ।

प्रहरीले भने घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिएको बताएको छ भने हालसम्म पक्राउ कसैलाई नगरेको प्रहरी कार्यालय कालिकोटले जनाएको छ। विजयी भोजमा गएका दर्जि केही समय पहिलादेखि छारे रोगका बिरामी समेत रहेको परिवारको भनाइ छ।

प्रकाशित: ८ जेष्ठ २०७९ १५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App