coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बलात्कृत युवतीलाई न्यायका लागि उदयपुरमा प्रदर्शन

आठ वर्षअघि बलात्कृत भएकी पीडित महिलालाई न्याय दिनुपर्ने माग गर्दै उदयपुरमा प्रदर्शन भएको छ। सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत युवतीलाई न्याय दिनुपर्ने माग गर्दै सदरमुकाम गाईघाटमा आइतबार विरोध प्रदर्शन भएको हो।  

उदयपुरका युवाहरुको अगुवाईमा भएको प्रदर्शनमा महिला पुनर्स्थापना केन्द्र (ओरेक) उदयपुर, महिला सशक्तिकरण स्रोत केन्द्र, महिला मानव अधिकार रक्षक सञ्जाल र स्थानीय अधिकारकर्मीको सहभागिता थियो। पीडितलाई न्याय दिलाउनका लागि राज्यलाई दबाब दिने उद्देश्यले आयोजित कार्यक्रममा मानव अधिकारकर्मी तथा महिला अधिकारकर्मीले कार्यक्रममा एक्यबद्धता जनाएका थिए।  

अगुवा युवाहरु रञ्जना मगर र सीताराम राउतलगायतको नेतृत्वमा भएको दबाब मुलक प्रदर्शनमा बिभिन्न राजनीतिक दलनिकट युवा तथा स्वतन्त्र नागरिक अगुवाहरुले सहभागिता रहेको अधिकारकर्मी तथा रेडियोकर्मी अप्सरा समालले बताईन्। कार्यक्रममा दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने भन्दै युवाहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनको हदम्याद व्यवस्था हटाउनुपर्ने, सुन्दरी प्रतियोगिता खारेज गर्न, पीडितलाई न्याय दिलाउन माग गरेका थिए।  

अन्यायका विरुद्ध सम्पूर्ण युवाहरु एक जुट हुन माग गर्दै उनीहरुले, न्यायालयप्रति खवरदारी गरेका थिए भने पीडकलाई कडा कार्बाही नभए आन्दोलन सशक्त रुपमा अघि बढाउने चेतावनी उनीहरुले दिएका थिए। आठ वर्षअघिको सुन्दरी प्रतियोगितामा सहभागी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले होटलमा बोलाएर बलात्कार गरेको र फोटो र भिडियो खिचेको भन्दै लामो समयसम्म यौन शोषण गरेको घटना स्वयंले सार्वजनिक गरेपछि अहिले यो घट्नाले देशव्यापी चर्चा पाईरहेको छ।  

सन् २०१४ मा भएको ‘मिस ग्लोबल इन्टरनेसनल’ प्रतियोगितामा सहभागी १६ वर्षीया किशोरीलाई आयोजकले होटलमा बोलाएर पहिलो पटक बलात्कार गरेको पीडितको कथन छ। उनले त्यहाँ खिचेको फोटो र भिडियो देखाउँदै निरन्तर ६ महिलासम्म पटकपटक ‘ब्ल्याकमेलिङ’ गरेर यौन शोषण गरेको पनि बताएकी थिइन्। सो घट्नाबारे गएको बुधबार सामाजिक सञ्जाल टिकटक र बिहीबार इन्स्टाग्रामबाट भिडियोमार्फत आफूमाथि भएको घटनाबारे खुलासा गरेपछि राज्यले पीडक मनोज पाण्डेलाई पक्राउ गरिसकेको छ।  

घट्नामा सहभागी पीडितलाई न्याय दिलाउन र पीडकलाई हदैसम्मको कारबाही गर्न राजधानीलगायत बिभिन्न ठाउँमा विरोध प्रदर्शन गर्ने क्रममा उदयपुरमा पनि युवा जमातले विरोध जनाएको हो।

प्रकाशित: ८ जेष्ठ २०७९ १४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App