१६ चैत्र २०८० शुक्रबार
समाज

वालिङ अर्खलबासमा जीप दुर्घटनाः एकै वडाका १४ को मृत्यु

ग्रामीण सडक र अत्याधिक भारले दुर्घटना निम्त्यायो

विहानैदेखि गाँउमा भोट हाल्ने चहलपहल थियो। नहोस पनि कसरी। पूर्वमन्त्री पद्मा अर्यालको माईती गाँउ पनि। स्याङजाको वालिङ नगरपालिका वडा नं १४ पञ्चमुल अर्खबास तिवारी पसलमा मतदान केन्द्र राखिएको थियो। तिवारी पसलमा वडा नं १४ को कार्यालयमा मतदान शुरु भईसकेको थियो। पूर्वमन्त्री पद्मा अर्यालको पनि मतदान केन्द्र थियो।

त्यही तिवारी पसलमा मतदान गर्न मतदाता लैजाने क्रममा जीप दुर्घटना हुदाँ एकै वडाका १४ जना सर्वसाधारणको मृत्यु भएको छ। स्याङजाको वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबासबाट तिवारी पसल जाँदै गरेको जीप दुर्घटना हुदाँ एकै वडाका १४ जनाको मृत्यु भएको हो। ग २ च ३०२६ नम्बरको जीप अर्खलबासको भित्री खडक खण्डमा दुर्घटनाग्रस्त हुन पुगेको हो। जीप अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार जीप विहान साढे १० बजे दुर्घटनामा परेको थियो। जीप दुर्घटनामा एउटै वडाका भएको समेत प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका १४ पञ्चमुल अर्खलबास बस्ने ६३ वर्षिया माया पुन, सोही ठाँउ बस्ने ९ वर्षिय प्रवीण कुँवर, ५० वर्षिय कुलदिप कुँवर, ५० वर्षिया डेमकुमारी कुवर, ८६ वर्षिया हरिकला कुँवर, ५० वर्षिया टेककवा कुँवर, २५ वर्षिया जमुना कुँवर, ७० वर्षिया भीमकला कुँवर, ७० वर्षिया मुवाकुमारी कुँवर, ४३ वर्षिया पोटकुमारी कुँवर, ४३ वर्षिया जानुका कुँवर, ४२ वर्षिया ज्ञानदली कुँवर ५० वर्षिया मिना कुँवर तथा उमेर नखुलेको फुलदेवी कुँवर रहेको प्रहरीले जनाएको छ। एउटै वडाका कुँवर परिवारको दुर्घटनामा भएको दुखद घटनाले पञ्चमुल स्तब्ध बनेको छ।

सबैजसो शुक्रबार स्थानीय तहको निर्वाचनमा मतदानको लागि गएको अनुमान गरिएको छ । प्रहरीले दुर्घटना लगत्तै उद्दार कार्य गर्दै घाईतेको उपचारको लागि पोखरा पठाएको थियो।

जीपमा २५ जना सवार थिए। अन्य ११ जना घाईते भएका छन्। घाईतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको लागि ल्याइएको छ। पञ्चमुल बस्ने वर्ष नखुलेको बेलमाया कुँवर, सवारी चालक भुलबहादुर कुँवर, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिष कुवँर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर र सीता कुँवर गम्भीर घाईते भएका छन्। पञ्चमुल अर्खलबास बस्ने ५५ वर्षिय नेत्रबहादुर कुँवरको अवस्था भने सामान्य रहेको र उनको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको प्रहरीले जनाएको छ। यही बैशाख ४ गते स्याङजाको वालिङ नगरपालिकामै जीप दुर्घटना भएको थियो।

जीप दुर्घटनाग्रस्त भएको ग्रामीण सडक हो। भौगोलिक दृष्टिले पनि विकट नै मानिन्छ । वालिङदेखि पर्वत जोड्ने ग्रामीण सडकको रुपमा रहेपनि स्तरोन्नति हुन सकेको थिएन्। ‘ग्रामीण सडक अनि क्षमता भन्दा बढी भारकै कारण जीप दुर्घटना भएको देखिन्छ।’ प्रवक्ता खनालले भने। उनका अनुसार जीपमा क्षमता बढी राखिएको र उकालोमा ब्रेक फेल हुदाँ अनियन्त्रित भई दुर्घटना भएको हो।

वालिङबाट पर्वत जाने दुई वटा बाटो छन्। भईरहेको माथिल्लो बाटोलाई स्तरोन्नति गर्नुपर्ने माग गाँउलेको थियो। तर माथिल्लो बाटो हुदाँ हुदै तल्लो क्षेत्रबाट बाटो खनियो। स्थानीय बासिन्दाका अनुसार माथिल्लो बाटो साँघुरो थियो। तल्लो क्षेत्रमा बाटो खनियो। तल्लो बाटो खन्न विरोध पनि भएको थियो। पूर्वमन्त्री अर्यालकै गाँउ भएकोले दुई वटा बाटो भएपछि बजेट पनि बाँडियो।

बजेट बाँडिदा दुवै बाटो उस्तै रहे। स्तरोन्नति हुन सकेन। बाटो जस्ताको तस्तै रहेको गुनासो गाँउको थियो। ‘बाटोको दुराबस्था र अत्याधिक भार भएकै कारण दुर्घटना हुन पुग्यो।’ स्थानीय एवं उद्दारकर्ता राजु डुम्रेले बताए।  दुर्घटनास्थल र मतदानस्थल झण्डै २५ मिनेटको दुरीमा पर्छ। जीप माथिल्लो बाटो खसेर तल्लो बाटोमा पुगेको थियो।

प्रकाशित: ३० वैशाख २०७९ १४:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App