१६ चैत्र २०८० शुक्रबार
समाज

स्थानीय तह निर्वाचन: केही ठाउँमा झडप, केहीमा पुनः मतदान हुने

कर्णालीमा स्थानीय तह निर्वाचनका क्रममा केही ठाउँमा झडप भएका छन् भने केहीमा पुनः मतदान हुने भएको छ। हुम्लाको चंखेली र अदानचुलीका दुई मतदान केन्द्रमा भएको झडपमा एक जना मतदान अधिकृतसहित आठ जना घाइते भएका थिए।

कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार चंखेली गाउँपालिका–२ को महादेव माविको मतदान केन्द्रमा झडप हुँदा मतदान अधिकृत कृष्णप्रसाद आचार्य, सहयोगी कावा रोकायसहित पाँच जना घाइते भएका हुन्। घाइते मध्ये रोकायलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत प्रदेश राजधानी वीरेन्द्रनगर ल्याइएको छ। उनको कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगरमा उपचार भइरहेको छ। प्रहरीले भीड नियन्त्रण गर्नका लागि आठ राउन्ड गोली चलाएको थियो।

‘एजेन्ट बस्ने विषयमा भएको विवादले उग्ररुप लियो,’ प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख राजेशनाथ बास्तोलाले भने, ‘सो क्रममा मतदान अधिकृतसहित पाँँच जना घाइते भए, भीड नियन्त्रण गर्न हवाई फायर गर्नुपर्‍यो।’

यस्तै हुम्लाकै अदानचुलीमा पनि झडप भएको छ। यहाँ तीन जना घाइते भएका छन्। अदानचुली–४ को कुकुरफाल्ना जलविद्युत आयोजनाको मतदान केन्द्रमा लाइनमा लाग्ने विषयमा झडप भएको थियो। ‘यहाँ पनि भीड नियन्त्रणमा लिन पाँच राउन्ड गोली चलाउनु पुर्‍यो,’ बास्तोलाले भने, ‘कर्णालीका अन्य ठाउँमा पनि छिटपुट झडपहरु भएका छन्।’

तीन ठाउँमा पुनः मतदान हुने

कर्णालीका तीन मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ। सुर्खेत, कालिकोट, जुम्ला र हुम्लाका एक–एक मतदान केन्द्रमा पुनः मतदान हुने भएको हो। सुर्खेतको सिम्ता गाउँपालिका–१ खनेटा मतदान केन्द्रमा मतदान अधिकृतले हस्ताक्षर नभएको मतपत्र वितरण गरेपछि विवाद भएको थियो।  

हस्ताक्षर नगरिएका केही मतपत्र मतपेटीकामा खसेपछि मात्रै राजनीतिक दलकातर्फबाट खटिएका प्रतिनिधिहरुले थाहा पाएका थिए। प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले हस्ताक्षर नगरिएका मतपत्र पाइएपछि निर्वाचन स्थगित गरिएको जानकारी दिए। ‘मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र मतदाताको हातमा पुगेपछि विवाद भएको थियो,’ प्रजिअ रिजालले भने, ‘सिम्ता–१ को मतदान पुनः गर्ने गरेर रद्द गरिएको छ।’ प्रजिअ रिजालका अनुसार निर्वाचन आयोगले दिने अर्को मितिमा सिम्ता वडा नं. १ मा मतदान हुनेछ।  

कालिकोटको रास्कोट नगरपालिका–४ मा पनि पुनः मतदान हुने भएको छ। यहाँ माओवादी केन्द्र र नेपाली कांग्रेसबीच विवाद हुँदा मतदान स्थगित गर्नु परेको हो। मतदान भइरहेका बेला स्थानीयले ढुंगामुढा गरेपछि यहाँको निर्वाचन स्थगित गरिएको हो। जिल्ला निर्वाचन अधिकृत लालकाजी श्रेष्ठका अनुसार चुनाव गराउने वातावरण नभएपछि रास्कोट–४ को निर्वाचन रद्द गरिएको हो। ‘जेठ १ गते निर्वाचन गर्ने गरेर सुचना टाँस गरिएको छ,’ उनले भने, ‘अन्य ठाउँमा छिटफूट घटनाबाहेक कालिकोटमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको छ।’ जुम्लाको गुठीचौर–३ मा पनि पुनः मतदान हुने भएको छ। गुठीचौर–३ को शंकर मावि गज्याङकोटमा नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच विवाद भएको थियो।  

दुई मतदाताको मृत्यु

निर्वाचन प्रक्रियामा सहभागी दुई मतदाताको कर्णालीमा मृत्यु भएको छ। रुकुमको बाफीकोट गाउँपालिका–७ मा कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेदवार यज्ञबहादुर बाठामगर चढेको गाडीले ठक्कर दिँदा स्थानीय ७० वर्षीय प्रविण खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। निमावि निर्वाह मतदान केन्द्रतर्फ जाँदै गरेका खत्रीलाई अध्यक्षका उम्मेदवार चढेको गाडीले ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै सुर्खेतको बराहताल गाउँपालिका–२ का लालबहादुर पुलामीको मतदान गरेर फर्कदै गर्दा रुखले च्यापिएर मृत्यु भएको छ। गिरीघाटस्थित बाढीपीडित शिविरमा बस्दै आएका पुलामी मतदानका लागि रानीघाट पुगेका थिए। ‘मतदान गरेर फर्कदैं गर्दा हावाहुरीसहित पानी आएपछि रानीघाटको जंगलमा ओत लाग्न बसेका बेला रुखले च्यापिएर उहाँको मृत्यु भयो,’ स्थानीय नरेन्द्र खत्रीले भने।

पानीले मतदान अवरुद्ध

मतदानकै क्रममा हावाहुरीसँगै पानी परेपछि सुर्खेत र दैलेखका केही मतदान केन्द्रहरुमा आधा घण्टादेखि एक घण्टासम्म मतदान प्रक्रिया स्थगित गर्नुपर्‍यो। दिउँसो आएको हावाहुरी र पानीले केही मतदानस्थल पोखरीमा परिणत भएका थिए। सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले हावाहुरी र पानीका कारण केही समय मतदान स्थगित गर्नुपरेको बताए। 

प्रकाशित: ३० वैशाख २०७९ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App