७ वैशाख २०८१ शुक्रबार
समाज

'जग्गाधनी पुर्जाको आशमा मतदान'

सुकमायाँ दर्जि २०२७ सालदेखि भरतपुर महानगरपालिका १४ स्थित शान्तिपुरमा आएकी छिन्। त्यस यत्ताका उनी प्रत्येक निर्वाचनमा सोही ठाउँबाट सहभागी हुन्छिन्। ७० वर्षीया दर्जि शुक्रबार पनि बिहानै शान्तिपुर प्रहरी स्कुलमा रहेको मतदान केन्द्रबाट मत दिएर निस्कँदै थिइन्।

साइफन खोलाको छेऊमा छाप्रो बनाएर बस्दै आएकी दर्जि उनको अपेक्षा जनप्रतिनिधिसंग गास र बासकै थियो। ‘७९ वर्षीय श्रीमान र म छौँ। दुवैले भोट हालिसक्यौँ। तर, हामीलाई कसैले हेर्ने होइन्,’ उनले मतदान केन्द्रबाट करिब ५सय मिटर पर हातले देखाउँदै भनिन्, ‘बुढाबुढी भइयो काम गरेर खान सकिँदैन। हामीलाई गास बासको व्यवस्था मिलाइयोस्।’

प्रचण्ड र उनको मतदान स्थल एउटै हो। सोही ठाउँको व्यक्ति दुई पटक प्रधानमन्त्री हुँदा उनीहरुको अवस्था व्यवस्थित बासमै अड्कीएको छ। अमन नगरकी ७५ वर्षकी पूर्णकुमारी परियारको समस्या पनि उस्तै छ। ऐलानी जग्गामा नै बस्दै आएकी छिन्।

प्रचण्डले पछि मत दिएर बाहिरिएकी पूर्णकुमारीले जग्गाधनी पुर्जाको आशमा छिन्। ‘आफूले रोजेको व्यक्तिलाई मत दिँदा त खुसी छु। आफूले हालेको व्यक्तिले जितोस भन्ने छ,’ उनले आफ्नो मत खिन्न पार्दै भनिन्, ‘जिताएर पठाएपनि आफू सुकुम्बासीको सुक्कुम्बासी हो क्यारे।’

शान्तिपुरका सुवास कोइरालाले स्थानीय तहको निर्वाचनमा दोस्रोपटक मतदान गरे। उनलाई आफ्नो टोल विकास भएको हेर्ने ठूलो धोको छ। आफूले चुनेको उम्मेदवारलाई काम लगाउन समेत सजिलो हुने भएकाले उनलाई भने उत्साहित समेत बनाएको छ।

‘निर्वाचन जनप्रतिनिधि छान्ने उत्साहको माहोल पनि हो। मतदान गरिसकेपछि आफूले चुनेको व्यक्तिले वडाको विकासको काम गर्न लगाउन सहयोग पुग्छ।’, उनले भने, ‘केन्द्रमा भन्दा पनि स्थानीय तहको निर्वाचनमा मतदान गर्न पाउँदा खुसी छु।’ २०७९को स्थानीय तहको निर्वाचनमा चितवनमा मतदाताको उत्साह जनक नै सहभागिता थियो। उत्साहजनक सहभागितासंगै उनीहरुमा विकासको अपेक्षा पनि उत्तिकै देखिन्थ्यो।

‘हामीलाई सडक, खानेपानी, सिँचाई लगायतको आवश्यक छ। जिताएर पठाएपछि गर्लान भन्ने छ,’ भरतपुरका ७९ बर्षिय दाहालले भने, ‘भरतपुरको विकास हुनुपर्‍यो।’ आगामी पाँच वर्षका निम्ति उनीहरुले उम्मेदवार छनोट गरेका छन्। तर, मतदान गर्ने समयमा भने, मतदाता अल्मिलिएका थिए। संघीय प्रदेश र स्थानीय तहमध्ये जनतासंग प्रत्यक्ष ठोकिने सरकार भनेकै स्थानीय तह हो।

त्यसैले उनिहरुसंग जनताको अपेक्षा बढी नै हुन्छ। वैशाखको चर्को घाममा लाइन लागेर मत दिएका जनप्रतिनिधिले सोही अपेक्षा अनुसार, पाँच वर्षभित्रमा गरेर देखाउनु पर्ने भरतपुरका शिव हमाल बताउँछन्। चितवनमा मतदाता संख्या तीन लाख १३ हजार ३ सय थियो।

त्यसमध्ये ७० देखि ७५ प्रतिशतको बीचमा मत खसेको जिल्ला निर्वाचन कार्यालय चितवनका कार्यालय प्रमुख भिमसेन कार्कीले जानकारी दिए। ‘कुनै केन्द्रमा ७५ प्रतिशत मत पनि खसिसकेको छ। केहीमा ७० प्रतिशतको हाराहारीमा पनि मत खसेको छ’, उनले भने। बेलुकासम्म पूरा विवरण आउँछ।’

उनका अनुसार जिल्लामा स्वच्छ एवम् मर्यादित रुपमा निर्वाचन समपन्न भएको छ। चितवनमा राजनीतिक सहमति जुटे बेलुकाबाट नै मतगणना सुरुहुने मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका प्रमुख प्रकाश अधिकारीले बताए।

‘मतपेटीका जम्मा गर्छौं। त्यसपछि राजनीतिक दल तथा उम्मेदवारहरुसंग बैठक बस्छौँ, उनले भने, ‘बैठकबाट जे निर्णय हुन्छ त्यही मान्छौँ।’ मतगणना गर्नका लागि चितवनका सबै पालिकामा सिसी टिभीसहित तारजालिको व्यवस्था गरिएको छ। चितवनमा १ सय ६१ मतदान स्थलमा ४सय ५१ मतदान केन्द्र थिए।

प्रकाशित: ३० वैशाख २०७९ १३:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App