coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

कोही पिठ्युँ चढेर, कोही बच्चा च्यापेर मतदान

छोराको पिठ्यु चढेर मतदान गर्न जाँदै धादिङ नीलकण्ठ नगरपालिका–८ का ८७ वर्षीय कृष्णमान श्रेष्ठ। र ९३ वर्षीय हजुरबुबा छविलाल श्रेष्ठलाई पिठ्युँमा बोकेर मतदान केन्द्रतर्फ झर्दै कृष्णमान श्रेष्ठ (नाती)। तस्बिर: शंकर/नागरिक

कपाल सेतै फुलेका छन्, गाला चाउरिसकेका छन्। तै पनि निर्वाचनको उल्लासले बृद्धबृद्धालाई टाढा हुन दिएन। भर्खरका सुत्केरीले पनि आफ्नो मताधिकार गुमाउन चाहेनन्। हिड्न नसक्ने बृद्धबृद्धा छोरानातीको पिठ्युँ चढेरै मतदान गर्न आइपुगे त सुत्केरीहरु शिशु छातिमा टाँसेरै मतदानमा सहभागी भए। यो दृष्य धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को रत्नदेवी आधारमुत विद्यालयको मतदान केन्द्रमा देखिएको हो।  

नीलकण्ठ नगरपालिका–८, रामकोटका छविलाल श्रेष्ठ नातीको पिठु्यँमा बढेर मतदान स्थल पुगे। उमेरले ९३ वर्ष पार गरेका छविलाल नातीको पिठ्युँ चढेरै मतदानमा सहभागी हुन पाउँदा खुसी पनि छन्। छविलाल भन्छन्–‘अर्काे साल के हो के, बाँचुन्जेल त आफुले चाहेको सही व्यक्तिलाई भोट हाल्नु पर्‍यो नी।’

एक्लै हिँडडुल गर्न नसक्ने भएपनि गाउँकै नाती पनि उम्मेदवार भएकोले नातीको पिठ्युँ चढेरै मतदान गर्न आएको प्रतिकृया दिए। ‘हजुरबुवाकै सल्लाहमा यसरी बोकेर मतदान केन्द्रसम्म ल्याएँ, हजुरबुबाले नै रोज्नुभएको चिन्हहरुमा छाप लगाएर गोप्य मतदान गरेको छु’, छविलालका नाती कृष्णमान श्रेष्ठले भने।

नीलकण्ठ नगरपालिका–८ कै सिमलघारीका कृष्णमान श्रेष्ठ पनि शुक्रबार छोराको पिठ्युँ चढेरै अप्ठ्यो ओरालो बाटो झर्दै थिए। अघिल्लो निर्वाचनहरुमा पैदल आफैँले मतदान गरेका ८७ वर्षीय कृष्णमानको भोट पनि छोराले नै हालिदिए।  

बुबाले चाहेको उम्मेदवार जिताउन बुबाकै सल्लाह अनुसारको चुनाव चिन्हमा स्वस्तिक छाप लगाइदिएको कृष्णमानका छोरा लक्ष्यबहादुरले बताए। मतदानबाट बञ्चित नहाऔं भन्ने पनि बुझेका रहेछन्। ‘पहिला पहिला पनि रेडियो टिभीले मतदान गरौं भनेको सुनेकै थिए, यस्पाली झनै मैले चिनेको मान्छे उठेको छ’, कृष्णमानले भने–‘त्यै भएर पनि सकिनसकी आए।’

नीलकण्ठ नगरपालिका वडा नम्बर ८ को रत्नदेवी आ.वि. मतदान स्थलमा छविलालले जस्तै पिठ्युँ चढेर आउने थुप्रै भेटिए। जो बाचुन्जेल मताधिकार प्रयोग गर्न चाहन्थे। ८९ वर्षीय मायादेवी श्रेष्ठ पनि तीनै मध्यकी हुन्। छोरा पूर्णलाल श्रेष्ठ र नातीहरुको हातमा झुण्डिएरै सकिनसकी उनी मतदान केन्द्र पुगेकी थिइन्।

विकासको आसले मतदान

गाउ नजिकै सडक पुर्‍याइदिने, घरघरमा खानेपानीको सुविधा दिने, विजुलीबत्तीले गाउ झलमल्ल बनाउने सपना बुन्दै आफ्ना नेता जिताउन आउनेहरुको पनि कमी भेटिएनन्। गजुरी गाउ“पालिका–२ की फुलमाया चेपाङ र विदबहादुर चेपाङको जोडीलाई गाँउमा बाह्रै महिना गाडी गुडिरहेको र झलमल्ल विजुलीबत्ती हेर्ने धोको रहेछ। नागरिकता अनुसार २०८७ सालमा जन्मिएका विदबहादुर भन्छन्,‘हामीले त पहिलो पटक भोट हालियो, अब त गाउँमा हामीले भनेजस्तै हुन्छ होला नी हैन त?’ ‘जसले जितेपनि हाम्रो गाउको विकास होस, हामीलाई सुखसुविधा होस्’, उनले थपे।

देश संघिय संरचनामा गइसकेपछि दोस्रो पटक भएको स्थानीय तह निर्वाचनमा मतदाताहरु कुशल नेतृत्वको खोजीमा रहेका छन्। भोट हाल्दै मतदाताहरु जनताको भावना बुझ्ने, पढेलेखेको, युवालाई साथमा लिएर हिड्नसक्ने नेता पालिकाको नेतृत्वमा आउनुपर्ने बताउ“छन्। पहिलो पटक मतदान गरेका मतदाता पनि सक्षम नेतृत्वको खोजीमा छन्। उनीहरु आफ्नो ठा“उको लागि आफै जनप्रतिनिधि छान्न पाउने कुराले निकै उत्साहित भएर मतदान गर्न आएको बताउँछन्। ‘उज्यालो नहुँदै घरबाट आएर लाइनमा बसेर मतदान गरियो’, पहिलो पटक मतदान गरेकी बेनिघाटकी सुस्मिता श्रेष्ठले भनिन्, ‘आफ्नो ठाउमा योग्य उम्मेदवार चुन्न पाउने अधिकार पाउनु खुसीकै कुरा हो, हामीले हाम्रा लागि योग्य ठानेकालाई नै मतदान गरेका छौं, हाम्रो मतको पक्कै कदर हुनेछ।’  

जिल्लामा दुई लाख ६८ हजार ४ सय ७२ मतदाता छन्। स्थानीय तह निर्वाचनका लागि धादिङमा ५ सय ४६ जना नेतृत्वका लागि दुई हजार दुई सय ७५ जना उम्मेदवार छन्। निर्वाचनमा उम्मेदवार धेरै भएपनि विकासका लागि समय दिनसक्ने, सबैको हितमा काम गर्नसक्नेलाई छानेको मतदाताहरु बताउँछन्। मतदाताहरुले जिल्लाभर एक सय ९ वटा मतदान स्थलमार्फत मतदान गरेका छन्।  

प्रकाशित: ३० वैशाख २०७९ १२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App