७ वैशाख २०८१ शुक्रबार
समाज

रोङको मतदान केन्द्र नजिक भोज-भतेर, स्वयंसेवकका नाममा मतदातालाई कुपन

इलामको रोङ गाउँपालिका–४, वडा कार्यालयनजिकैको होटलमा कुपनमा भइरहेको भोजभतेर। तस्बिर: नागरिक

इलामको रोङ गाउँपालिकाका केही मतदान केन्द्रमा दलहरूले मतदाताका लागि भोजभतेर गरिरहेका छन्। निर्वाचन चलिरहेका बेला मतदाता प्रभावित गर्न भोजभतेर गराइएको छ।

नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रले अलग–अलग कुपन वितरण गरी भोजभतेर गरिरहेका हुन्। उनीहरूले ‘स्वयंसेवकका लागि चिया–नास्ता कुपन’ बाँडिरहेका छन्। रोङ गाउँपालिकाको केन्द्रमा रहेको मतदान केन्द्रका मतदातालाई नजिकैका ४ होटलमा ‘चिया–नास्ता’ व्यवस्था गरिएको छ।  

‘कांग्रेसको कुपन लिएर होटलमा गए ८० रुपैयाँ तथा एमाले र माओवादीले दिएको कुपन लिएर गए ५० रुपैयाँको नास्ता खाने व्यवस्था मिलाइएको रहेछ,’ एक मतदाताले सुनाए, ‘कुपनमा स्वयंसेवकको लेखिएको छ तर मतदातालाई नै धमाधम बाँडिएको छ।’  

रोङकै सरस्वती मावि केन्द्रमा पनि त्यहीअनुसार भोजभतेर चलिरहेको छ। यहाँको वडा नम्बर ४ कार्यालयको सिकुवामै नेकपा (एकीकृत समाजवादी)को भोजभतेर चलिरहेको छ। यहाँ पनि मतदातालाई कुपन दिएर खान पठाइँदैछ। मतदान केन्द्रको करिब ५ सय मिटरमै अरू दलको समेत भोजभतेर चलेको छ। कांग्रेसले यहाँका मतदातालाई सय रुपैयाँको कुपन दिएको छ। चुनाव चिह्न मुडा भएका स्वतन्त्र उम्मेदवारले चाहिँ मतदाताका लागि मासु–भात नै व्यवस्था गरेका छन्।  

कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार मनीकुमार स्याङ्बो सुवासले पार्टीको तर्फबाट मतदातालाई खानेकुुराको कुनै व्यवस्था नगरेको बताए। ‘मलाई कसले कसलाई चिया–नास्ता गरायो भन्ने जानकारी छैन,’ उनले भने, ‘कसैले गरायो भने त्यो निर्वाचन आचारसंहिताविपरीत नै हो।’ रोङ गाउँपालिकास्थित एमाले अध्यक्ष तथा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार मेहेरमान तामाङले पार्टीले नभई केही उम्मेदवारले चिया–नास्ता व्यवस्था गरेको भन्नेसम्म आफूले सुनेपनि पार्टीको आधिकारिक नभएको बताए। ‘मैले पनि सुनेको चाहिँ हो, पार्टीले त्यस्तो भोजभतेर गराएको छैन र गराउँदैन पनि,’ उनले भने, ‘ती भएका कुपन र खाजा–चियाको व्यवस्था अहिले बन्द गराउँदैछन् भन्ने सुनेको छु।’

नेकपा (एस)का गाउँपालिका अध्यक्ष शम्भूजित दाहालले पार्टीको तर्फबाट त्यस्तो भोजभतेरको व्यवस्था नभएको बताए। ‘पार्टीको तर्फबाट भोजभतेर गराइएको छैन,’ उनले भने, ‘दलबाट एजेन्ट बस्नेहरूलाई खाना खुवाएको हो भने त्यो फरक हो तर मतदातालाई त्यसरी खाजा–खाना खुवाउने हाम्रो पार्टीको बजेट छुट्टिएको नै छैन।’

सिडिओ  माधवप्रसाद ढुंगानाले भोजभतेरबारे अहिलेसम्म जानकारी नआएको बताए। ‘अहिलेसम्म भोजभतेरबारे जानकारी आएको छैन तर के भएको हो, तुुरुन्त खोजी गर्न लगाउँछु,’ उनले भने। उनले जिल्लाभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको भन्दै अहिलेसम्म प्रत्येक मतदान केन्द्रमा २ सयभन्दा बढी मत खसिसकेको बताए। ‘यही दरले मत खस्ने हो भने थोरै मतदाता भएका कतिपय केन्द्रमा दिउँसो ३ बजेतिर मतदान भइसक्ने देखिन्छ,’ उनले भने, ‘अहिलेसम्म मौसम पनि राम्रै छ, मतदाता उत्साहपूर्ण ढंगले सहभागी भइरहेका छन्।’

प्रकाशित: ३० वैशाख २०७९ ०६:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App