coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

पहिलो पटक मतदान गर्न पाउनुको उत्साह छुट्टै

निर्वाचन कार्यालय धादिङले गजुरीमा आयोजना गरेको नमुना मतदान कार्यक्रममा मतदान गर्दै नयाँ मतदाता।

गजुरी गाउँपालिका–३ का मधु चेपाङ मतदान गर्न निकै उत्साहित छन्। उमेरले २६ वर्ष पुगेर पहिलो आफूले चाहेको उम्मेदवारलाई भोट हाल्ने तयारीमा छन्। चेपाङ भन्छन्, ‘यसपाली बल्ल भोट हाल्ने मौका जुर्‍यो, मैले भोट दिएको मान्छेले चाही हाम्रो गाउँमा पक्कै विकास गर्नेछ।’

चेपाङको अनुहारमा देखिएको खुशीले ‘अब त गाउँमा कायापलट नै हुन्छ’ भन्नेकुरा प्रष्ट्याउँछ। पहिलो पटक मतदान गर्न लागेकाले आफ्ना आफन्तलाई कसलाई र कस्ता उम्मेदवारलाई मत दिने भन्नेबारे सुझाव दिइरहेको चेपाङले बताए। विकासउन्मुख आफ्नो ठाउँको विकासका निम्ति आचरण र उद्देश्य बुझेर मात्रै व्यक्तिलाई भोट हाल्नेबारे आफू स्पष्ट रहेको उनले सुनाए।

नागरिकता नबनेकोले आफूले यसअघिको निर्वाचनमा भोट हाल्न नपाएको उनले सुनाए। निर्वाचन कार्यालयले चेपाङ बस्तीमै आयोजना गरेको नमुना मतदान कार्यक्रममा समेत उनले भोट हाल्न सिकेका छन्।

गजुरी–३, हटियाका १८ वर्षीय एकबहादुर मगरमा पनि उत्साह उस्तै छ। पहिलो पटक भोट हाल्न पाउँदाको उत्साह र जोस रहरलाग्दा छन्। ‘आफ्नो गाउँ ठाउँको विकास गर्दिने, खानेपानीको सुविधा घरघर पुर्‍याइदिनेलाई आफ्नो भोट दिने उनको चाहना छ। ‘युवालाई प्रोत्साहन गरिदिने नेतृत्व चाहिन्छ, हामी त्यस्ता उम्मेदवारलाई छानीछानी भोग दिन्छौं’ उनले भने।

आफूले पाठ्यक्रममा पढेको मतदानको अधिकार पहिलो पटक उपयोग गर्न पाउँदा दंग पनि छन्। गाउँमा भएका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्नका निम्ति पहल गर्नेहरू को छन् भनेर आफूले नियालिरहेको मगरले सुनाए।

नीलकण्ठ नगरपालिका– ७ की सुजिता पोखरेल आफ्नो ठाउँको लागि आफै जनप्रतिनिधि छान्न पाउने कुराले पोखलेल झनै उत्साहित छिन्। ‘मतदान गर्न पाउँछु भन्ने कुराले खुशी छु। आफ्नो ठाउँमा योग्य उम्मेदवार चुन्न पाउने अधिकार पाउनु खुशीकै कुरा हो। तर कसलाई चुन्ने भन्ने कुरा गाह्रो रहेछ जति उत्साहित छौँ त्यति नै संयमित बन्नु पर्छ’ उनले भनिन्।

पहिला जितेकाहरुले केही नगरेकाले विकास योजनासहित आएका नयाँ अनुहार रोज्ने उनले बताइन्। ‘युवाले विदेश गएर ५० डिग्रीको घाममा काम गर्नु नपरोस् र महिलाहरू परनिर्भर नरहुन् यस्तै कुराहरू सुनिश्चित गर्नेलाई भोट हाल्छु’, पोखरेलले भन्छिन्, ‘महिला र युवालक्षित योजनाहरू बन्नु पर्‍यो नि।’

गजुरी–३ कै गोविन्द मगर पनि पहिलो पटक भोट हाल्न आतुर छन्। ‘पहिलो पटक मतदान गर्दैछु, मतदान कसरी गर्ने भन्ने पनि सिकेको छु, ३० गते बिहानै गएर भोट हाल्छु’, गोविन्द भन्छन्, ‘हाम्रा आमाबुवाले त वर्षाैदेखि पार्टीको कुरा सुन्दै र प्रभावित हुँदै आउनुभयो। अब हामी जस्तो युवाले राजनीतिक प्रक्रिया बुझ्ने र आफ्ना अभिभावकलाई सम्झाउनु पर्छ।’

पहिलो पटक भोट हाल्न मतदाता परिचयपत्र लिन मतदान केन्द्र आइपुगेका अधिकांश मतदाताहरुले ‘राइट टु भोट’ व्यवहारमा लागु गर्नुपर्ने बताउँछन्। ‘हामीले राइट टु भोटको बारेमा पढेका छौँ। आफूले चाहेको उम्मेदवारलाई कसैको दबावमा नपरी भोट खसाल्ने योजना छ’ अधिकांश नयाँ र युवा मतदाताको आवाज यही छ।

निर्वाचन कार्यालय धादिङले बिहीबार गजुरी–३ मा नमुना मतदान कार्यक्रम गरेको छ। चेपाङको बाहुल्यता रहेको क्षेत्रमा नमुना मतदान गरेको हो। कार्यक्रममा भोट हाल्ने तरिका, मतपत्र पट्याउने तरिका, मतपेटिकामा हाल्ने तरिकाको बारेमा पनि जानकारी गराइएको छ। चेपाङ समुदायबाट धादिङ जिल्लाभर ६८ सय मतदाता छन्। यो निर्वाचनमा धादिङमा मात्रै चेपाङ समुदायबाट ६ जना उम्मेदवार छन्।

प्रकाशित: २९ वैशाख २०७९ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App