coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

मिक्लाजुङमा राति शक्तिशाली विष्फोट

मोरङको उत्तरी क्षेत्र विकट मानिएको मिक्लाजुङमा बुधबार राति शक्तिशाली विष्फोट भएको छ।भौगोलिक हिसाबले अति विकट रहेको मिक्लाजुङ गाउँपालिका–१ बर्खेमा बुधबार राति शाक्तिशाली विष्फोटको आवाज आएको र बिहान शंकास्पद वस्तुसमेत फेलासमेत परेको स्थानीयले बताएका छन्। शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनलाई प्रभावित पार्नका लागि निर्वाचन विरोधी समूहले विष्फोट र शंकास्पद वस्तु राखेको हुन सक्ने बताइएको छ।

मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार विष्फोट भएको कुनै जानकारी नआए पनि बिहीबार बिहान शंकास्पद अवस्थामा प्रेसर कुकर फेला परेको जानकारी आए लगत्तै प्रहरी र सेनाको बम डिस्पोजल टोली गइसकेको छ। मिक्लाजुङ–१ स्थित सरस्वती आधारभूत विद्यालयदेखि ५० मिटर टाढा सडकमा प्रेसर कुकरमा खतरा लेखिएको र तारहरु बाहिर निकालेर छाडेको अवस्थामा फेला परेको एसपी कोइरालाले बताए।  

‘विष्फोट भएको कुनै जानकारी आएको छैन,’ एसपी कोइरालाले भने, ‘तर, स्कुल नजिक सडकमा शंकास्पद अवस्थामा प्रेसर कुकर फेला परेको छ। कुकरमा खतरा लेखिएको र केही तारहरु बाहिर निकालेर छाडिएको छ।’ घटना स्थल निकै विकट रहेको हुँदा घटनाको खबर प्राप्त हुन साथ सेनाको बम डिस्पोज टोली र प्रहरीहरु अहिल जाँदै गरेका छन्। घटना स्थल पुग्न पाँचथरतर्फबाट केही सहज र चाँडो हुन्छ।  

घटना स्थल पुग्नका लागि सुरक्षाकर्मीलाई गाडीमा २ घण्टाभन्दा यात्रा गरेर त्यसपछि ३ घण्टाभन्दा बढी हिँड्नु पर्छ। सेना र प्रहरी पुगेपछि मात्रै घटनाका बारे थप कुरा आउने एसपी कोइरालाले बताए। ‘भौगोलिक दृष्टिले अति विकट र अति संवेदनशील क्षेत्र हो,’ एसपी कोइरालालले भने, ‘चुनाव लक्षित गरेर गस्ती परिचालन भइरहे पनि स्थायी फौजको अभावमा अपराधिक समूहले राति शंकास्पद वस्तु राखेको हुन सक्छ। घटना स्थलबाट मोरङतर्फ आउनु भन्दा पनि पाँचथरतर्फ जान सजिलो रहेको हुँदा उनीहरुले यहाँ शंकास्पद वस्तु राखेर उत्तै गएको हुनपर्छ।’  

शुक्रबार हुने मतदानमा सर्वसाधरणलाई शान्तपूर्वक मतदान स्थलसम्म आउजाऊ गर्न र सहज रुपमा मतदान गर्ने वातावरण बनाउनका लागि आजै (बिहीबार)थप टोली राख्ने एसपी कोइरालाले जानकारी दिए।  

मध्य रातमा विष्फोट गराइएको र शंकास्पद वस्तु भेटिएको स्थान आसपासमै रहेको हुनसक्ने स्थानीयले बताए। विष्फोट गराएको भोलिपल्ट बमजस्तो देखिने शंकास्पद वस्तु भेटिएपछि स्थानीयहरु त्रसित भएका छन्।  

सडकमा शंकास्पद तरिकाले राखिएको प्रेसर कुकर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरे। प्रहरीका अनुसार उक्त वस्तु भेटिएको स्थान मिक्लाजुङको रमितेबाट लगभग १२ किलोमिटर पूर्व र उर्लाबारीबाट लगभग ३२ किलोमिटर उत्तरमा पाँचथरको सीमा क्षेत्र हो।

प्रकाशित: २९ वैशाख २०७९ ०५:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App