८ वैशाख २०८१ शनिबार
समाज

नयाँ ‘नवराज’ चुन्दै लावण्य देश

साँखुको शाली नदीको किनारमा रहेको स्वस्थानी कथामा उल्लेखित नवारजको मूर्ति छेउ बालबालिका। तस्बीर: उपेन्द्र/नागरिक

स्वस्थानी कथामा  उल्लेखित शाली नदी सत्य युगसँग जोडिएको छ। यसकाे तिरमा बसेको नगरलाई स्कन्द पुराणको केदार खण्डमा लावण्य देशका रूपमा वर्णन गरिएको छ।  स्थानीय तहको निर्वाचनमा सत्य युगको यहि लावण्य देश शंखरापुर नगरपालिकाको नयाँ नवराज (मेयर) चुन्न आतुर छ।

‘उतिबेला हात्तीले माला लगाईदिएर नवराज चुनेको स्वस्थानी कथामा पढेका हौ,’ साँखु सुनटोलका मकरध्वज श्रेष्ठ सुनाउँछन्, ‘यस पटक जनताले माला लगाइदिएर नवराज चुन्ने  छन्।’ हरेक पटक चुनाव भएपनि जनताको समस्या समाधान नभएको भन्दै जनताको मनमा राज गर्ने नवराज पाउन भने निकै मुश्किल भएको उनको बुझाई छ।  

उनको जस्तै बुझाई छ अशोक श्रेष्ठको पनि। हरेक पटकको निर्वाचनमा उत्साहपूर्वक मत हाल्ने गरेका उनी त्यसपछि भने निराशा बोक्नु परेको सुनाउँछन्। पहिलाको तुलना अहिले उम्मेदवार ‘चलाक’ हुँदै गएको उनको बुझाई छ।‘अझैपनि नोटका ‘हात्ती’ को साहाराले राजा हुने प्रयासमा छन्, ‘उनले भने, ‘तर जनता यस पटक  पैसाको भ्रममा पर्ने छैनन्।’ 

ऐतिहासिक साँखु सहर। प्राचिन समयमा यसलाई लावण्य देशकाे नामले समेत चिनिन्थ्यो।

झण्डै ३३ सय वर्ष पुरानो ऐतिहासिक नगरी साँखु अब प्राचीनता र आधुनिकताको संगम बन्नु पर्ने मतदाताको बुझाई छ। पर्यापर्यटन र धार्मिक पर्यटन शंखरापुरका संभावना हुन्।शालि नदी, मणिचुड, वज्रयोगिनी, इन्द्रायणी सलम्बुदेवी, विश्वम्भरा नारायणजस्ता धार्मिक क्षेत्र एकातिर छन् भने अर्कोतिर जहरसिंह पौवा जस्ता रमणीय स्थल यहाँका पर्यटक लोभ्याउने माध्यम हुन्। त्यसबाहेक पनि धेरै स्थल उपलब्ध छन् यहाँ जो सांग्रिलाको खोजीमा मरिहत्ते हाल्नेलाई मोहित तुल्याउन सक्षम छन्।

‘सहरको सभ्यता जोगाउँदै गरिने विकाशले लावण्य देशको परिकल्पना शाकार हुन्छ,’ साँखु माधव नारायण मन्दिर नजिकै भेटिएकी  मिना श्रेष्ठले भनिन्, ‘समृद्धी र विकासका लागि जसले जित्ने छ त्यहि नवराज बन्ने छ।’

जनताको यस्तै मत बुझेर होला नयाँ नवराज बन्ने होडमा रहेका उम्मेदवारहरु नयाँ आश्वासन र बाचा बाँड्न थालेका छन्। २०७४ को स्थानीय निर्वाचनमा कुल मतदाता १७ हजार ८ सय ७२ रहेको समयमा  मेयरमा एमालेका सुवर्ण श्रेष्ठ ४८३३ मत प्राप्त गरि विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शंकर तिवारीले २९५० मत प्राप्त गरेका थिए भने। माओवादीका कृष्णराज सुवेदीले २४३७ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका थिए।

अहिले मतदाता  बढेर  करिब २३ हजार  पुगेका छ। अघिल्लो पटक जितेका सुर्वर्ण श्रेष्ठको ठाउँमा एमालेले कृष्ण बजगाँईलाई उम्मेदवार बनाएको छ।एकीकृत समाजवादीले एलपी श्रेष्ठ, माओवादी केन्द्रले मधु केसी , राप्रपाले रमेश नापित मेयर पदमा उठाएको छ।  

नेपाली कांग्रेसका ओमबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिदै एकीकृत समाजवादीको पक्षमा गठबन्धन गरेपनि माओवादी केन्द्र र राप्रपाका कारण समाजवादीका एलपी श्रेष्ठलाई केही समस्या हुने कतिपयको आँकलन छ। तर समाजवादीका श्रेष्ठ त्यो मान्न तयार छैनन्।

‘हाम्रो जित सुनिश्चित छ,’ उनले भने, ‘जनताले परिवर्तन चाहेका छन् जुन हामीबाट पुरा हुन्छ।’ शंखरापुर संभवाना भएको नगरपालिका रहेको भन्दै यसलाई समृद्ध बनाउन आफू लागि पर्ने उनको भनाई छ।  

यता नेकपा एमालेका कृष्ण बजगाई विगतको राम्रा कामहरुको निरन्तरताको लागि पनि आफ्नो विजय जरुरी रहेको सुनाउँछन।‘राम्रा कामको निरन्तरता र यस क्षेत्रको सम्पूर्ण विकासको लागि हामी लाग्ने छौ,’ उनी भन्छन्, ‘यसका लागि एमालेलाई जिताउन जनता तयार छन्।’

गठबन्धनमा सहभागी नभएको माओवादी केन्द्रका केसी जनताको गठबन्धन आफ्नो पक्षमा रहेको सुनाउँछन्। समग्र संखरापुरको विकाशसंगै साँखुको प्राचिन इतिहास जोगाउने आफ्नो लक्ष्य रहेको उनी सुनाउँछन्।‘विकासका नयाँ आयामसंगै कला र सस्कृती जोगाउन हामी लाग्ने छौं, ’ उनले भने, ‘त्यसैले नयाँ पीढीँ र पुराना पीढीँ दुवैको मत हामीले पाउने विश्वास लिएका छौं।’

राप्रपाको तर्फबाट उम्मेदवार बनेका रमेश नापितको भनाई पनि यस्तै छ। अन्य पार्टीहरुले नारामात्र अगाडी सार्ने तर काम नगर्ने गरेका कारण एक पटक आफूलाई मौका दिनु पर्ने उनको भनाइ छ।  

मतदाताहरु उम्मेदवारको बाचालाई ध्यानपूवर्क सुन्दै छन्।अनि चुनावमा बढ्दो खर्चलेपनि उनीहरुलाई अत्याएको छ। ‘अहिले लाखाैं खर्चेर चुनाव लड्नेले भ्रष्टाचार गर्देनन् भनेर कसरी ढुक्क हुने, ’ शंकरापुर ४ की  विष्णुमायाँ वाइवा भन्छिन्, ‘नोट खर्चेर राजा बन्नेदेखि सबै होसियार हुनुपर्छ।’  

उनीहरु जस्तै मतदाता विकासका ठूला ठूला कुराभन्दा पनि दैनिक समस्याका समाधानको पक्षमा छन्। रोजगारीको अभावमा युवा बाहिरिदा गाउँनै सून्य भएको उनीहरु सुनाउँछन् ‘विकासंगै युवावर्गले रोजगारी पाउनुपर्यो, ‘शंखरापुर–४ की माया श्रेष्ठ भन्छिन्, ‘त्यसो भएमा मात्र  अब बन्ने नवराजले सबैको मनमा राज गर्ने छन्।’

प्रकाशित: २७ वैशाख २०७९ ०६:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App