१६ चैत्र २०८० शुक्रबार
समाज

‘कागेश्वरी काठमाडौंकै पर्यटकीय क्षेत्र हुनसक्छ’

काठमाडौंको पूर्वी क्षेत्रमा रहेको कागेश्वरी क्षेत्र काठमाडौंकै सबैभन्दा प्रिय पर्यटकीय क्षेत्र बन्नसक्ने सम्भावना एक कार्यक्रमका वक्ताले औंल्याएका छन्।

लोकतान्त्रिक सहिद उद्यान गागल काग निर्माण उपभोक्ता समितिद्वारा शनिबार आयोजित कार्यक्रममा उक्त क्षेत्रका प्रदेश सांसद रामेश्वर फुयाँलले यो क्षेत्र पर्यटनका लागि नमुना बनाउन सकिने दाबी गरेका हुन्।

यस क्षेत्रमा लोकतन्त्रका लागि जीवन उत्सर्ग गर्ने २५ जना महान् सहिदको प्रतिमा बनाइँदै गरेको, विश्वकै सबैभन्दा ठूलो काग स्थापना गरिएको, शिवपुरी, कागेश्वरी, मणिचुड र नगरकोटको पेरिफेरी जोडिएकाले पनि यो सबैका रुचाइमा पर्ने उनको भनाइ थियो।

त्यसैले आफू लागि परेर भए पनि वाग्मती प्रदेश सरकारबाट समेत यहाँका लागि राम्रो बजेट पारेको तथा आगामी दिनमा पनि यस्तो प्रयास जारी राखिने उनले बताए। कागेश्वरी मनोहरा नपाकी उपमेयर बिन्दु सिम्खडाले भावी पुस्ताका लागि यस्ता ठाउँमा चुत्रो, ऐंसेलु, काफल आदि रोप्न सुझाव दिँदै भनेकी थिइन्, ‘चारैतिर देखिने भएकाले यो क्षेत्र पर्यटकको रोजाइमा अवश्य पर्नेछ।’

पण्डित मणिराम अर्यालले कागेश्वरीको धार्मिक महत्त्व दर्साउँदै यो क्षेत्र धार्मिक पर्यटनका लागि पनि निकै उपयोगी भएको सुनाएका थिए। स्थानीय कृष्णप्रसाद अर्यालले पर्यटकलाई खुसी गराएर स्थानीयले पनि फाइदा लिन सक्नुपर्ने उल्लेख गरेका थिए भने विश्वराज श्रेष्ठले प्रदेश सांसद रामेश्वर फुयाँल जस्तै सक्रिय भएर लाग्ने हो भने कुनै पनि ठाउँको उलटपुलट गर्न सकिने धारणा व्यक्त गरेका थिए।

त्यसैगरी सोही ठाउँका दलबहादुर तामाङले आफूहरूले मान्छेको अन्तिम संस्कार गर्ने चिहानलाई परिवर्तन गरेर आज उद्यान, पिकनिक स्थल र दृश्यावलोकन स्थल बनाउन सकेकामा गर्व लागेको सुनाएका थिए।

यो स्थानमा अझै धेरै काम गर्न बाँकी भएकाले सबैलाई आआफ्नो ठाउँबाट सहयोग गर्न पनि वक्ताहरूले आग्रह गरेका थिए। प्रत्येक दिनजसो पिकनिक आउने यो ठाउँमा बिदाका दिन भने निकै भिडभाड हुने गरेको स्थानीयको भनाइ छ। त्यसैले पनि यो ठाउँलाई आकर्षक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आफूहरू लागिपरेको उनीहरूको भनाइ छ।

प्रकाशित: २० चैत्र २०७८ ०३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App