८ वैशाख २०८१ शनिबार
समाज

आगलागीजन्य विपद् न्यूनीकरण गर्न कृत्रिम अभ्यास प्रदर्शन

जंगलमा भएको आगलागी बस्तीमा प्रवेश गरी घरहरु जल्दै।

सल्लाघारीको फेदमा बारबेर गरी बनाइएको ६ वटा नमुना घर। ती ६ वटा घर मध्ये एउटाको बार्दलीमा लेखिएको थियो, नुनिया मासु पसल र अर्कोमा दीलमायाँ खाजा घर।

शुक्रबार बिहान साढे ८ बजेको समयमा ती घरहरुमा चहलपहल बाक्लै थिए। ती घरहरुमा रहेका मध्ये केही भन्दै थिए, चिया पकाउँछु, खाएर जानू। केही सोध्दै थिए, भोट माग्नलाई आएको हो? केही समय अघिको चहलपहल बिस्तारै घट्दै जान्छ, ती घरका मानिसहरु आ–आफ्नै काममा व्यस्त हुन्छन्।

सुरक्षाकर्मी र स्थानीय भएर जंगलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास गर्दै।

अचानक सल्लाघारीमा आगलागी हुन्छ, बस्तीका मानिसहरु हारगुहार गर्न थाल्छन्। आगो नियन्त्रणमा लिन प्रहरीलाई खबर गरिन्छ। प्रहरी र स्थानीयहरुलाई आगो नियन्त्रणमा लिन मुस्किल पर्छ। आगो बस्तीमा पसिसकेको हुन्छ। त्यसै समयमा साइरन बजाउँदै वारुणयन्त्र (दम्कल) आइपुग्छ र आगोलाई नियन्त्रणमा ल्याउन सहज हुन्छ।

हेर्दाहेर्दै नुनिया मासु पसल, दीलमायाँ खाजा घरसँगै अर्को घर पनि खरानीमा परिणत हुन्छ। बाँकी रहेको ३ मध्ये २ वटा घरमा आंशिक क्षति पुग्छ। आगलागीमा परेर घाइते भएकाहरुलाई प्राथमिक उपचार गरी एम्बुलेन्स मार्फत् अस्पताल पठाइन्छ।

आगोले क्षति पुर्‍याएको घरहरु।

प्रहरीले मुचुल्का उठाएर क्षतिको विवरण संकलन गर्छ। अग्नीपीडितहरु एक ठाउँमा जम्मा हुन्छन् र गाँस, बास, कपासको बन्दोबस्त कसरी गर्ने भनेर पीडा पोख्न थाल्छन्। यो दृश्य हो नुवाकोटको विदुर नगरपालिका–५ स्थित चन्द्रज्योती माध्यमिक विद्यालयको खेलमैदानमा आयोजित आगलागीजन्य विपद न्यूनीकरण सचेतना तथा कृत्रिम अभ्यासको।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले सुख्खा मौसममा हुन सक्ने सम्भावित आगलागीजन्य विपद्को घटनाहरु नियन्त्रण तथा जोखिम न्यूनीकरणको लागि नमुना अभ्यास गरेको हो। उक्त नमुना अभ्यासमा खाना पकाउने ग्यास लिग भएर आगलागी हुँदा आगो निभाउने तरिका समेत प्रदर्शन गरिएको थियो।

त्यस्तै बिजुलीको तार सर्ट भएर आगलागी भएमा अपनाउनु पर्ने उपायहरु समेत प्रयोगात्मक रुपमा देखाइएको थियो। जथाभावी रुपमा ननिभाई चुरोटका ठुटा फाल्दा, सलाई लाइटर जस्ता आगोजन्य वस्तुको लापरबाहीबाट हुन सक्ने जोखिम र नियन्त्रणको उपायलाई समेटेर उक्त कार्यक्रम गरिएको थियो।

अग्नी पीडितहरु सामूहिक रुपमा पीडा पोख्दै।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले भौगोलिक अवस्थाको कारण आगोबाट उत्पन्न जोखिमलाई न्यूनीकण गर्न नुवाकोटमा चुनौती रहेको बताएका छन्।

'वन लगायतको क्षेत्रमा आगलागी भयो भने तत्काल नियन्त्रणमा लिनलाई श्रोत साधानको अभाव छ। दम्कल जस्ता आधुनिक उपकरणको प्रयोग गर्न भौगोलिक अवस्थाले दिँदैन। जिल्लामा रहेको सबै सामुदायिक वनका उपभोक्ताहरसँग सहकार्य र परामर्श गरेर ठाउँ-ठाउँमा प्राकृतिक पोखरी निर्माण गरेर वर्षातको पानी जम्मा गर्न सक्यौँ भने आगलागी भएको समयमा त्यसको ठूलो महत्व रहन्छ,' जिसस प्रमुख तामाङले भने, 'आगलागी भएमा विपद्को क्षेत्रमा काम गर्ने व्यक्तिहरुले जुन सीप प्रयोग गरेर नियन्त्रणमा लिन्छन्, त्यो सीप ग्रामीण भेगसम्म पुर्‍याउनु आवश्यक छ।'

नुवाकोटको १२ स्थानीय तह मध्ये विदुर नगरपालिमा मात्रै २ थान वारुणयन्त्र रहेको छ। ती वारुणयन्त्र सञ्चालनको लागि दक्ष जनशक्तिको अभाव रहेको मेयर सञ्जु पण्डितको भनाइ छ।

आगो लगायत विपद्जन्य घटनाको न्यूनीकरण गर्नलाई जिल्ला स्तरमा कार्ययोजना बनाएर कार्यान्वयन गरिरहेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताएका छन्। आगलागीजन्य घटना हुन नदिन र भइहालेमा सामूहिक रुपमा नियन्त्रण गर्ने विषयमा सन्देश प्रवाह गर्न उक्त कृत्रिम अभ्यास सञ्चालन गरिएको रिसालको भनाइ छ।

प्रकाशित: १८ चैत्र २०७८ १२:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App