coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सगरमाथा चुचुरो चुम्ने लक्ष्यमा दृष्टिविहीन अमिट

बागलुङ जैमिनी नगरपालिका ४ निवासी अमिट केसी एक दृष्टिविहीन हुन्। आम मानिस जस्तै आफ्नो परिवारको भरणपोषणका लागि अमिट प्राथमिक तहको विद्यालयमा दृष्टिविहीन राहत दरबन्दीमा जागिरे जीवन विताइरहेका थिए। तर उनको जीवनले ‘यूटर्न’ लिएको छ। खाइपाई आएको जागिर त्यागेर एक फरक लक्ष्य आत्मसाथ गर्दै साथ अघि बढन थालेका छन्। उनको नयाँ लक्ष्य छ, सगरमाथाको चुचुरोमा पाइला टेक्ने।

अमिटले आफ्नो लक्ष्यलाई सफल पार्न सम्पूर्ण तालिमहरु पूरा गरी २०७२ मा सगरमाथाको आरोहरणका लागि प्रयास सुरु गरे।

सगरमाथा चुचुरोमा पुगेर दृष्टिविहीन व्यक्तिको रूपमा नेपालको पहिलो र विश्वको दोस्रो बन्ने सपनाले उनलाई पछ्याइरहेको छ। यसलाई साकार पार्न उनी लागिपरेका छन्। आरोहण गर्ने साहस र प्रयत्नमा निरन्तर लागिरहेका छन्, अमिट।

सगरमाथा चुचुरोलाई लक्ष्य बनाएका अमिटले २०७२ वैशाख ८ गते सोलुखुम्बुको ६,१८६ मिटर उचाइको आएसल्याण्ड पिक र सोही वर्ष चैत ८ गते ६,६५४ मिटरको मेरापिकसम्मको यात्रा सफल रुपमा सम्पन्न गरे। तत्पश्चात उनले २०७८ जेठ १ गते ६,०९० मिटरको लोबुचे पिकको समेत सफलतापूर्वक आरोहरण गरी नेपालको पहिलो दृष्टिविहीनका रुपमा पर्वतीय पर्यटनको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) सदस्य समेत प्राप्त गरिसकेका छन्।

सन् २०१७ मा लायन्स क्लब अफ इन्टरनेशनल(एलसीआई) स्थापना भएको एक सय वर्ष पुगेको उपलक्ष्यमा उक्त क्लवस् र नेपालको झण्डा लिई सगरमाथा आरोहणको अभियानमा जुटे। आफ्नो सम्पूर्ण तयारी गरिसकेपछि सगरमाथा आरोहण अभियान सम्पन्न गर्न आवश्यक पर्ने सरकारी प्रक्रिया पूरा गरेको उनको स्मरण छ। सगरमाथा आरोहणका लागि अमिटले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थ मन्त्रालयबाट अन्तिम स्वीकृति लिएका थिए।

उक्त समय चौथो आधार शिविर (साउथ कोल) मा पुग्दा मौसम खरावीका कारण करिब ३६ घण्टापछि फिर्ता हुनु परेको उनको अनुभव छ। मन अमिलो बनाउँदै अमिट सुनाउँछन्, ‘साउथ कोलमा ३६ घण्टा विताउँदा सँगै लगेको अक्सिजन सकिएकाले ८ हजार मिटरमा पुगेर पनि मेरो अभियान सफल हुन सकेन।’

सो पश्चात् नेपाल सरकारले अपाङ्गता भएका व्यक्तिहरुका लागि पर्वतारोहण लगायत कुनै पनि हिमाल आरोहण गर्न नपाउने गरी प्रतिबन्ध लगायो। यो निर्णयले उनको लक्ष्यमाथि ठूलो ठेस लाग्न पुग्यो। आफ्नो गन्तब्यमा तगारो बनेको सरकारको निर्णयका विरुद्धमा कम्मर कसेर प्रतिवाद गर्ने निर्णय उनले गरे।

त्यसको प्रतिवाद स्वरुप अमिट र पत्रकार महासंघका केन्द्रीय सदस्य माधव चम्लागाई मिली सार्वाेच्च अदालतको संवैधानिक इजलासमा परमादेशको माग गर्दै रिट दर्ता गरे। सरकारको उक्त कार्य अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि (यूएनसीआरपीडी) लगायत अपाङ्गता सम्बन्धी नेपाल सरकारले आफू पक्ष राष्ट्र हुने गरी सही गरेका सम्पूर्ण राष्ट्रिय, अन्तर्राष्ट्रिय कानूनको विरुद्धमा छ भनि रिट दायर गरेका थिए। उक्त कार्यमा उनी सफल समेत भए। तर सन् २०१८ र २०१९ मा सो आरोहण अभियानलाई निरन्तरता भने दिन सकेनन्। अपाङ्गता भएका व्यक्तिहरूको पक्षमा अन्तरिम आदेश तथा परमादेश मार्फत अपाङ्गता भएका व्यक्तिहरूका लागि हिमाल आरोहण सहज बनाउन लाग्दा समय खर्चिनु परेका कारण अभियानलाई निरन्तरता दिन नसकेको अमिटको अनुभव छ।

त्यसपछिको वर्ष सरकारले भिजिट नेपाल २०२० मार्फत २० लाख पर्यटक भित्र्याउने योजनाका साथ काम गरिरहेको थियो। यो अभियानमा समेत केही मात्राको योगदान पुग्ने गरी अपाङ्गता भएकै कारण अवसर पाउनबाट बञ्चित भएका व्यक्तिहरुका लागि समेत प्रेरणा प्रदान गरेको उनको भनाइ छ। कोरोना महामारी नियन्त्रणका लागि सरकारले उक्त अभियानबीचमै बन्द गर्नु परेको थियो। अमिट भन्छन्, ‘मेरो अभियान कुनै एक वर्षका लागि थिएन। मेरो सगरमाथा आरोहण अभियानले राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्पूर्ण नागरिकहरूलाई नेपाल आउन र पर्यटन प्रवर्द्धनमा समेत सघाउ पुर्‍याउँदै अपाङ्गता भएकै कारण अघि बढ्न आत्मविश्वासका साथै प्रयत्न र लगनशिलताले कुनै पनि कुरा गर्न सम्भव छ भन्ने कुरा झिनो रुपमै भएपनि सघाउने छ।’

यस पटक पुनः अमिट सगरमाथाको चुचुरोमा पुग्न कम्मर कसेर लागेका छन्। उनको यात्रा यही चैत्र २० गतेदेखि सुरु भई २०७९ जेठ २७ मा सम्पन्न हुने उनले जानकारी दिए। सगरमाथा आरोहण अभियानलाई सफल पारिदिन उनी सबैमा अनुरोध समेत गर्दछन्। ‘सगरमाथा अरोहण अभियान २०७८/०७९ सम्पन्न गर्न आवश्यक आर्थिक/भौतिक/नैतिक सहयोग गरिदिनुस्,’ अगाडि थप्दै भन्छन्, ‘तर हतोत्साही नगर्न पनि बिन्ती गर्छु।’

प्रकाशित: ८ चैत्र २०७८ ०६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App