१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

शहरी क्षेत्रमा हरियाली प्रवर्द्धन: रहर कि बाध्यता?

काठमाडौं जिल्लाको कुल क्षेत्रफल मध्ये ३६.९४ प्रतिशत क्षेत्र वनले ढाकेको छ तर पनि शहरीकरण भएको क्षेत्रमा वन क्षेत्र निकै कम छ।

जनसंख्या वृद्धि र विस्तारित शहरीकरणकाबीच वातावरणीय सन्तुलन कायम गर्न काठमाडौंका विभिन्न सडक तथा नदी किनार र सार्वजनिक जग्गामा उद्यान निर्माण गरी वृक्षारोपण गर्ने काम विभिन्न निकायले गर्दै आएका छन्। तर पछिल्लो समय काठमाडौं जिल्लाको शहरी क्षेत्रमा गरिएका यस्ता वृक्षारोपणका कार्यहरू हरियाली प्रवर्द्धनका लागि हो या रहरले गरिको हो भन्ने प्रश्न चिन्ह खडा गरेको छ।

डिभिजन वन कार्यालय काठमाडौंले आयोजना गरेको शहरी वन सम्बन्धी सरोकारवाला गोष्ठीमा काठमाडौं जिल्लाको शहरी क्षेत्रमा वृक्षारोपण तथा हरियाली प्रवर्द्धनमा क्रियाशील रहेका विभिन्न निकायका अधिकारीहरूले काठमाडौंमा वृक्षारोपण गर्ने होडबाजी चलेको बताएका छन्।

विभिन्न निकायले वृक्षारोपण गरे पनि त्यसको दीर्घकालीन संरक्षण गर्न कुनै निकाय अग्रसर नभएको र निकायहरूबीच मै सहकार्य र समन्वयको अभावले वृक्षारोपण कार्यक्रम प्रभावकारी हुन नसकेको उनीहरूले बताएका हुन्। काठमाडौं जिल्लामा हरियाली प्रर्वदनका लागि धेरै सरकारी तथा गैरसरकारी संस्था क्रियाशील छन्। 

काठमाडाैं महानगरपालिका सहित अन्य १० नगरपालिका, वस्ती विकासका लागि जग्गा एकीकरण आयोजनाहरू, काठमाडौं उपत्यका शहरी विकास प्राधिकरण, सडक विभाग अन्र्तगतका विभिन्न सडक आयोजना, प्रदेश वन मन्त्रालय पर्यटन परियोजना, वन विभाग तथा वातावरण विभाग, प्रदेश सरकार पूर्वाधार विकास मन्त्रालय, विभिन्न क्लव, स्थानीय टोल विकास संस्थाहरू, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न वित्तीय संस्था काठमाडौंमा हरियाली प्रवद्र्धनका लागि क्रियाशील छन्। यद्यपि काठमाडौं जिल्लाका शहरी क्षेत्रको हरियाली प्रवद्र्धन भने हुन नसकेको डिभिजन वन कार्यालय काठमाडौंका डिभिजन वन अधिकृत बद्रीकुमार कार्की बताउँछन्।  

‘काठमाडौंमा हरियाली प्रवर्द्धन गर्ने प्रमुख जिम्मेवार निकाय काठमाडौं महानगरपालिका हो, तैपनि महानगरपालिकाले सही तरीकाले आफ्नो भूमिको निर्वाह गरेको पाइँदैन। उनले भने, ‘महानगरपालिकाले सार्वजनिक जग्गाको पहिचान गर्दै उद्यानहरू निर्माण गरिहरहेको छ। तर, सडकका किनारमा गरेका वृक्षारोपणको संरक्षण भने गर्न सकेको छैन, महानगरपालिकासँगै अन्य निकायले वृक्षारोपणपछि बोटविरुवाको संरक्षणमा पनि ध्यान दिनुपर्छ।’

यस्तै वन तथा पर्यावरण निर्देशनालय जङ्गी अड्डाका सहायक रथी यमबहादुर अधिकारीले वृक्षारोपण गरेपछि ६० प्रतिशत मात्र बोटविरुवा सफल रूपमा हुर्कने र ४० प्रतिशत सफल नहुने भएकाले यसको संरक्षणमा सबै निकायले ध्यान दिनुपर्नेमा जोड दिए।

इतिहासदेखि सम्पन्न र समृद्ध रहेको काठमाडौं मुलुककै अर्थतन्त्रको केन्द्रबिन्दुको रूपमा रहिआएको छ। देशका विभिन्न भागबाट भित्रिने बसाइँ सराइसँगै तीव्र रूपमा शहरीकरण बढिरहेको छ। बढ्दो जनसंख्या र शहरीकरणका कारण काठमाडौंमा वन क्षेत्र र उद्यानहरूको संख्या निकै कम छ। साथै भएका सार्वजनिक जग्गाहरू र त्यसमा भएका रुखविरुवाहरू समेत शहर विस्तारको क्रममा मासिंदै गएको देखिन्छ।

काठमाडौं महानगरपालिकामा ०.३८ प्रतिशत वन क्षेत्र छ। जुन शहरी क्षेत्रमा हुनुपर्ने हरियाली क्षेत्रभन्दा धेरै कम हो। अव्यवस्थित तथा तीव्र शहरीकरण र स्पष्ट ऐननियम, संस्थागत व्यवस्था, योजना तथा कार्यक्रमको अभाव तथा जिम्मेवार संयन्त्रको अभावका कारण काठमाडौंमा हरियाली प्रवर्द्धन प्रभावकारी हुन सकेको छैन। स्थानीय सरकारमार्फत सार्वजनिक जग्गाको पहिचान, तिनको प्राप्ति र प्रयोग महत्त्वपूर्ण मानिन्छ। यस्ता स्थानहरूको संरक्षण गर्नाले विपद् व्यवस्थापनसहित वातावरणको बृहत्तर पक्षमा लाभ मिल्ने अपेक्षा गर्न सकिने वातावरणविदहरू बताँउछन्।

प्रकाशित: २२ फाल्गुन २०७८ ०८:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App