७ वैशाख २०८१ शुक्रबार
समाज

मामाद्वारा भारत पुर्‍याइएकी बालिकालाई फर्काइयो

आफ्नै मामाद्वारा भारत पुर्‍याइएकी नेपालगन्जकी १६ वर्षीया बालिकालाई घर फर्काइएको छ। नेपालगन्ज उपमहानगरपालिका–२ निवासी ती बालिकालाई करिब १० वर्षअघि ६ वर्षकी हुँदा आफ्नै मामाले घरबाटै भारत पुर्‍याएका थिए।

बालिका भारतको अल्मोडा जिल्लाको राजकीय बालगृह ‘किशोरी बख’मा थिइन्। नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र अधिकारकर्मीको टोलीले भारतबाट फर्काएर उनलाई घरमा ल्याएका हुन्।

बालिकाकी आमाका अनुसार मामाले बालिकालाई कोही नभएको मौका छोपी घरबाटै ‘चोरेर’ भारत पुर्‍याएका थिए। भान्जीलाई भारतमै राखेका मामाले यौन दुव्र्यवहारको समेत प्रयास गरेपछि प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो।

अदालतको फैसलापछि मामा जेल चलान भए भने बालिकालाई बालगृहमा राखियो। चार वर्षदेखि बालगृहमा बस्दै आए पनि उनको पहिचान गर्न समस्याका साथै कानुनी जटिलताका कारण सहजै फर्काउन कठिनाइ भएको थियो। मामाविरुद्ध अदालतमा मुद्दा चलिरहेको र बालिका बालगृहमा रहेको भन्ने जानकारी घरपरिवारकहाँ पुगेपछि मात्र घटनाको वास्तविक रहस्य पत्ता लागेको बालअधिकारकर्मी ऋतिक शाहीले बताए।

‘यी बालिका भारतको बालगृहमा रहेको पत्ता लागेपछि हामी उनलाई फर्काएर ल्याउने काममा जुट्यौं तर त्यति सजिलो थिएन। बालिका सहजै पहिचान हुन नसकेपछि बालगृहले डिएनएन रिपोर्ट खोज्यो, त्यसपछि हामी बालिकाको बुवा र आमालाई सँगै लिएर डिएनए परीक्षण गर्न गयौं। रिपोर्ट मेल खाएपछि बालगृहले बालिकालाई अहिले बालिका जिम्मा लगाएको हो,’ उनले भने।

बालगृहले सरकारी प्रतिनिधिकै रोहवरमा बालिकालाई जिम्मा लगाउने बताएपछि नेपालगन्जबाट वडा २ का वडाध्यक्ष सुनिलसिंह हमाल, नेपालगन्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत पवित्राकुमारी पुरी, निर्मला पौडेल, बाल अधिकारकर्मी सल्मान सल्मानीलगायत केही दिनअघि भारत पुगेका थिए।

आशा मारिसकेकी बालिका करिब १० वर्षपछि घरमा फर्केर आएपछि अहिले उनलाई हेर्न छिमेकी तथा आफन्तको भिड लागेको आमाले बताइन्। ‘१० वर्षपछि छोरीलाई सकुशल पाउँदा हामी धेरै नै खुसी छौं,’ आमाले नागरिकसँग भनिन्, ‘घरवरिपरिका छिमेकी मात्र होइन, आफन्तहरू पनि आएर छोरीलाई भेटिरहेका छन्।’ उनका दुई छोरी र तीन छोरामध्ये पीडित बालिका जेठी हुन्।

विपन्न परिवारकी बालिकालाई पुनःस्थापना गर्न सरकारी तथा गैरसरकारी निकायबाट सहयोग आवश्यक रहेको वडा २ का वडाध्यक्ष हमालले बताए। ‘डिएनएन परीक्षण रिपोर्ट मिलेपछि बालिका आफ्नो घरमा फर्किन पाइन्,’ उनले भने, ‘अब यिनलाई पुनःस्थापना गर्नुपर्ने अवस्था छ।’ सबैको सहयोग र सहकार्यले बालिकालाई घर फिर्ता गराउन सफल भएको हमालले बताए। नेपालगन्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापामगरले भारतको बालगृहबाट घर फर्काइएकी बालिकाको पुनःस्थापनालगायत शिक्षादीक्षाका लागि उपमहानगरपालिकाले आवश्यक सहयोग गर्ने बताइन्। यसमा आवश्यक सहयोग गर्न सबै निकायलाई उनले आग्रह गरिन्।

प्रकाशित: १८ फाल्गुन २०७८ ०४:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App