२७ श्रावण २०७९ शुक्रबार
समाज

जुम्लामा वैज्ञानिक बिनाका अनुसन्धान केन्द्र

भेडाबाख्रा अनुसन्धान कार्यक्रम गुठिचौर

बागवानी जन्यवालीहरुमा अध्ययन अनुसन्धान गर्ने र गुणस्तरीय कलमी बेर्ना, तरकारीहरुको बीउ उत्पादन गरेर किसानलाई सिफारीस गर्ने उद्देश्यले २०२४ सालमा बागवानी अनुसन्धान केन्द्र जुम्लाको राजीकोटमा स्थापना भयो।

यहाँ स्थापना कालदेखि नै प्रभावकारी अनुसन्धान हुन सकेको छैन। दक्ष जनशक्तिको अभावले नयाँ जातको बीउ अनुसन्धान गरेर किसान संग पुर्‍याउन नसकिएको बागवानी अनुसन्धान केन्द्र राजिकोटका प्रमुख राजकुमारी गिरी बताउँछन्। बागवानी अनुसन्धान केन्द्रमा तीन जना वैज्ञानिकको दरबन्दी छ। तर एक जना मात्रै छन्।

प्राविधिक अधिकृतको दरबन्दी तीन जनाको छ। तीनै जना प्राविधिक अधिकृत छैनन्। यो अनुसन्धान केन्द्रले कर्णालीको उच्च पहाडमा हुने वागवानी कृषि वस्तुको अध्ययन अनुसन्धान गर्छ। बागवानी अनुसन्धान केन्द्रमा १९ जनाको दरबन्दी हुन्छ। १३ जना मात्र कार्यरत छन्। तर अनुसन्धानको लागि आवश्यक जनशक्ति नहुँदा अनुसन्धानका सबै काम रोकिएका छन्।

सोचे अनुसारको अनुसन्धानको काम हुन नसकेको प्रमुख गिरी बताउँछन्। उनले भने, ‘सरकार अनुसन्धानका लागि केन्द्र खोल्छ तर प्रयाप्त दक्ष जनशक्ति पठाउन नसक्दा अनुसन्धान प्रभावकारी हुन सक्दैन। यो बिडम्वना हो।’ अनुसन्धानको काम ठप्प भएको छ। तर जनशक्ति अभावले जुन तरिकाले अनुसन्धान हुनुपर्ने हो त्यो हिसाबले हुन सकेको छैन।

किसानहरुलाई नयाँ जातको बालीको अनुसन्धान गरेर बीउ उपलब्ध गराउने भन्दै २०२७ सालमा कृषि अनुसन्धान केन्द्र विजयनगरको स्थापना भयो। नयाँ जातको बीउ उत्पादन गरेर किसानलाई उपलब्ध गराएर उत्पादन वृद्धि गर्ने लक्ष्य थियो। जग्गा, जनशक्ति र सिचाइँको अभावले गर्दा अनुसन्धानमा प्रभाव परेको कृषि अनुसन्धान केन्द्र प्रमुख नारायण मण्डल बताउँछन्।

प्राविधिक अधिकृतमा मण्डल एक्लो हुन्। उनले कार्यालय प्रमुखको पनि जिम्मेवारी सम्हालेका छन्। एक जना रेशमबाबु अमगाइ नाम गरेका वैज्ञानिक सरुवा भएर आउँदैछन्। मण्डलका अनुसार चार जना प्राविधिक अधिकृतमा एक जना आफु मात्रै र पाँच जना वैज्ञानिकको दरबन्दी रिक्त छ।

प्रमुख मण्डलले भने,‘दक्ष जनशक्ति वैज्ञानिक नहुँदा नयाँ जातको बालीमा अनुसन्धान हुन सकेको छैन। किसानलाई सिफारीस गर्न सकिएको छैन। अनुसन्धानको लागि प्रायप्त जमिन नहुँदा दक्ष कर्मचारी आउन समेत मान्दैनन्।’

जुम्लामा रहेका अनुसन्धान केन्द्रमा आउने कर्मचारी पेलिएर आएको अनुभुति गर्छन्।  उनले भने,‘जमिन हुनुपर्छ। वैज्ञानिक मात्र आएर पनि काम छैन।’ १८ जना दरबन्दी रहेको कृषि अनुसन्धान केन्द्रमा ११ जना मात्र कार्यरत छन्। जसमध्ये ५ जना कार्यालय सहयोगी छन्। पटक पटक दक्षजनशक्तिको परिपुर्तिको लागि कृषि अनुसन्धान परिषदमा माग गरेको भएपनि सुनुवाई भएको छैन।

देशभर दक्षजनशक्ति अभाव भएको भन्दै पठाउन नमानेको कर्मचारीहरु बताउँछन्। डा.रमेश शाह भेडाबाख्रा अनुसन्धान कार्यक्रम गुठिचौर र उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानको प्रमुख हुन्। जनशक्ति अभावमा दुई कार्यालयमा उनले नै प्रमुखका रुपमा काम गरिरहेका छन्। भोडाबाख्रा अनुसन्धान कार्यक्रममा तीन जना वैज्ञानिकको दरबन्दी छ। एक जना मात्र कार्यरत छन्।

प्राविधिक अधिकृतमा ३ जना दरबन्दी भएकोमा तीनै जना प्राविधिक अधिकृत छैनन्।  भेडाबाख्रा अनुसन्धान कार्यक्रममा २२ जनाको कर्मचारी दरबन्दी भएकोमा ८ जना कार्यरत छन्। उच्च प्रवतीय कृषि अनुसन्धान प्रतिष्ठानमा १८ जनाको दरबन्दी भएकोमा ३ जना मात्र कार्यरत छन्।

डा. शाहले भने,‘यहाँका अनुसन्धान केन्द्र नाम मात्रका छन्। दरबन्दी अनुसारको दक्ष जनशक्ति नहुँदा अनुसन्धानको काम अघि बढ्न सकेको छैन। विभिन्न कृषि तथा पशुवस्तुको अनुसन्धानका लागि चार वटा अनुसन्धान केन्द्र छन्। तर कुनै पनि अनुसन्धान केन्द्र प्रभावकारी रुपमा सञ्चालन हुन सकेका छैनन्।

जनशक्ति नहुँदा अनुसन्धानमा नराम्ररी असर परेकोछ, डा. शाहले भने,‘भने जस्तो अनुसन्धान हुन सकेको छैन। कर्मचारी माग गरिएको भएपनि नयाँ नियुक्ती लिन नसकेकोले समस्या छ। यो समस्या देशभरका अनुसन्धान केन्द्रमा छ।’

भेडा बाख्रा अनुसन्धान कार्यक्रम २०२७ सालमा स्थापना भएको हो। भेडा र बाख्रा सम्बन्धि अध्ययन अनुसन्धान गरेर स्थानीयलाई सेवा दिने लक्ष्य राखिएको थियो। यहाँ  अहिले चार वटा जातको भेडा छ। स्वदेशी बर्नवाल, भ्याङलुङ, उन्नतमा रोम्ली मार्क र कुपोर्थ जातको छ। जनशक्ति नहुँदा बजेट कटौती भएको छ।

उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान उच्च पर्वतमा हुने कृषि र पशुमा भइरहेको अनुसन्धालाई पुर्णता दिने काम हो। २०७१ सालमा स्थापना भएको यो प्रतिष्ठानमा अहिले जनशक्तिको अभाव छ। मर्म अनुसारको काम हुन सकेको छैन। जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा जुम्लामा स्थापना भएका अनुसन्धान केन्द्रको प्रभावकारीता कम हुदै गएको बताउँछन्।

जुम्लामा भइरहेको अनुसन्धान कार्य हाल आएर वैज्ञानिकहरु तथा कृषि अधिकृतहरुको दरबन्दी रिक्त देखिन्छ, उपप्रमुख बुढाले भने,‘अनुसन्धान प्रभावित छ। राज्यले गर्दै आएको लगानीको दुरुपयोग भएको छ। यो राम्रो भएन।’

कृषि अनुसन्धान परिषद खुमलटारलाई उपप्रमुख बुढाले तत्काल दक्षजनशक्तिहरुको व्यवस्थापन मिलाई अनुसन्धान कार्यमा तीब्रता दिन आग्रह गरेका छन्। जिल्ला समन्वय समितिको तर्फबाट उपप्रमुख बुढाले कृषि अनुसन्धान परिषद खुमलटारमा ध्यानाकर्षण पत्र समेत पठाएका छन्। उनले जनशिक्तको अभावमा अनुसन्धान कार्य प्रभावित नहुने गरि व्यवस्थापन मिलाउनको लागि माग समेत गरेका छन्। 

प्रकाशित: २ फाल्गुन २०७८ १७:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App