४ वैशाख २०८१ मंगलबार
समाज

अरुबेला सधैं सास्ती, कोरोना खोपमा भाग्यमानी

राज्यले चाहे दुर्गममा पनि सहज हुने रहेछः स्थानीय

गोरखा सदरमुकामबाट कोरोना बिरुद्धको खोप लिएर उत्तरी गोरखा जाँदै गरेको हेलिकप्टर। फाइल तस्बिरः नागरिक

गोरखाको सबैभन्दा दुर्गम गाउँपालिका हो चुमनुब्री। चुमनुब्रीका पनि दुर्गम गाउँ हुन् छेकम्पार र सामागाउँ। ती गाउँबाट जिल्ला सदरमुकाम आउन कम्तिमा एकसाता पैदल हिड्नुपर्छ। यतिसम्मकी गाउँपालिकाको केन्द्र रहेको सिर्दिबास पुग्न पनि ती गाउँका बासिन्दालाई कम्तिमा तीनदिन लाग्छ। कतिपय गाउँका बासिन्दालाई आफ्नै वडा कार्यालयमा पुग्न पनि एकदिन लाग्छ।  

यो गाउँमा अझै यातायातका साधनको पहुँच पुगेको छैन। संचार पनि बेलैमा हुँदैन, विद्युत सहज छैन। शिक्षा र स्वास्थ्यमा उत्तिकै असुविधा छ। सबैभन्दा कम स्वास्थ्यकर्मी यही गाउँपालिकामा छन्। गाउँपालिकाका बासिन्दा बिरामी परे हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन। गाउँलेलाई मात्र दुख होईन की ती गाउँसम्म प्रशासनको पनि पहुँच सहज छैन। हरेक कुरामा त्यहाँका बासिन्दाले सास्ती खेप्दै आएका छन्। तीब्बतसँग सिमा जोडिएका ती गाउँका बासिन्दाले कहिल्यै सुविधा भोग्न पाएका छैनन।

सबै क्षेत्रमा पिछडिएको ती गाउँका बासिन्दाले कोरोना विरुद्धको खोपमा भने सहज पहुँच राख्न सके। बरु, सदरमुकाम क्षेत्रका बासिन्दाले कोरोना विरुद्धको खोप नपाउँदा ती दुर्गम गाउँका बासिन्दाले सहजै खोप लगाउन पाए। झन्डै सातहजार जनसंख्या रहेको गाउँपालिकाका करिब ९० प्रतिशत नागरिकले खोप पाएका छन्।  

चुमनुब्री गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङ भन्छन, ‘कोरोना विरुद्धको खोपमा राज्य एकजुट हुँदा दुर्गम गाउँका बासिन्दाले पनि खोपमा सहज पहुँच राख्न पाए। बरु सुगम क्षेत्रमा भनेको बेला सर्वसाधारणले खोप पाएनन, तर, दुर्गमका बासिन्दाले सहजै पाए।’ उनका अनुसार ती गाउँका बासिन्दा असुविधै असुविधाको भूमरीमा बाँचिरहेका छन् । कुनैपनि क्षेत्रमा सहज पहुँच छैन।  

‘जनताले कुनै सास्ती बिना कोरोना विरुद्ध खोप पाउन पाउँदा भाग्यमानी ठानेका छन। सबैतिर कष्ट भोगिरहँदा कोरोना विरुद्धको खोपमा भने निकै नै सहज भयो,’ उनले भने, ‘हेलिकप्टरमा खोप गाउँगाउँ पु¥याएर जनतालाई लगाइयो। सायद गाउँका बासिन्दाले सधैं यस्तै सुविधा खोजिरहन्थे। तर, त्यो सास्ती कोरोना विरुद्धको खोप पाउन परेन।’ सबैभन्दा बढी कष्ट बिरामी हुँदा उपचारमा खेपिरहेका गाउँलेले अहिलेको महामारी विरुद्ध सास्ती बिना गाउँगाउँमै खोप पाउँदा खुसी भएको उनले बताए।  

यस्तै उदाहरण हिमाली जिल्ला मुस्ताङसँग छ। वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–५ मा पर्छ साङता गाउँ। अहिले साङता हुँदै उपल्लो डोल्पाको छार्का जोड्ने गरि सडक निर्माण भईरहेको छ। साङता गाउँसम्म पुग्नेगरि बेनी–जोमसोम–कोरला सडक अन्तर्गत एक्लेभट्टीदेखि करिब ४६ किलोमिटर सडकको ट्रयाक खुलेको छ। यो कच्ची सडकमा ट्रयाक्टरसम्म गुड्छन। साङतादेखि डोल्पाको याकखर्कसम्म करिब ४० किलोमिटर सडक पनि निर्माणको तयारी छ। कर्णाली र गण्डकी प्रदेश जोड्नेगरि अहिले सडक निर्माण हुँदैछ। साङता डोल्पाको सिमानादेखि नजिकको गाउँ हो।  

वारागुँ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार जिल्लाको सबैभन्दा दुर्गममा पर्ने साङता गाउँका बासिन्दाले सबैखालका असुविधा भोगिरहँदा कोरोना विरुद्धको खोपमा भने सहज पहुँच पाउन सके। उनका अनुसार साङतामा १३ घर छन। त्यो गाउँको जनसंख्या करिब ४० छ। उनका अनुसार गाउँ पुग्ने मोटरबाटोको ट्रयाक मात्र खुलेको छ। हिउँदमा हिउँ जमेर गाडी गुड्दैन। पानी कम पर्ने हुँदा वर्षायाममा मुस्किलले ट्रयाक्टरसम्म गुड्न सक्छ। विद्युतको पनि असुविधा छ । संचार पनि सहज छैन। स्वास्थ्य र शिक्षामा पनि उत्तिकै पिछडिएको गाउँ हो। आउजाउको असुविधाले कतिपय बासिन्दा अत्यावश्यक काम नपरी सदरमुकाम झर्दैनन। समुद्री सतहदेखि करिब चारहजार मिटरको उचाईको गाउँमा भएको विद्यालय पनि विद्यार्थी अभाव भएपछि अर्कैसँग मर्ज भएको छ।

‘सबैभन्दा बढी समस्या भोगेको गाउँ नै साङता हो। सबैखाले असुविधाबाट त्यो गाउँका बासिन्दा अभ्यस्त छन,’ वारागुँका अध्यक्ष गुरुङले भने, ‘सबैभन्दा बढी समस्या बिरामी पर्दा हुने हो। आउजाउ सहज नभएपछि बिरामी पर्दा हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन।’ असुविधै असुविधा भोगिरहेको त्यो गाउँका बासिन्दाले कोरोना विरुद्धको खोप भने सहजै पाउँदा खुसी भएको उनले बताए। ‘यति सहज तरिकाले खोप पाउने दुर्गम गाउँका बासिन्दालाई भाग्यमानी मान्नुपर्छ। किनकी अरु सबै सुविधाबाट उनीहरु बञ्चित थिए। तर, कोरोना विरुद्धको खोपमा मात्र सहज पहुँच भयो,’ उनले भने।  

उनका अनुसार गाउँलेलाई यतिसम्मको असुविधा छ की हिउँदमा गाउँ नै अर्काे ठाउँमा बसाई सर्छ। अधिकांश सदरमुकाम जोमसोममा झर्छन। च्याङग्रा र याक पालेर भएको आम्दानीले उनीहरुले गुजारा टार्छन। उनका अनुसार साङताबाट तीनदिन पैदल हिडे डोल्पाको छार्का पुगिन्छ। ‘आधा बाटोसम्म मोटरसाइकलमा खोप ढुवानी ग¥यौ, त्यसपछि बोकेरै गाउँमा पु¥याएर खोप लगाएका हौ,’ उनले भने।  

मुस्ताङका स्वास्थ्य कार्यालय प्रमुख टिकाराम भण्डारीका अनुसार दोहो¥याएर ढुवानी गर्न असुविधा भएपछि एक मात्रा लगाए पुग्ने जोन्सनको खोप साङताका बासिन्दालाई लगाइएको हो। ‘निकै नै असुविधा भोगेको गाउँ हो। तर, राज्यले चाहे सबै अप्ठेरा ठाउँसम्म पनि कोरोना विरुद्धको खोप सहजै पु¥यायौ,्’ भण्डारीले भने। उनका अनुसार कोभिड खोपमा राज्यको प्राथमिकतामा पर्दा साङता मात्र नभई मुस्ताङका अरु दुर्गम गाउँहरु लो–घेकरका यारा र घाराजस्ता गाउँमा पनि सहजै पु¥याउन सकिएको थियो।

 ‘बच्चाका लागि खोप पनि त्यहाँ घुम्ति क्लिनिकमार्फत लगाइन्छ। कोभिडको बेला जनचेतनाका कार्यक्रम पनि गरिएको हो। सामान्य अवस्थामा अरु बेला पहुँच पुग्दैन,’ उनले भने, ‘सबैतिर असुविधा भोगेको बासिन्दाले कोरोना विरुद्धको खोपमा भने सहजता अनुभूति गरेका छन।’ थोरै जनसंख्या भएपनि सबै गाउँलेलाई सदरमुकामसम्म बोलाउन असहज भएपछि जसोतसो गाउँसम्मै ढुवानी गरेको उनले बताए।  

यस्तै अनुभव म्याग्दीको धवलागिरी गाउँपालिका –१ गुर्जाका बासिन्दासँग पनि छ। गुर्जाको त उखानै छ ‘गुर्जामाथि गाउँ छैन, टुप्पि माथि ठाउँ छैन।’ उखानले भने झै गुर्जा साच्चै दुर्गम गाउँ हो । वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार म्याग्दी सदरमुकाम बेनीदेखि गाउँपालिका केन्द्र मुनासम्म गाडी जान्छ। यो करिब ३५ किलोमिटर दूरी हो। मुनाबाट थप एकदिन पैदल हिडेर गुर्जा पुगिन्छ। यो गाउँको जनसंख्या १५ सय हाराहारीमा छ। २६० घर एकै गाउँमा छन।  

यहाँका बासिन्दाले हिउँदमा हिमपातको सास्ती खेप्नुपर्छ। करिब २७ सय मिटर उचाईको यो बस्तीमा मान्छे बिरामी परे हेलिकप्टर चार्टर गरेर सहर झार्नुको विकल्प छैन। त्यसका लागि करिब डेढलाख रुपैयाँसम्म खर्चनुपर्छ। संचार सहज छैन। विद्युत पनि नियमित हुँदैन। सदरमुकाम आउँदा बासै बस्नुपर्छ। दश कक्षासम्म गाउँमै पढ्न पाएपनि त्यसपछिको अध्ययनका लागि सदरमुकाम आउनुको विकल्प छैन। ‘सकेसम्म गाउँलेले सदरमुकाम झर्नु नपरे हुन्थ्यो भन्छन, किनकी आउजाउ नै महंगो पर्छ,’ छन्त्यालले भने।  

‘अत्यावश्यक काम नहुँदा सदरमुकाम नझर्ने गाउँलेले कोरोना विरुद्धको खोप भने सहजै भए,’ उनले भने, ‘सहरतिर खोपमा लुछाचुँडी भईरहेको बेला दुर्गम गाउँका बासिन्दालाई सरकारले प्राथमिकता दिँदा जनता खुसी भए।’ उनका अनुसार गाउँलेले त्यत्ति सहजै खोप पाउने आश गरेका थिएनन। तर, बोकाएरै ढुवानी गरेरै भएपनि गाउँमा सहजताका साथ खोप लगाउन सकियो,’ उनले भने।  

उनका अनुसार अहिलेसम्म गुर्जाका कोहि पनि बासिन्दा कोरोनाबाट संक्रमित समेत भएका छैनन। ‘यति सहजै खोप पाइएला कसैको अनुमान थिएन। सहरतिर लुछाचुँडी भएको बेला गाउँलेले आश मारेका थिए। तर, राज्यले चाहेमा गर्न नसक्ने केही रहेनछ। सधै र सबैखाले असुविधा भोगेका गाउँलेले खोपमा भने विभेद खेप्नु परेन’ उनी भन्छन, ‘चुनावमा भोट हाल्न बाहेक गाउँलेले सहजै सुविधा पाएको कोरोना विरुद्धको खोपमा मात्र हो। नत्र सधैंको दुख गाउँलेलाई छ। ’

प्रकाशित: २७ माघ २०७८ १०:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App