७ वैशाख २०८१ शुक्रबार
समाज

एउटा चुँडिएको पोते

उनले पोते उन्न थालेको झण्डै ६ दशक भइसक्यो। भक्तपुर सुकुलढोकाकी ६८ वर्षीया हमिदुन निशा शेखले बाल्यकालदेखि नै पोते उन्ने गरेको सुनाइन्। २० वर्षमै वैवाहिक जीवनमा बाँधिएकी हमिदुनको लगनको पोते भने २५ वर्षको कलिलो उमेरमै चुँडियो।

‘मेरो पोते त उही बेला नै चुँडिएको,’ भक्तपुरको सुकुल ढोकामा बुधबार राता र हरिया लगनका पोतेमा बलिया धागा कस्दै उनले भनिन्, ‘अब कसैको पनि पोते नचुँडियोस् जस्तो लाग्छ।’

मल्लकालमै उनको पुर्खा भक्तपुरमा आएका हुन्। उनले भने अनुसार उनी पाँचौ या छैंटौ पुस्ता रे। त्यस्तै अर्को पुस्ता त्यतिबेलैदेखि असन इन्द्रचोकमा आएर पोतेको काम गर्न थालेको थियो। बाल्यकालमा पोते उन्दै गर्दा उनलाई पनि पोते लगाउन रहर निकै पलाउने गरेको उनले सुनाइन्।

२०३० सालतिर २० वर्षको छँदा इन्द्रचोकका सरफुद्धिन मियासँग मेरो विवाह भएको हो,’ उनले भनिन्, ‘विवाहको पाँच वर्षपछि २०३५ सालतिर उहाँको निधनसँगै म एक्ली भएँ।’

उतिबेला विवाहलगत्तै दुवै भक्तपुरमा आई पेशालाई निरन्तरता दिँदै आएको उनले सुनाइन्। ‘पोतेसँगै हामीले निकै सपना पनि बुनेका थियौं,’ उनले आँसु पुछ्दै बेदना पोखिन्, ‘उनको मृत्युसँगै मेरा सबै खुसी छरिए।’

सन्तान नभएकी हमिदुनले केटाकेटी निकै मनपराउने कुरा सुनाइन्। ‘साना नानीहरूलाई केही सहयोग गर्न पाउँदा म फुरुङ्ग हुन्छु,’ उनले भनिन्,‘केटाकेटी पनि फूलका माला जस्तै प्रिय र सुन्दर लाग्छ मलाई।’

अहिले पनि भक्तपुरको उनको पसलमा इन्द्रचोकबाटै पोते आउँछ। उताबाट पोते आउँदा आफूलाई सरफुद्धिनले निकाहमा ल्याएको त्यही रातो मंगलसूत्रको याद आउने गरेको उनले सुनाइन्। ‘पोतेको प्रत्येक दानामा म नयाँ जीवन देख्छु,’ उनले भनिन्, ‘उन्दै गर्दा जब धागो चुँडिन्छ तब म झसङ्ग हुन्छु।’

नारीको जीवनमा लगनको पोतेको निकै महत्व हुने उनले बुझेकी छिन्। त्यसैले उनी काठ क्षेत्रबाट आउने ग्राहकका लागि बलियो धागोमा पोते उनेर बेच्ने गर्छिन्। ‘हुन त मेरो व्यापार पनि हो,’ उनले थपिन्, ‘तर, यहाँबाट लगनको पोते कहिल्यै नचुँडियोस् भन्ने चाहन्छु।’  

पोते चुँडिदा त्यसका गेडाहरू उठाउन मुस्किल भए जस्तै विगतको याद सम्हाल्न आफूलाई निकै मुस्किल हुने गरेको उनले सुनाइन्। ‘जति बिर्सिन खोज्यो त्यति यादहरू पनि ताजा हुँदा रहेछन्। यादमा मात्रै भए पनि रमाउनुपर्ने रहेछ,’ उनले भनिन्, ‘आफ्नो पोते चुँडिए पनि अरू पोतेहरूसँग गहिरो माया बसेको छ।’

छ दशकको लामो समयमा उनले दशौं हजार लगनका पोते जोडिसकेको सुनाउँछिन्। नयाँ दुलहीहरू रंगीविरगी पोतेमा सजिएर हिँड्दा आफूलाई निकै खुसी लाग्ने गरेको उनले सुनाइन्। उनलाई अहिले जीवनप्रति निराशा र मृत्युप्रति मोह पनि छैन। तर, एकदिन उनी आफ्नो पोते पनि जोडिने सुनाउँछिन्। ‘सबैको खुसीमा आफ्नो खुसी देख्ने गरेको छु,’ उनले अनायास मुस्कुराउँदै भनिन्, ‘एक दिन मेरो पोते पनि उतै(परलोक) गएर जोडिने छ।’

प्रकाशित: १३ माघ २०७८ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App