गोरखाको जनसंख्या २०४८ साल अर्थात ३० वर्षअघिभन्दा कम भएको छ। २०७८ सालको जनगणना अनुसार गोरखाको जनसंख्या दुई लाख ५२ हजार दुई सय एक रहेको छ। एक लाख ३२ हजार तीन सय ९० जना महिला र एक लाख १९ हजार आठ सय ११ जना पुरुष रहेको जनगणना कार्यालय गोरखाले जनाएको छ।
जनसंख्या वृद्धिदर माइनस दशमलव ६९ प्रतिशत रहेको छ। २०६८ मा दुई लाख ७१ हजार ६१ रहेको गोरखाको जनसंख्या २०५८ मा दुई लाख ८८ हजार एक सय ३४ रहेको थियो। २०४८ मा दुई लाख ५२ हजार पाँच सय २४ रहेको गोरखाको जनसंख्या अहिले तीन सय २३ ले घटेर दुई लाख ५२ हजार दुई सय एक रहेको छ। ‘२०४८ भन्दा पनि २०७८ मा जनसंख्या कम देखियो’, तथ्याङ्क कार्यालयका प्रमुख महेशप्रसाद ढुङ्गानाले भने, ‘यो जनगणनाको प्रारम्भिक तथ्याङ्क हो, यसलाई ९९ प्रतिशत आधार मान्न सकिन्छ।’ अहिले जनसंख्याको वृद्धि अनुपात घटेको उनले बताए।
गोरखामा परिवार संख्या ७२ हजार नौ सय ६८ रहेको छ भने परिवार संख्या ६८ हजार चार सय ९४ रहेको छ। परिवारको औषत संख्या ३.४६ प्रतिशत र जनघनत्व ७० प्रतिशत रहेको तथ्याङ्क कार्यालय गोरखाका प्रमुख ढुङ्गानाले बताए।
गोरखामा विदेश गएकाहरुको संख्या २३ हजार ३५ रहेको छ। यी मध्ये १९ हजार पुरुष र चार हजार ३५ महिला रहेका छन्। यो विदेश गएका तर फर्कनेहरुको तथ्यमाङ्क रहेको कार्यालयले जनाएको छ। यसलाई अनुपस्थित जनसंख्याको रुपमा लिइन्छ। परिवारसहित विदेश गएर बसेकाहरुको तथ्याङ्क भने यसमा समेटिएको हुँदैन।
प्रकाशित: १२ माघ २०७८ २०:१५ बुधबार