coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भेरी अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

बाँकेमा कोरोना संक्रमित दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। बर्दियाका ७१ वर्षीय पुरुष र कालिकोटाका १६ वर्षका बालकको भेरी अस्पतालमा मृत्यु भएको हो।  

कोरोना संक्रमित कालिकोट, शुभकालिका वडा नम्बर ५ का १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले पुष्टी गरेको छ। उनलाई यही माघ ४ गते पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ भएको थियो। भोलिपल्ट भेरी अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा बुधबार बिहान ११ः१५ बजेतिर मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।  

मृतक बालक बाख्रा चराउन जंगलमा गएका बेलामा लडेर घाइते भई उपचार गराउन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर आएका थिए। कोरोना संक्रमण देखिएपछि उनलाई पछि भेरी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो।  

यसैगरी मधुवन नगरपालिका वडा नम्बर ६ बर्दियाका ७१ वर्षीय पुरुषको मंगलबार राती साढे १० बजे मृत्यु भएको हो। भेरी अस्पतालमा यही माघ १० गते पिसिआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही दिन भर्ना गरिएको थियो।  

कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका ३ सय ४६ र जिल्ला बाहिरबाट उपचारका लागि आएका ४ सय ३९ जनाको मृत्यु भइसकेको फोकल पर्सन ओलीले बताए।

प्रकाशित: १२ माघ २०७८ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App