७ वैशाख २०८१ शुक्रबार
समाज

कर्णाली प्रदेश प्रहरीको ६ महिने प्रगतिः लागुऔषधदेखि यार्सागुम्बासम्म

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत। तस्बिरः गोविन्द/नागरिक

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले गरेको अर्ध वार्षिक (६ महिना) प्रगतिमा कर्णालीमा झेलिँदै गएको लागुऔषधदेखि चोरी निकासी हुँदै गरेको यार्सागुम्बा, कस्तुरीको विना, अवैध (कर छली) का सामान बरामद गरेको उल्लेख छ।

कर्णाली प्रदेश प्रहरीले नदीजन्य उत्खननमा नियन्त्रण, अवैध वन्यजन्तु तथा वन पैदावार, जडीबुटी चोरी निकारी रोकथाम, अवैध भन्सार छलीका सामान बरामद, लागुऔषध दुर्व्ययसनी तथा अवैध बेचबिखन गर्नेलाई पक्राउ र लागुऔषध बरामद तथा अन्य जनचेतनामुलक कार्यक्रमहरु लगायतका अन्य कुराहरु आफ्नो अर्ध वार्षिक कार्य प्रगति विवरणमा उल्लेख गरेको छ।

लागुऔषधसहित ९० जनालाई पक्राउ गरी उनीहरुबाट ५९ ग्राम ३३३ मिलिग्राम ब्राउन सुगर, १ किलो २१३ ग्राम चरेश बरामद गरी कारबाही गरिएको छ। प्रहरीले १ करोड ३४ हजार ५ सय ६४ रुपैयाँ बराबरको अवैध (कर छली) सामग्रीसहित ११ जनालाई पक्राउ गरी राजश्व अनुसन्धान कार्यालयमा पठाइएको प्रगति विवरणमा उल्लेख छ।

त्यस्तै २ सय ७३.६९ क्यूफिट काठ, ५ केजी ३ सय ग्राम यार्सागुम्बा, ४ थान रेडपाण्डाको छाला, ४ थान कस्तुरीको विना, १ थान सालकको खप्परसहित १८ जनालाई पक्राउ गरी आवश्यक कार्बाहीका लागि पठाइएको समेत जनाइएको छ।

कर्णाली प्रदेशमा ६ महिनायता सडक दुर्घटनामा १ सय १८ जनाको ज्यान गएको जनाएको छ। कर्णालीका विभिन्न जिल्लामा २ सय ३ वटा सवारी दुर्घटनामा १ सय १८ जनाको ज्यान गएको र ५ सय १५ जना घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको हो। दुर्घटना न्यूनीकरणका लागि ७ सय ६७ पटक जनचेतनामूलक कार्यक्रम प्रदेशभर गरिएको प्रहरीले जनाएको छ। त्यस्तै ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५ सय १ सवारी साधनलाई कार्बाही गरी ६ महिनायता १ करोड ७१ लाख ९७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।

प्रहरीका अनुसार कर्णालीमा ३ सय ४८ जना प्रहरी पुरस्कृत भए भने १ सय ५८ जना प्रहरीले विभिन्न कसुरमा कार्बाहीमा परे। प्रहरीले जनतामाँझ वा संगठनभित्र नराम्रा गतिविधि गर्नेलाई कार्बाही समेत गर्ने गरेको छ। कर्णालीका दश जिल्लामा समुदाय प्रहरी साझेदार कार्यक्रम अन्तर्गत लागुऔषध, घरेलु हिंसा बाल विवाह न्यूनीकरण लगायत ३ हजार ५ सय ७९ वटा जनचेतना कार्यक्रमहरु गरिएको थियो।

त्यस्तै विभिन्न मुद्दामा फरार १ सय ४१ जनालाई पक्राउ गरी अदालतले सुनाएको जरिवाना र कैंद भुक्तानका लागि पठाइएको समेत उल्लेख छ। कर्णाली प्रदेशमा प्रहरी रातदिन एक गरेर जनताको सेवा तथा अपराध न्यूनीकरणमा लागिरहेको कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी गणेशबहादुर ऐरले बताए। कोरोना भाइरसबाट बच्न प्रहरीले तपाईको मास्क खोइ? जस्ता जनचेनता कार्यक्रम गरिएको छ। प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य चेकजाँच हेल्थ डेस्कमा प्रहरीले सहयोग गरिरहेको छ।

प्रकाशित: ११ माघ २०७८ १३:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App