८ वैशाख २०८१ शनिबार
समाज

सशस्त्र प्रहरी दिवसः शिक्षालयमा कुरिनटार र उत्कृष्ट अधिकृतमा थापा पुरस्कृत

सशस्त्र प्रहरी बलले आइतबार आफ्नो २१ औं स्थापना दिवसको क्रममा विभिन्न बाहिनी, गुल्म, शिक्षालय तथा उत्कृष्ट कार्य गर्ने प्रहरी अधिकारीलाई पुरस्कृत गरेको छ। स्थापना दिवसको अवसरमा सशस्त्रको मुख्यालयमा आयोजित समारोहमा उत्कृष्ट काम गर्ने युनिटहरू र कर्मचारीहरुलाई पुरस्कृत गरेको हो।

यसवर्ष उत्कृष्ट कार्यमा पुरस्कृत हुने अधिकृतहरुमा डिएसपी सुमनजंग थापा, डिएसपी सुमन बोगटी, सशस्त्र प्रहरी बल मुख्यालयमा रहेका सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापा उत्कृष्ट कार्य गरेवापत पुरस्कृत भएका छन्। त्यस्तै इन्स्पेक्टरहरु सुवर्ण पोखरेल, गान्धरकुमार चौलागाईं पनि पुरस्कृत भएका छन्। सशस्त्र प्रहरी बल नेपालको मधेश प्रदेश (तत्कालीन प्रदेश २) महोत्तरीमा रहेको छिन्नमस्ता बाहिनी मुख्यालय उत्कृष्ट भएकोमा पुरस्कृत गरेको हो।  

तालिम शिक्षालयतर्फ चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय उत्कृष्ट भएको छ। केन्द्रीय निरीक्षणमा उत्कृष्ट भएको कुरिनटारको विपद् व्यवस्थापन शिक्षालयलाई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पुरस्कृत गरेका हुन्। विपद् व्यवस्थापन तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अञ्जनीकुमार पोखरेललाई ट्रफी तथा प्रशंसापत्र प्रदान गरेका थिए। उत्कृष्ट शिक्षालय बन्न सफल कुरिनटारको विपद् व्यवस्थापन तालिम शिक्षालय ०५८ मंसिर १८ मा बेसक्याम्पको रुपमा स्थापना भएको थियो।

सो बेसक्याम्प २०६७ वैशाखमा विपद् व्यवस्थापन तालिम शिक्षालयमा रुपान्तरण भयो। त्यसबेला नै नेपालमा पहिलोपटक विपद् व्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको थियो। ०६८ मा मन्त्रिपरिषद्ले सो तालिम शिक्षालयलाई पहिलो विपद् व्यवस्थापन तालिम केन्द्रको रुपमा स्तरोन्नती गर्ने निर्णय गरेको थियो। हाल त्यहाँ विपद व्यवस्थापन सम्बन्धी तालिमहरु सञ्चालनमा रहेका छन्। सशस्त्र प्रहरीका १२ वटा तालिम शिक्षालय मध्येबाट विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटार उत्कृष्ट भएको हो।

सशस्त्र प्रहरी गणतर्फ २८ नम्बर गण कपिलवस्तु उत्कृष्ट भएको छ। गण नम्बर–२८ का गणपति एसपी ध्रुव कार्कीलाई आईजीपी खनालले ट्रफि तथा प्रशंसापत्र प्रदान गरेका छन्। गुल्मतर्फ तेह्रथुमस्थित म्याग्लुङ्ग गुल्म उत्कृष्ट भएको छ। म्याग्लुङ्ग गुल्मका डिएसपी नवराज तामाङलाई सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा सम्मान थियो। त्यस्तै, बिओपी (बोर्डर आउट पोष्ट) तर्फ झापाको टागनडुब्बा बिओपी उत्कृष्ट भएको छ। आईजीपी खनालले सो बिओपीका इन्स्पेक्टर सचिन प्रधानलाई पुरस्कृत गरेका छन्। त्यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले वर्ष जवान–२०७८ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार पारस खाम्चालाई वर्ष जवानको ट्याग प्रदान गरेका थिए।

स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीका ७२ जना सन्ततीहरुको शिक्षाको लागि वार्षिक रुपमा उपलब्ध गराउने गरिएको छात्रवृत्ति रकम तथा १२ कक्षा उत्तीर्ण भई उत्कृष्ट अंक ल्याउने बहालवाला, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्तती २४ जनालाई छात्रवृत्ति स्वरुप उपलब्ध गराईएको नगद कल्याणकारी सेवा केन्द्रबाट उनीहरुको बैंक खातामा जम्मा गरिएको जानकारी दिइएको छ।

यसैगरी ७० वर्ष पूरा भएका अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई जनही १२ हजारको दरले तथा वर्षभरी गम्भिर रोगले ग्रस्त भई उपचार गराई रहेका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुको परिवारजन गरी ७५ जनालाई नगद सहयोग समेत उनीहरुको बैक खातामा जम्मा गरिएको जानकारी दिइएको थियो। सोही कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनालले ब्रेन ट्युमरबाट पीडित सशस्त्र प्रहरी कर्मचारीको परिवार सिजन सुनारलाई नगद ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको थियो।

प्रकाशित: ९ माघ २०७८ १५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App