७ वैशाख २०८१ शुक्रबार
समाज

लापरबाहीले जोखिम बढ्दै

कोरोना संक्रमण तीव्र भए पनि जिल्लामा लापरबाही रोकिएको छैन। जिल्ला प्रशासन कार्यालयले संक्रमण रोकथामका लागि विभिन्न आदेश जारी गरेका छन्। तर आदेशको कतै पालना भएको छैन। जसले गर्दा यहाँका घरघरै संक्रमणका बिरामी बढेका छन्।

३० दिनअघिसम्म कोरोना संक्रमितको संख्या शून्य रहेको जिल्लामा आइबारसम्म ५३ जना सक्रिय संक्रमित पुगेका छन्। संक्रमितको संख्या बढ्दै गए पनि स्थानीयले स्वास्थ्य सतर्कता अपनाएको देखिन्न। संक्रमित दिनहुँ बढ्दै गइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ। १/२ जनाबाहेक सबै जना बैतडीस्थित नेपाल-भारत सीमानाका झुलाघाटमा गरिएको एन्टिजेन परीक्षणका क्रममा पोजिटिभ देखिएका हुन्। स्थानीय तहले बेवास्ता गर्दा सबै संक्रमितहरू आफ्नो तरिकाले सीमानाकाबाट सिधै घर जान थालेका छन्। यसले गर्दा समुदायमा संक्रमण धेरै फैलिन सक्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन फैलिनेबित्तिकै सरकारले सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर एन्टिजेन परीक्षण थालेको थियो। जसअनुसार नाकाबाट भित्रिने नेपाली तथा भारतीयमा कोरोना संक्रमण पुष्टि हुने क्रम बढेको छ। भारततर्फ आवागमन बढी हुने सीमानाकाको कारण कैलाली र कञ्चनपुरपछि सुदूरपश्चिमका ९ जिल्लामध्ये कोरोना धेरै जोखिम भएको बैतडी पनि हो। झुलाघाट नाकाबाट अहिले दैनिक रूपमा सयौंको संख्यामा भारतका विभिन्न सहरबाट नेपाली घर फर्किरहेका छन्। दैनिक ६० देखि ७० जनाको कोरोना परीक्षण भइरहेको छ। भारतबाट भित्रिने धेरैजसोमा कोरोना पोजिटिभ देखिरहेको छ। कोरोना संक्रमण देखिए पनि उनीहरू सिधै घर जाने गरेका छन्।

स्थानीय तहले समन्वय नगर्दा सार्वजनिक सवारीसाधनको प्रयोग गरेरै संक्रमितहरू घर पुग्ने गरेका छन्। गाउँघरतिर होम आइसोलेसनको मापदण्ड पुगेका घर नहुँदा समुदायमा पनि संक्रमणको जोखिम बढिरहेको स्वास्थ्य कार्यालयका प्रमुख भट्ट बताउँछन्।

जिल्लाका अधिकांश स्थानीय तहमा संक्रमित देखिए पनि स्थानीय जनप्रतिनिधिहरूले संक्रमणको समस्या बारे वास्तै गरेका छैनन्। आइसोलेसनबारे सोधपुछ गर्दा सबै पालिकाले आइसोलेसन केन्द्र छन् भन्ने गरे पनि संक्रमितहरू घरै जानुपर्ने अवस्था रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बखतमा स्थानीय तहले चासो देखिए पनि अहिले भने बेवास्ता गर्दै आएका छन्।

जिल्लामा कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका मानिस घरघरमा छन्। तर, अधिकांशले स्वास्थ्य सतर्कता अपनाएका छैनन्। रुघाखोकी र ज्वरो नै आए पनि जाडोको कारण र मौसम परिवर्तनको समयमा यस्तो समस्या आउने भन्दै स्वास्थ्य जाँच नगराई घरमै बस्ने गरेका छन्। कोरोना जाँचका लागि चिकित्सकको परामर्शमा निःशुल्क पीसीआर गरिने भए पनि अस्पताल आउनको संख्या निकै कम छ।

जिल्लामा फैलिरहेको कोरोनाबारे धेरै पटक खबर गर्दा पनि पालिकाबाट बैठकमै सहभागी नहुने गरेको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डले बताए। आफूले समन्वय र जिल्लामा आइसोलेसन केन्द्र बनाउने कार्यको सुरुवात गरेको उनले बताए। अबदेखि सीमानाका झुलाघाटमा देखिएका संक्रमितलाई एम्बुलेन्समार्फत ल्याएर सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका निर्माण भएको आइसोलेसनमा राख्ने जिल्ला प्रशासनले जनाएको छ।

प्रकाशित: ९ माघ २०७८ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App