६ वैशाख २०८१ बिहीबार
समाज

आँखा जचाउन लाहान गएकी वृद्धा मृत फेला

आँखा जचाउन गएकी उदयपुरकी एक बृद्धा दुईदिनपछि मृत भेटिएकी छिन्। सदरमुकाम त्रियुगा नगरपालिका १२ गाईघाटकी ७० वर्षीया लक्ष्मी श्रेष्ठ आँखा जचाउन गत विहीबार छिमेकी जिल्ला सिराहाको लाहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल गएकी थिईन्।  

श्रीमानसंगै अस्पताल गएकी श्रेष्ठ एकाएक सम्पर्कबिहीन हुन पुगेपछि खोजी गर्ने क्रममा उनको शव जिल्ला अस्पताल लाहानको पोष्टमार्टम भवनमा फेला परेको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाँको छ। आँखा उपचार गर्न लाहान गएकी बृद्धा घर नफर्केपछि परिवारजनले उनको फोटो सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै हराएकाले कसैले भेटेमा सम्पर्क गर्न अपिल गरेको थियो।  

तर, भोलिपल्ट खोजी गर्दै जाँदा उनको शव अस्पतालको पोष्टमार्टम भवनमा भेटिएको हो। प्रहरीका अनुसार श्रीमानसँग लाहान गएकी उनले आँखा जँचाएको र चिकित्सकले माघ १० गते शल्यक्रिया (अप्रेसन)का लागि बोलाएको थियो। अस्पताल प्रशासनलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार १० गते आँखा अप्रेसन गर्ने टुंगो गरी घर फर्केकोमा अस्पटतालको पूर्जा छुटेको थाहा पाएर श्रीमान् फर्केका थिए।  

लक्ष्मीलाई गेटअगाडि पर्खन लगाएर पुर्जा लिन अस्पताल छिरेका श्रीमान् पूर्जा लिएर फर्कदा छाडेको ठाउँमा उनलाई नभेटेपछि निकैबेर लक्ष्मीको खोजी गरे। तर, कतै नभेटिदै झमक्क साँझ परेपछि उनी एक्लै गाईघाट फर्केको बताइएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार आँखा अस्पतालदेखि झण्डै ७ किलोमिटर पूर्व कुसाहास्थित सडकमा उनी मृत अवस्थामा फेला परेकी थिईन्।  

पुर्जा लिन अस्पताल गएका श्रीमान् फर्केको नदेखेर उनी त्यहाँसम्म हिड्दै झण्डै ७ किलोमिटर पूर्व आईपुग्दा उनलाई मोटरसाईकलले ठक्कर दिएर घाईते बनाएको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। हिड्दाहिड्दै झमक्क साँझ परेको र आँखा कमजोर भएकाले देख्न बाटो ठम्याउन नसक्दा उनी सडक दुर्घटनामा परेको प्रहरी अनुमान छ। पूर्व–पश्चिम महेन्द्र लोकमार्गमा पैदल हिड्दै गर्दा मोटरसाईकलले ठक्कर दिएर घाईते भएकै बेला लगत्तै तिब्रगतिमा आएको हायस गाडीले किच्दा उनको प्राण गएको प्रहरीको अनुमान छ।

दुर्घटनाको प्रत्यक्षदर्शीले दिएको सूचना अनुसार प्रहरी घट्नास्थल पुग्दा उनको मृत्युृ भईसकेको तर, सनाखत नभएका कारण अस्पतालको जिम्मा दिएकाले पोष्टमार्टम भवनमा उनको शव राखिएको प्रहरी भनाई छ। बेवारिसे अवस्थाको उनको शव खोजी गर्दै गएका आफन्तले पहिचान गरेपछि शुक्रबार सनाखत गरी पोष्टमार्टमपछि परिवारले जिम्मा पाएको उदयपुर प्रहरीले जनाएको छ। घट्ना अर्को जिल्लामा भएकाले उतैको प्रहरीले वास्तविक्ता के हो भन्ने अनुसन्धान गरिरहेको उदयपुर प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताए।  

यता शनिबार दिउसो त्रियुगा नगरपालिका ११ साकेला टोलका एक पुरुष मृत फेला परेका छन्। साकेला टोलका अन्दाजी ५० वर्षीय किरनेम्पा भन्ने टलबहादुर राई घरदेखि १ सय मिटर टाढा बरुवा खोलाकिनारमा मृत भेटिएको प्रहरीले जनाएको छ। डकर्मी काम गरेर परिवार पाल्दै आउका उनको आत्महत्या वा कर्तव्य भन्ने विषय अनुसन्धानपछि मात्र थाहा हुने जनाइएको छ।  

उदयपुर प्रहरी प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार विहान ११ः३० बजे खाना खाएर घरबाट निस्केका उनी केही घण्टापछि नै मृत भेटिएका हुन्। उनको मृत्युको कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र भन्न सकिने गौतमले बताए। मृतकको शव शनिबारै उदयपुर अस्पतालमा पोस्टमार्टम गरी आपन्तको जिम्मा दिइएको प्रहरी भनाई छ।

प्रकाशित: ९ माघ २०७८ १०:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App