८ वैशाख २०८१ शनिबार
समाज

मोरङमा दुई जना मृत अवस्थामा भेटिए

मोरङको कटहरीमा एक जना पुरुष र जहदामा एक जना महिला मृत अवस्थामा फेलमा परेका छन्। कटहरी गाउँपालिका–३ रिङ रोडस्थित नहरको पानीमा ४० वर्षीय अशोक ऋषिदेव मृत फेला परेका छन्। वैजनाथपुर घर भएका ऋषिदेव जहदा गाउँपालिका–३ मा बस्दै आएको खुलेको छ। 

स्थानीयले नहरको पानीभित्र शव देखेपछि प्रहरीलाई घटनाका बारेमा जानकारी गराएको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए। शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगिएको र घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

त्यसैगरी, जहदा गाउँपालिका–७ भीमपुरकी ४४ वर्षीया कल्पनादेवी नुनियाको शव शंकास्पद अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। घर छेउकै ग्वालीमा कपडा ओढाएर सुताइ दिएको अवस्थामा शुक्रबार दिउँसो २ बजेतिर शव भेटिएको एसपी जिसीले बताए।

प्रहरीका अनुसार शवको प्रकृति हेर्दा घाँटीमा डोरीले कसेर हत्या गरे जस्तो देखिन्छ। घाँटीमा डोरीले कसेको डाम एवं चोट रहेको र शव सुताइ दिएको अवस्थामा भेटिएपछि हत्या गरिएको आशंका प्रहरीले गरेको छ।

घटनापछि कल्पनाका २ जना छोरा र बुहारीहरु फरार छन्। घटनापछि जेठा छोरा २८ वर्षीय प्रधुम राजभर र कान्छा छोरा २१ वर्षीय चैतन्य राजभरसहित दुवै जनाका पत्नी फरार रहेको प्रहरीले जनानएको छ। मृतकका छोरा र बुहारी फरार हुनुले पनि हत्याको आशंका थप पुष्टि हुन्छ। फरार रहेकाहरुको खोजी तीव्र पारेर घटनाको अनुसन्धान थालिएको एसपी जिसीले बताए।

कलपनादेवीका माइलो छोरा काम गर्न नारायणगढमा छन्। घरमा कल्पनादेवी, उनका पति विन्देश्वर, २ छोरा र बुहारी तथा बोल्न नसक्ने अवस्थाकी १७ वर्षीया छोरी बस्थे। पतिले पत्नी कल्पनाको हत्या नै भएको आशंकामा अनुसन्धान अघि बढाउन भनेका छन्। शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको र थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: ९ माघ २०७८ ०७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App