घरमा सुत्केरी हुन नसकेपछि जिल्ला अस्पताल हुम्लामा शल्यक्रिया गरेकी एक महिलाको शिशुसहित मृत्यु भएको छ। माघ ५ गते शल्यक्रिया गरेको केही समयमा शिशु र शुक्रबार राती आमाको मृत्यु भएको हो।
शल्यक्रियापछि मृत्यु हुनेमा सिमकोट गाउँपालिका–५ की १८ वर्षीया टिका सार्की रहेकी छिन्। जिल्ला अस्पताल हुम्लाका अनुसार शल्यक्रियापछि फोक्सोमा अक्सिजनको लेवल कम भएपछि मृत्यु भएको जनाएको छ। ‘अप्रेशनपछि फोक्सोमा अक्सिजनको लेवल कम भएर सुत्केरीको मृत्यु भएको हो,’ जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले भने, ‘अप्रेशन सफल भएपनि अक्सिजनको फोक्सोमा लेवल कम भएर सुत्केरीको मृत्यु भएको हो।’
जुम्लाबाट माईतीहरु आएपछि शव नउठाउन खवर आएपछि अहिले सुत्केरीको शव अस्पतालमै छ। छोरीको मृत्यु भएको कारण पत्ता नलाग्दासम्म शव नउठाउन माईतीले भनेपछि पोष्टमार्टम समेत नभएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहले बताए। शनिबार हेलिकप्टर मार्फत थप उपचारका लागि जिल्ला बाहिर लैजाने व्यवस्थापन गरेपनि शुक्रबार राती मृत्यु भएको अस्पतालले जनाएको छ।
परिवारबाट मागेर नभई भागी विवाह भएकाले माईतीले मृत्युबारे शंका गरेकाले पोष्टमार्टम रोकिएको जनाइएको छ। प्रहरीका अनुसार जुम्लास्थित प्रहरी कार्यालयमा माईतीहरु आएका छन्। तर, हुम्ला आउन मौसम फेरबदलका कारण केही दिन लाग्ने जनाइएको छ।
हुम्लामा समयमा प्रसूति सेवा नपाउँदा धेरै महिलाहरुको वर्षेनि ज्यान जाने गर्दछ। यसअघि पौषको अन्तिम हप्ता अदानचुली गाउँपालिका–५ मा शिशुको जन्म दिईसकेपछि ३५ वर्षीया गौउगरा छत्यालको मृत्यु भएको थियो।
प्रकाशित: ९ माघ २०७८ ०६:२६ आइतबार