coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नाकाको लापरबाहीले संक्रमण बढ्दै

फाइद तस्बिर

लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दो छ। रुपन्देहीमा मात्रै सक्रिय संक्रमितको संख्या २ हजार नाघेको छ। संक्रमण दर बढीरहँदा भारतबाट फर्कनेहरुको संख्या सीमा नाकाहरुमा बढीरहेको छ। त्यसरी फर्केकाहरुमा संक्रमण दर उच्च छ।

पछिल्लो एक साता यता मात्रै रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल फर्केका ५ सय बढीमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ। पछिल्लो समय भारतबाट फर्कनेहरु संक्रमणको उच्च जोखिम रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताए।  

संंक्रमणको दर दिनहुँ बढेपनि सीमा नाकाहरुमा भने खासै कडाइ गरिएको छैन। लुम्बिनीमा भारतसंग सीमा जोडिएका ६ वटा जिल्ला छन्। ती जिल्लाका मुख्य नाकाहरुमा मात्रै हेल्थ डेस्क राखी परीक्षणको व्यवस्था गरीएको छ। भित्री तथा सहायक नाकाहरुमा अहिले पनि बिना चेकजाँच आवत भइरहेको छ। सीमा क्षेत्रका भारतीय बजारहरुमा अहिले पनि बजार गर्न जानेहरुको चहल पहल बाक्लै देखिन्छ। किनमेल तथा अन्य काम विशेषले छोटो समयका लािग भारत गएर फर्कनेहरु समेत परीक्षणको दायरामा नपरेको स्थानीयको गुनासो छ।

रुपन्देहीको बेलहिया पारीको सुनौली बजारमा अहिले पनि नेपालीहरु बिना रोकतोक किनमेल गर्न जाने गरेको सीमा क्षेत्रका स्थानीयको गुनासो छ। 'अहिले पनि नेपालीहरु पारी जान्छन् र पारीका पनि बिना रोकतोक वारी आउँछन्,' बेलहियाका स्थानीय बिष्णु थापाले भने। त्यसका अलावा खोप कार्ड देखाएकै भरमा भारतीय पर्यटकहरुलाई बिना परीक्षण लुम्बिनी लगायतका स्थानमा निर्वाध प्रवेश दिइएको गुनासो समेत स्थानीयको छ।  

नाकामा होल्डिङ सेन्टर अलपत्र

नाकामा भेटिएका संक्रमितहरुलाई पनि होल्डिङ सेन्टर नहुँदा सिधै घर पठाइएको छ। रिपोर्ट पोजेटिभ आएकाहरु समेत सार्वजनिक बस चढेर विना सावधानी निर्वाध रुपमा गाउँ बस्ती पुगिरहेका छन्। जसका कारण गाउँ गाउँमा संक्रमण भुसको आगो झै फैलिन सक्ने खतरा रहेको जनस्वास्थ्यविदहरुले चेतावनी दिएका छन्। तर संघ, प्रदेश र स्थानीय सरकारहरु भने आफैले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गराउने तर्फ उदासिन देखिएका छन्।

कोरोना संक्रमणको रोकथामका लागि नाकामा बनाउने भनिएका होल्डिङ सेन्टरहरु नबन्दा संक्रमितहरुलाई सिधै पठाउनुको बिकल्प नभएको सीमामा खटिएका सुरक्षाकर्मी तथा स्वास्थ्य अधिकारीहरु बताउँछन्। संक्रमण रोकथामका लागि सीमा नाकाहरुमा सतर्कता सबैभन्दा बढी आवश्यक देखिएको बताउँछन्, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डाक्टर नन्दु पाठक।

कोरोनाको पहिलो लहरकै बेला प्रदेशका मुख्य-मुख्य नाकाहरुमा होल्डिङ सेन्टर बनाउने भनिएको थियो। रुपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर र बाँकेको नेपालगञ्जमा एक हजार/पन्ध्र सय जना अट्ने होल्डिङ सेन्टर बनाउने घोषणा गरीए पनि कार्यान्वयन भएको छैन। रुपन्देहीको बेलहियामा बनाउने भनिएको एक हजार क्षमताको होल्डिङ सेन्टरका लागि जग्गा नभेटिएको बताइएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले समयमै जग्गा व्यवस्थापन हुन नसक्दा होल्डिङ सेन्टर बनाउन नसकिएको बताए।

होल्डिङ सेन्टर नहुँदा नाकामा टेष्ट गर्दा संक्रमण देखिएकाहरुलाई समेत सिधै घर पठाउनु परेको उनले बताए। 'लक्षण नदेखिकाहरुलाई घर पठाउका छौं, लक्षण देखिएकालाई कोरोना अस्पताल जान सुझाव दिएका छौं’, ढकालले भने। कपिलवस्तु र बाँकेमा भने होल्डिङ सेन्टरको काम भइरहेपनि बजेट अभावले समस्या भएको बताइएको छ। रुपन्देही, कपिलवस्तु र बाँकेमा निर्माण गर्ने भनिएको होल्डिङ सेन्टरका लागि केन्द्र सरकारसंग बजेट माग गरीएको र छिट्टै निर्माण गरिने प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेश सरकारको तयारी

लुम्बिनी प्रदेश सरकारले फैलँदो कोरोना संक्रमणको नियन्त्रण तथा उपचार व्यवस्थापनका लागि आवश्यक तयारी भइरहेको बताएको छ। जनशक्ति तथा भौतिक व्यवस्थापन, खोप एवं एन्टिजेन परीक्षण लगायतका कामलाई तीव्रता दिइएको बताइएको छ। संक्रमण रोकथाम सरकारको पहिलो प्राथमिकता भएकाले स्वास्थ्य मादण्ड पालनामा कडाइ गर्नुका साथै प्रदेशका सबै नागरिकलाई खोप लगाउने अभियानमा जुटेको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले बताए। मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशका ३८ लाख ४३ हजार ५ सय २१ जनाले कोभिड प्रतिरोधी खोप लगाएका छन्। प्रदेशको कुल जनसंख्या मध्ये हालसम्म ८२ प्रतिशतले पहिलो र ६० प्रतिशतले कोरोनाविरुद्धको दोश्रो डोज खोप लिएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।

कोरोनाको तेश्रो लहरसंग जुध्नका लागि लुम्बिनीमा ४ वटा आइसोलेसन अस्पतालहरुमा विशेष व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, भैरहवाको भिम अस्पताल, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भरी अस्पताललाई आइसोलेसन अस्पतालको रुपमा तोकिएको छ। यी अस्पतालहरुमा जनरल बेड ११० वटा, एचडियु बेड २१९, आइसीयु १३० वटा र ३२ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको स्वास्थ्य निर्देशक डा. बिनोद गिरीले बताए। यी अस्पताल बाहेक अन्य २२ वटा अस्पतालमा पनि संक्रमितको उपचारका लागि आवश्यक व्यवस्था गरिएको उनले बताए। ती अस्पतालहरुमा ३२५ जनरल बेड, करिब ४ सय एचडियु बेड, १२३ वटा आइसीयु र ३० वटा भेन्टिलेटरसहितको बेड संक्रमित उपचारका लागि तयारी अवस्थामा रहेको डा. गिरीले बताए।  

उनका अनुसार संक्रमणको दर पछिल्लो केही दिन यता ह्वात्तै बढेपनि लक्षणसहित अस्पताल भर्ना हुनेको संख्या भने खासै बढेको छैन। अहिले प्रदेशका बिभिन्न अस्पतालको आइसीयु कक्षमा २८ जना, २ जना भेन्टिलेटरमा, ६० जना एचडियु बेडमा र १३ जना सामान्य बेडमा संक्रमितहरुको उपचार भइरहेको छ।

प्रकाशित: ८ माघ २०७८ १४:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App