८ जेष्ठ २०७९ आइतबार
समाज

वन्यजन्तुले बाली सखाप, किसान चिन्तित

इलामको जौबारीमा वन्यजन्तुबाट बाली जोगाउन लगाएको चोयाको बारी। तस्बिर: भीम/नागरिक

माइजोगमाई गाउँपालिका–६, प्याङका किसान दिनेश केसी माघको ठन्डीमा पनि बारीमै जाग्राम बसेर रात बिताउँदैछन्। लेकको ठाउँ, वरिपरिसम्मै हिउँ परेको छ। चिसोले कठ्यांग्रिएर बेला–बेला ज्यान जालाजस्तो हुने गरेपनि बारीमै रात बिताउनु उनका लागि रहर होइन, बाध्यता भएको छ।

रगत–पसिना सिञ्चिएर लगाएको बाली वन्यजन्तुले सखाप बनाइदिन थालेपछि लेकाली क्षेत्रका उनीजस्ता सयौं किसान अहिले चिसो मौसममा बारीमै जाग्राम बस्दैछन्। ‘बँदेलले मेरो करिब १० मन (प्रतिमन ४० किलो) आलु नष्ट गरिदियो,’ दिनेशले आफैं फोन सम्पर्क गरी गुनासो पोखे, ‘हाम्रो समस्या कसले सुनिदेला? मुख्य खेती नै बँदेलले सकिदिएपछि ममात्रै होइन, गाउँका सबै किसान अहिले चिन्तित छन्।’

विशेषगरी लेकाली क्षेत्रमा मुख्य खेती हुने हिउँदे आलु लहलह बोट आएर चिचिला लाग्न थालेको छ। तर, वन्यजन्तुले बारीबाटै उठाइदिन थालेपछि प्याङ, नयाँबजार, सोयाङ, जोगमाई, माबु, जमुना, माइमझुवालगायत गाउँका किसानको बाध्यता अहिले उस्तै भएको छ। राति–राति आउने बँदेलले बारीमा लगाएको आलु उधिनेर चिचिला खाइदिएको हो। ‘बँदेल धपाउने अरू कुनै उपाय पनि छैन,’ दिनेशले भने, ‘राति–राति हिउँमा डुबेर बालीनाली जोगाउँदा चिसोले ज्यानै जालाजस्तो हुन्छ।’  

उनका अनुसार अहिले रोप्दै गरिएको बर्खे आलुसमेत बँदेलले उधिनेर नष्ट गरिदिएको छ। असार–साउनमा पाक्ने आलु रोपिनसक्दै बीउ नै उधिनेर खाइदिएपछि किसान आजित छन्। अर्का किसान तेजबहादुर कठेतले आलुलगायतका बाली जोगाउन बारीमै रात कटाउनुपरेको बताए। ‘मेरो करिब २० मनभन्दा बढी आलु बँदेलले काम नलाग्ने बनाइदिएको छ,’ उनले भने, ‘बाली जोगाउने कुनै उपाय भएन। सरकारले कि वन्यजन्तु नियन्त्रण गरिदिनुपर्‍यो, कि बाली जोगाउन सहयोग गर्नुप¥यो।’ प्याङकै विशाल केसीको पनि १० मन आलु बँदेलले बारीमै नष्ट गरिदिएको छ।  

अहिले आलुको सिजन भएकाले किसान बढी चिन्तामा छन्। फलिसकेको र भर्खरै रोपेको सबै आलु जंगली जनावरकै आहारमात्र भएपछि किसानले वन्यजन्तु नियन्त्रणका लागि माग गरेका छन्। उनीहरूले वन्यजन्तुबाट बाली जोगाउन नसके गाउँमा खाद्यान्न नै अभाव हुने जोखिम बढेको गुनासो गरेका छन्। सन्दकपुर गाउँपालिकाका पेमाछिरिङ लामाले बर्सेनि बँदेल, भालु, बाँदर र अन्य जनावरले बालीनाली खाइदिँदा किसान ठूलो घाटामा गइरहेको बताए। ‘वरिपरि जंगल बढेको छ, वन्यजन्तु मार्न पाइँदैन,’ उनले भने, ‘तर, वन्यजन्तुको यस्तै आतंक हुने हो भने किसानले कसरी पेट पाल्ने भन्ने चिन्ता हुन थालेको छ।’  

वन्यजन्तुले यतिबेलामात्र होइन, यो क्षेत्रमा बाह्रै महिना किसानलाई दुःख दिनेगरेका छन्। किसानले लगाएको मकै, गहुँ, जौलगायत कुनैपनि बाली सग्लो उठाउन नपाएको किसानको गुनासो छ। त्यतिमात्र होइन, बाँदरले अलैंची अम्लिसोको टुसा र बोट नै नष्ट गरिदिने गरेको छ। फलेको अलैंची जंगली जनावरबाट जोगाउन साउनदेखि असोजसम्म किसानको बास अलैंचीबारीमै हुनेगरेको छ। ‘वन्यजन्तुले हामीलाई वर्षाैंदेखि हैरान बनाएको छ,’ किसान वीरबहादुर राई भन्छन्, ‘हामीले पटक–पटक सम्बन्धित निकायलाई आफ्नो समस्या नभनेका होइनौं तर किसानको समस्या कसले गम्भीर रूपमा सोचिदिन्छन् र !’

यो क्षेत्र भारतीय सीमासँग जोडिएको छ। खुला सीमाको भारतपट्टि सिंहलीला नेसनल पार्क छ। त्यहाँ बाक्लो जंगल छ। नेपालपट्टि जंगल रहेपनि बाक्लो छैन। तर, प्रायः जाडो महिनामा भारतपट्टिको जंगलका वन्यजन्तु न्यानो खोज्दै नेपालतिर आउनगरेको स्थानीय बताउँछन्। भारतपट्टि खेतीपाती कम हुने भएकाले त्यहाँका वन्यजन्तु आहार खोज्दै यता आउनेगरेको इङ्लाका उमेश गुरुङ बताउँछन्।  

अहिले यो क्षेत्रमा चितुवाले समेत आतंक मच्चाइरहेको छ। गोठमै आएर चितुवाले घरपालुवा चौपाया खान थालेपछि स्थानीयलाई घरबाहिर निस्किनै त्रास छ। यी गाउँमा चितुवाले गोठमा आएर एकै किसानका ७ वटासम्म बाख्रा खाइदिएको छ। किसानले चितुवाबाट जोगाउन घरपालुवा पशुलाई घरभित्रै ल्याएर राखेका छन्। ‘नानीहरूलाई स्कुल पठाउन र एक्लैदोक्लै बाटो हिँड्न समस्या परेको छ,’ सुलुबुङका दिनेश ढकालले भने, ‘वन्यजन्तुका कारण किसान समस्यामा छन्, समाधानको उचित विकल्प खोज्नु नितान्त आवश्यक छ।’  

वन्यवन्तुकै कारण बसाइँ सर्ने अवस्था आउन लाग्दा पनि सरोकारवालाले आफूहरूको पीडा नबुझेको किसानको गुनासो छ। उनीहरूले स्थानीय सरकार, वन कार्यालय, जिल्ला प्रशासनलगायत सरोकारवालासँग वन्यअन्तु नियन्त्रणका लागि आग्रह गरेका छन्।

प्रकाशित: ८ माघ २०७८ १४:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App