७ वैशाख २०८१ शुक्रबार
समाज

सितलहरका बेला सुकुम्बासीले पक्की घर पाउँदा दङ्ग

हरिनगरका सुकुम्बासीलाई हस्तान्तरण गरिएका पक्की घर। तस्बिरः नागरिक

दैनिक ज्यालादारी गरेर बिहान/बेलुकाको गर्जो टार्ने सुनसरी हरिनगर गाउँपालिका वडा नंं. ६ की मैमुन खातुनलाई घर बनाउनु त सपना जतिकै थियो। सुकुम्बासी बस्तीमा बस्ने उनले पक्की घरको त कहिल्यै कल्पना गरेकी थिइनन्।

मानिसले कहिले नसोचेको कुरा कहिलेकाही सपनामा देख्छन्। तर, कहिले सपनामा पनि नदेखेको कुरा पनि विपनामा हुन्छ भनेजस्तै उनले पक्की घर पाएकी छन्। जसले गर्दा उनको जीवनशैलीले ‘यूर्टन’ लिएको छ। उनले घर पाउनुलाई भाग्यले साथ दिएको ठानेकी छन्।

उनी पक्की घरमा बस्न पाएकोमा दङ्ग छिन्। ‘अब जाडोमा बाहिरबाट आउने अत्यधिक चिसो र वर्खाका बेला छानाबाट पानी चुहेर हिलाम्मे भएर बस्नुपर्ने दिनको अन्त्य भो,’ मैमुनले भनिन्। अझ केही दिनदेखि बढेको कठ्याग्रिँने जाडोले समस्या भोगिरहेका बेला मैमुनले तीन दिनअघि मात्र घर पाएकी हुन्।

नयाँ पक्की घर पाएपछि सोही ठाउँका बीबी जसिरा खातुनले अब जीवनयापनमा सहज हुने बताइन्। ‘खाना पकाउने अन्न र दाउरा समेत जोगाउन सकिएको थिएन,’ उनले भनिन्, ‘भाग्य राम्रै रहेछ, पक्की घरमा बस्न पाइयो।’

यहाँका सुकुम्बासीको एउटै साझा समस्या थियो, बिहान–बेलुकाको छाक टार्ने। नयाँ घर पाएकी समिना खातुनले भनिन्, ‘अहिले पक्की घर, जस्ताको छानो सपनाजस्तो लागिरहेको छ।’ पूस्तौदेखि अशिक्षा, गरिबी, भोक र शोकमै डुब्दै आएका सुकुम्बासी परिवारका लागि नयाँ पक्की घर नसोचेको उपहार बनेको छ।

कष्टकर जिवन बिताईरहेका सुकुम्बासी २० परिवारलाई हिदायत एजुकेशनल एण्ड वेलफेयर ट्रष्ट नेपालको आयोजना र कतार च्यारेटी नेपालको सहयोगमा पक्की घर बनाएर हस्तान्तरण गरिएको हो।

कतार च्यारेटी नेपालका कार्यवाहक निर्देशक इर्शाद अलि सेखका अनुसार सुकुम्बासीलाई स्थानीय जग्गा दाता सैजुम मियाँले प्रदान गरेको जग्गामा कुल २ करोड २३ लाख ८० हजार एक सय रुपैयाँ खर्चेर घर बनाएर हस्तान्तरण गरिएको हो। निर्माण गरिएका घरको प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादवले साँचो हस्तान्तरण गरेका थिए।

यी घर बनाउन स्थानीय हरिनगर गाउँपालिकाले पहल गरेको थियो। हस्तान्तरण गरिएका नयाँ घरमा बस्ने/सुत्ने दुईवटा कोठा, भान्सा कोठा र शौचालय छ भने प्रत्येकको घरको छतमा खानेपानी ट्याकी र विद्युत समेत जडान गरिएको छ।

सरकारले आफ्ना हरेक नागरिकलाई स्वास्थ्य, शिक्षा, गास, बास र कपासको उचित व्यवस्था गर्नु मुख्य दायित्व हो। यही दायित्व पूरा गर्न हरिनगर गाउँपालिकाले धेरै पहल गरेको अध्यक्ष गफार अन्नसारीले बताए।

त्यसो त इटहरी वडा नं. ५ को पचरुखी चोकदेखि सिधैं डेढ किलोमिटर दक्षिण पश्चिममा १५ वटा घर सुकुम्बासीका निम्ति तयार छन्। निलो जस्ताको छानो, वरिपरि इट्टाको गारो, झयाल/ढोका मजबुद हेर्दा चिटिक्क देखिने एकै खालका घर छन्। घर अगाडि सामूदायीक भवन, एउटा  मन्दिर, चिल्ड्रेन पार्कलगायतका संरचनाको निर्माण भएका छन्। चालु आर्थिक वर्ष पनि उपमहानगरपालिकाले घर निर्माण गर्न बजेट छुट्याएको छ।

यी घरहरु निर्माण भएको स्थानलाई टिटिही टोलको नामले चिनिन्छ। मधेशमा वर्षौंदेखि रहेको मुसहर समुदाय टिटिही टोलको सडक छेउछाउ अव्यवस्थित रुपमा बसोबास गर्दै आएका थिए। यी समुदाय सरकारको पहुँचभन्दा निकै टाढा थिए। यहाँका बासिन्दाको चुनावका बेलामा भोट हाल्नेबाहेकको राज्यसँग अरु धेरै लेनदेन देखिँदैन। यसरी निकै विपन्न परिवारका लागि बनाइएका घरमा भने यतिबेला आएर कोही बस्न नमानेको वडा नं. १६ का वडाध्यक्ष दिपनारायण चौधरीले बताए।  

मुसहर समुदायलाई भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्दा आर्थिक वर्ष २०७७/८८ मा ७७ लाख लागत लागि सकेको छ। यी घर तराई/मधेस समृद्धि कार्यक्रम परियोजना अन्तर्गतको ९० प्रतिशत र इटहरी उपमहानरपालिकाको १० प्रतिशत लागतमा निर्माण भएका हुन्।

भवनमा दुईटा कोठा, एक किचन, ट्वाईलेट, बाथरुप र खानेपानीको टुवेल पनि निर्माण गरिएको छ। घर निर्माणसँगै बस्तीको सुन्दरताका लागि एक सामुदायिक भवन, एक दिनभद्री (मुसहर समुदायको मन्दिर), चिल्ड्रेन पार्कलगायतका संरचनाको निर्माण गरिएको छ। ‘अहिले बनाएका घरमा काम गर्न जाँदा टाढा हुने भनेर कोही पनि बस्न मानेका छैनन्,’ इटहरी उपमहानगरपालिका उपप्रमुख लक्ष्मी गौतमले भनिन, ‘चालु आर्थिक वर्षमा पनि केही घर बनाउन बजेट छुट्याएको छ। उनीहरुलाई सम्झाएर राख्नु पर्ला।’

मुसहर जातिको मुख्य पेसा अर्काको मजदुरी गर्नु हो। मुसहर समुदायको नागरिकता, बालविवाह, चरम गरिबी, स्वास्थ्य र शिक्षामा उचित पहुँच र सहभागिता अझै पनि पर्याप्त छैन। यस्तो अवस्थामा मुसहर समुदायका मानिसहरुलाई लक्षित गरी बनाइएको मुसहरी कोलोनी प्रयोग नहुँदा समस्या भएको छ।

नेपालमा २२ वटा जातिलाई दलित समुदायमा समावेश गरिएको छ। तीमध्ये पाँचवटा जाति पहाडे मुल र १७ वटा जातिलाई मधेशी मुलमा राखिएको छ। तराईका दलितमध्ये सबैभन्दा पिछडिएको समुदाय मुसहर हो।

प्रकाशित: ६ माघ २०७८ ०८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App