coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाघ नियन्त्रण कार्य स्थगित

बाँकेको राप्तीपारि क्षेत्रमा पाटेबाघ नियन्त्रणका लागि थालिएको अभियान स्थगित गरिएको छ। एकसाता खोज्दासमेत कतै फेला नपरेपछि सोमबार बेलुकीदेखि खोजी कार्य नै रोकिएको हो।  

राप्तीसोनारी गाउँपालिका–६ को फत्तेपुरबाट प्राविधिकसहितको टोलीले गत पुस २७ गतेदेखि उक्त बाघको खोजी सुरु गरेको थियो। डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश खड्काले बाघको खोजीका लागि खटिएको टोली फिर्ता भएको  

बताए। ‘एक सातासम्म टोलीले फत्तेपुर क्षेत्रको जंगलमा बाघ खोज्ने काम ग¥यो कतै फेला परेन,’ उनले भने, ‘सोमबार खोजी कार्य स्थगित गरेर टोली फिर्ता भइसक्यो।’ बाघको आहाराका लागि जंगलमा दुईवटा भैंसीका पाडासमेत राखिएको थियो। पाडा खान आएको बाघलाई नियन्त्रणमा लिने योजना प्राविधिकसहितको टोलीले बनाए पनि बाघ खानै नआएकाले टोली रित्तो हात फर्किएको हो।  

दुवै पाडासमेत जंगलबाट फिर्ता ल्याइएको सूचना अधिकारी खड्काले जानकारी दिए। ‘एक सातासम्म धुइँपत्ताल खोज्दा पनि बाघ फेला पार्न सकिएन,’ उनले भने, ‘हामीले दुवै पाडा फिर्ता ल्यायौं।’ बाघ खोजीमा प्रयोग गरिँदै आएका दुई हात्तीसमेत फिर्ता गरिएको छ।’ बाघको आक्रमणबाट राप्तीसोनारी गाउँपालिका–४ पर्सोनाकी ५३ वर्षीया लीला विष्टको पुस २२ गते र वडा नम्बर ६ फत्तेपुरकी ३२ वर्षीया चाँदनी थारूको पुस २४ गते ज्यान गएको थियो। तीन दिनमा दुईजनाको बाघले ज्यान लिएपछि स्थानीयले तत्काल हिंस्रक बाघलाई नियन्त्रणमा लिन माग गरेका थिए।  

नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) चितवनबाट प्राविधिकको टोली आएको थियो। प्राविधिक टोलीसहित दुईवटा हात्तीका साथमा सेना, प्रहरी र वनका कर्मचारीको लावालस्कर जंगलमा एक सातासम्म बाघको खोजी गरेको थियो। पहिलो दिन बाघका पाइला फेला परे पनि अन्य दिनमा भने कुनै संकेत फेला परेको थिएन। दैनिक ३० देखि ४० जनाको टोली बाघको खोजीका लागि खटिएको सूचना अधिकारी खड्काले जानकारी दिए। ‘गाडी जान सक्ने ठाउँमा गाडी दैनिक टोली परिचालन हुने गरेको थियो, गाडी जान नसक्ने ठाउँमा हात्ती प्रयोग गरियो,’ उनले भने, ‘सबै तरिका अपनाएर खोजी गर्दासमेत बाघ कतै देखिएन।’  

प्राविधिक टोलीले स्काइप क्यामराको समेत प्रयोग गरेको थियो। बाँकेको राप्तीसोनारी गाउँपालिका तथा नरैनापुर क्षेत्रमा चार महिनायता बाघले चारजनाको ज्यान लिइसकेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ। बाँकेको नरैनापुरसँगै भारतको साहेलौवा राष्ट्रिय निकुञ्ज जोडिएको छ। बाँके र बर्दिया निकुञ्जमा बाघको संख्या उल्लेखनीय वृद्धि भएकाले राप्तीपारि क्षेत्रमा आतंक मच्चाएका बाघ बाँकेकै भएको आँकलन गरिन्छ।

गाउँबस्ती क्षेत्रमा बाघ देखिए फेरि खोजी कार्य सुरु गर्न सकिने डिभिजन वन कार्यालय बाँकेले जनाएको छ। सहायक वन अधिकृत प्रभात दाहालले बाघ गाउँ एरियामा देखिएपछि नियन्त्रणमा लिन सकिने बताए। ‘अहिलेलाई खोजी कार्य स्थगित मात्रै भएको हो, भोलिका दिनमा कतै देखिए नियन्त्रणमा लिन सकिन्छ,’ उनले भने, ‘एक सातासम्म खोज्दासमेत बाघ फेला नपरेपछि नियन्त्रणमा लिने कार्य स्थगित गरिएको हो।’ 

प्रकाशित: ६ माघ २०७८ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App