मधेस प्रदेशको सर्लाही जिल्लामा अवस्थित बागमती नगरपालिकाले २१ किलोमिटरको कृत्रिम नदी बनाएको छ। वर्षाको पानी निकासको लागि नगरपालिकाले २१ किलोमिटर एकीकृत कृत्रिम नदीको निर्माण गरेको नगर प्रमुख भरतबहादुर थापाले जानकारी दिएका छन्।
नगरपालिकाद्वारा व्यवस्थित रुपमा निर्माण हुन पुगेको एकीकृत कृत्रिम नदी सम्भवतः नेपालकै सबैभन्दा ठूलो मानव निर्मित नदी हुन सक्ने नगर प्रमुख थापाको भनाइ छ। चुरेको फेंदीदेखि तलतिरको वर्षाको पानी व्यवस्थित गर्दै जाँदा कृत्रिम नदीको निर्माण हुन पुगेको बताउँदै नगर प्रमुख थापाले चुरेको विभिन्न ठाउँमा वर्षाको समयमा निस्कने पानी र बस्तीको धेरै ठाउँबाट निस्कने पानीलाई एकीकृत निकास दिने क्रममा नदीको विकास हुन पुगेको जानकारी गराए।
विकास गर्दै जाँदा विकास हुने र योजना बनाएर विकास गर्ने गरी विकासको दुई तरिका रहेकोमा नगर क्षेत्रमा कृत्रिम नदीको विकास पानीको निकास गर्दै जाँदा हुन पुगेको हो। चुरेको फेंदबाटै सुरु भएको कृत्रिम नदीको अन्त्य बागमती नदीमा भएको छ। प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनिसकेको भरततालको पूर्व भएर दक्षिणतिर गएको कृत्रिम नदी अहिले सुख्खा छ। वर्षाको पानीको व्यवस्थित निकास बनाइएकाले हिउँदमा सुख्खा हुनु स्वाभाविक भएको थापाको भनाइ छ।
बागमती नगरपालिकामा रहेको मानव निर्मित कृत्रिम नदीबारे धेरैले थाहा नपाएको बताउँदै नगर प्रमुख थापाले अब कृत्रिम नदीको बारेमा पनि बिस्तारै नगर बाहिरका मानिसले बुझ्दै जाने विश्वास राखेका छन्। केही दिनमा कृत्रिम नदीको अध्ययन गर्नेहरुले यस विषयमा विशेष चासो लिने पनि नगर प्रमुख थापाको विश्वास रहेको छ।
प्रकाशित: ५ माघ २०७८ १४:५३ बुधबार